अब दुईहजार रुपैयाँमा पिसिआर

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २८ गते १९:०१
अब दुईहजार रुपैयाँमा पिसिआर

भदौ २८, काठमाण्डौ । सरकारले नेपालभर कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुने जानकारी दिए ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको उनले बताए । यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु चार हजार ४०० तोकेको थियो । त्यस भन्दाअघि पिसीआर परीक्षणका लागि मन्त्रालयले रु पाँच हजार ५०० शुल्क तोकेको थियो ।

नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पिसीआर परीक्षण भइरहेको छ ।

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पिसीआर परीक्षण हुँदै आइरहेको छ ।

त्यस्तै बंगलादेशबाट आएको रेम्ड़ेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार रेम्ड़ेसिभिर प्रयोग गर्न सुचिकृत बाहेकका अस्पतालहरुमा विरामीको चाप हेरेर वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदले मन्त्रालयमा पेश गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिए ।

हालै ५ हजार भाइल रेम्ड़ेसिभिर प्राप्त गरेको उनले बताए । त्यस्तै प्रवक्ता गौतमले एम्वुलेम्सलाई बिरामी बोक्ने बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा दर्ता खारेज गरिने निर्णय भएको जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ भदौ २८ गते १९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI