सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो : कम्तिमा चार जनाको मृत्यु, १६ बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २८ गते ७:४५
सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो : कम्तिमा चार जनाको मृत्यु, १६ बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको प्रदेश–३ प्रहरी कार्यालयका डिआईजी बसन्त लामाले हामीलाई बताए ।

हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ ।

घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भीक सूचना आएको डिआईजी लामाले बताए ।

‘भिरखर्कमा पनि प्रहरी पुग्दै छ’ डिआईजी लामाले भने– ‘क्षतिको यकिन विवरण आउन बाँकी छ ।’

यता, बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार भिरखर्कमा पनि १०–१२ वटा घर पुरिएको छ । त्यहाँ तीनजनाको मृत्यु भएको छ । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र तीनजना घाइते भएका छन् ।
‘यकिन विवरण आउन बाँकी छ’ उपमेयर पाख्रिनले भनिन्–‘हामी घटनास्थल जाँदै छौं ।’

लामो समयको वर्षापछि राति करिब २–३ बजे पहिरो गएको स्थानीयले जानकारी दिएका छन् ।

यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ । सान्केतिक तस्बिर

प्रकाशित : २०७७ भदौ २८ गते ७:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI