कोरोनाले शिक्षामा पारेको सकारात्मक प्रभाव र सिकाइमा अभिभावकको भूमिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ७ गते ११:५२
कोरोनाले शिक्षामा पारेको सकारात्मक प्रभाव र सिकाइमा अभिभावकको भूमिका

तेजचन्द्र खनाल

सन् २०१९ को डिसेम्बरको सुरुवातबाट चिनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीले गर्दा भएको बन्दाबन्दीले विश्व नै लथालिङ्ग भएको बेला सबैको मनमा आउने एउटै प्रश्न हो, कोरोना कहर कहिले सकिएर संसार फेरि आफ्नै पुरानै लयमा फर्किन्छ होला ? आजको दिनसम्म संसारका कुनैपनि वैज्ञानिक र डाक्टरले दिन नसकेको सबैभन्दा कठिन प्रश्न हो यो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना संक्रमणको असर दिनानुदिन फैलिरहेको छ । जसले गर्दा नेपालमा समेत संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।

अब यो महामारी कहिलेसम्म रहन्छ ? कहिले सकिन्छ होला ? भन्ने जस्ता प्रश्नहरु अनुत्तरित भएका छन् । नेपाल अहिले कोरोना महामारीका कारण आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक रूपमा क्षतविक्षत त भएको छ नै जसले गर्दा देश गरिबी, बेरोजगारी र भोकमरी जस्ता विषम परिस्थितिहरुबाट पनि गुज्रीन थालिसकेको छ । यही महामारीको चपेटामा हाम्रो देशको शिक्षा प्रणाली पनि अछुतो रहन त सकेन नै झन सबैभन्दा बढि चपेटामा यही क्षेत्र पर्यो । यसै सन्दर्भमा शिक्षा क्षेत्र कोरोना कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक सत्रको समेत क्रमभङ्गता भइ शिक्षा प्रणाली नै प्रभावहिन र अनुत्पादक सिद्ध हुने भएको देखिन्छ ।

यही २०७६ साल चैत्र ६ गते देखि विद्यालयहरु खुल्न सकेका छैनन् । शिक्षा आर्जन गर्ने मन्दिर भनेर चिनिने धेरै विद्यालयहरु क्वारेन्टाइन स्थल बनाइएका थिए जसले गर्दापनि विद्यालयहरुमा सिकाइ सहजीकरण हुन सकिरहेको थिएन तर पनि हाल बिस्तारै बिस्तारै विद्यालयबाट क्वारेन्टाइन हटाइ ति ठाउँहरुलाई निर्मलीकरण गरी पहिलेकै अवस्थामा फर्काउने प्रयास भने सम्पूर्ण स्थानीय तहबाट गरिएको छ र सिकाइलाई बैकल्पिक तरीकाले अगाडि बढाउने प्रयास पनि धेरै स्थानीय तहहरुबाट भएका छन् । त्यसैले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७/०५/१९ को माननीय मन्त्रीस्तरीय निर्णय अनुसार शैक्षिक सत्र खेर जान नदिनका लागि यहि असोज १ गतेबाट लागु हुने गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी सिकाइ सहजीकरणका लागि मातहतका निकायमा पत्राचार समेत गरेको छ र सिकाइको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको छ अब यसै सूचनालाई आधार मानी हरेक स्थानीय तहले पालिकागत निर्णय गरी सिकाइ केन्द्र स्थापना गरी कक्षा सञ्चालन गर्न समेत थालिसकेका छन् । यसै सन्दर्भमा वर्तमान परिवेशमा पनि शिक्षण सिकाइलाई अगाडि बढाउन कोरोनाको प्रभावलाई सकारात्मक रुपमा लिई शिक्षक र अभिभावकहरुले धेरै भन्दा धेरै जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ । वर्तमान परिवेशमा कोरोना हाम्रो शिक्षण सिकाइमा पारेको सकारात्मक प्रभाव र यही प्रभावलाई आत्मसात् गरी सिकाइलाई अगाडि बढाउन अभिभावकको भूमिकालाई निम्नानुसार उल्लेख गरिएको छ ।

कोरोनाले शिक्षामा पारेको सकारात्मक प्रभावहरु:

  • समय परिवेश अनुसार आफुलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक विधि र प्रविधिहरुको खोजी गर्न सिकाएको छ,
  • आफुले खोजी गरेका वैकल्पिक विधि, प्रविधिहरुमार्फत सिक्न र सिकाउन तयारी हुनुपर्ने कुराको सन्देश दिइएको छ,
  • विद्यालय शिक्षालाई २१औं शताब्दीको युगमा प्रवेश गराइ प्रविधि मैत्री बनाउन, शिक्षा प्रणालीलाई समयानुकुल पुनर्संरचना (Restructure) र पुनर्आवरण (Re-frame) गरी वैज्ञानिक व्यवस्थापन गर्न समेत सहयोग पुर्याउने देखिएको छ,
  • परम्परावादी सिकाइ प्रणालीलाई निरुत्साहित गरी आधुनिक प्रविधि युक्त सिकाइमा अपडेट हुने एउटा राम्रो अवसर प्राप्त हुँदैछ,
  • शिक्षा क्षेत्रमा गरिंदै आएको राष्ट्रिय लगानी र प्राथमिकताका क्षेत्रहरुमा समेत पुनर्विचार गर्ने अवसर प्राप्त भएको छ,
  • पहुँच र पर्याप्तताका आधारमा रेडियो, स्थानीय एफ.एम. रेडियो, टेलिभिजन र इन्टरनेट मार्फत अनलाइन क्लास, अफलाइन क्लास र भर्चुअल क्लास जस्ता वैकल्पिक सिकाइका माध्यमका लागि वातावरण तयार हुँदैछन्,
  • सिकाइमा प्रविधिका माध्यमहरुको उपयोग गर्ने, ती उपयोग गरीने प्रविधिहरु शिक्षक आँफैले खोजी गरी सिक्ने र सिकाउने बानीको समेत विकास भइ यसले निरन्तरता समेत प्राप्त हुन थालेको छ,
  • शिक्षण सिकाइका लागि अत्याधुनिक सुविधासम्पन्न भौतिक पूर्वाधारहरु मात्र पर्याप्त होइन रहेछ, यि नभएपनि शिक्षक र विद्यार्थी मिलेमा जोखिम व्यवस्थापनका लागि प्रविधिको कौशलतापूर्वक उपयोग गर्न सकिन्छ है भन्ने सन्देश दिइएको छ,
  • विद्यार्थीहरुमा स्वःअध्ययन गर्ने बानीको विकास हुँदैछ,
  • सिकाइ सहजीकरण, एक अर्का बीच अन्तर संवाद र क्षमता विकासको पर्याप्त अवसर प्राप्त भएको छ,
  • सिकारुका लागि विद्यालय मात्र सिकाइ केन्द्र होइन रहेछ हाम्रा घर, टोल र समाजलाई समेत ज्ञान आर्जनका थलोका रूपमा विकास गर्न सकिने रहेछ भन्ने मान्यताले समेत महत्व पाएको छ,
  • शिक्षकमा मात्र नभइ विद्यार्थी र अभिभावक बीचमा समेत जवाफदेहिता अभिवृद्धि भएको छ,
  • विद्यार्थीहरुले आफ्नो घर परिवारबाट जीवनका मूल्य मान्यताहरु, संस्कारहरु र व्यवहारिक तथा प्रयोगात्मक ज्ञान आर्जन गर्ने पर्याप्त अवसर प्राप्त गरेका छन्,
  • खेल र टाइमपासका लागि अत्याधिक प्रयोग गरिएका प्रविधिहरु (ल्यापटप, मोबाइल, ट्याब जस्ता विद्युतीय उपकरणहरू) लाई अब सिर्जनात्मकरुपमा उपयोग गर्ने सुनौलो अवसर कोरोना भाइरसले हामीलाई सिकाएको छ ।

यसरी हामीले कोरोना भाइरसले पारेको नकारात्मक असरहरुलाई बेवास्ता गरी यसका सकारात्मक असरहरुलाई मात्र केलाउन थाल्यौ भने पक्कै पनि हामी यस महामारीका बीचमा पनि उत्कृष्ट शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ भन्नेमा कुनै शंका नै छैन । यि सकारात्मक प्रभावका बीचमा शिक्षण सिकाइ का लागि सबैभन्दा धेरै जिम्मेवारी अभिभावकको नै हुन्छ । सम्पूर्ण अभिभावकहरुले आफ्ना बालबालिकाहरुका लागि सिकाइको वातावरण बनाइदिने देखि लिएर उनिहरुको स्वास्थ्य, खेलकुद, मनोरञ्जन लगायतका विषयमा वैज्ञानिक रुपमा समय व्यवस्थापन गरिदिने जिम्मा अभिभावकको हुन्छ । त्यसैले सिकाइमा अभिभावकको भूमिकालाई निम्न बुँदाहरुबाट अझ प्रष्ट पार्न सकिन्छ ।

सिकाइमा अभिभावकको भूमिका:

  • एउटा सफल अभिभावकको हैसियतले आफ्ना छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावकनै हो,
  • अभिभावकले बच्चा ६ वर्षको हुँदासम्म असाध्यै माया ममता सहित संस्कार सिकाउने, बच्चालाई ६ वर्ष देखि १५ वर्षसम्म कडा अनुशासन सहित असल संस्कार सहितको सिकाइमा सहयोग गर्ने र १६ वर्षदेखि साथीको व्यवहार गर्दै उनिहरुका कार्यमा सहकार्य गर्नुनै असल अभिभावकको कर्तव्य र जिम्मेवारी हो त्यसबाटनै सही सिकाइ हुन्छ,
  • आफ्ना बालबालिकाहरुलाई सिकाइको वातावरण सिर्जना गरिदिने,
  • समयसारिणी तयार गरिदिने,
  • धेरै भन्दा धेरै समय आफ्ना बाबुनानीहरुलाई दिने र बढि भन्दा बढि समय उनिहरुसँग बसेर कथाहरु सुनाउन लगाउने, आफुले पनि विभिन्न चेतनामूलक, उत्प्रेरणात्मक, शिक्षाप्रद कथाहरु सुनाइदिने र उनिहरुका कथा पनि धैर्यतापुर्वक सुनिदिने गर्नु पर्दछ,
  • समय–समयमा उनिहरुलाई प्रोत्साहित गर्ने र सुरक्षित तवरले घरबाहिर समेत घुमाउन लग्ने गर्नुपर्दछ,
  • आफ्नो चाहनालाई जबर्दस्ती उनीहरूमाथि लाद्नुहुँदैन उनीहरूको कुरा ध्यानपूर्वक सुनिदिनुपर्दछ,
  • घरमा स्नेहयुक्त वातावरण कायम गर्नुपर्छ किनभने यो विषम परिस्थितिमा विद्यार्थीको सम्पूर्ण समय घरमा नै व्यतीत भइराखेको छ,
  • अभिभावकहरूले आफ्नो तनाव वा रिस कहिल्यै पनि बालबालिकामाथि प्रकट गर्नुहुन्न, उनीहरू समक्ष झगडा गर्नुहुन्न, छोराछोरीहरूसँग कुनै गल्ती भएको छ भने सम्झाइ बुझाइ गरी सकारात्मक पृष्ठपोषण दिनुपर्दछ,
  • यसो गर्न सफल अभिभावकहरू मात्रै आफ्नो लक्ष्यमा शतप्रतिशत सफल हुनेछन् ।

अन्त्यमा:

कुनै पनि महामारी पुर्व सूचना गरी आउँदैन न त यसको प्रभावमा नै कुनै विभेद हुन्छ । हरेक बिपतले विनाशमात्र निम्ताउँदैन त्यसले रुपान्तणको स्वर्णिम अवसर पनि प्रदान गर्दछ भन्ने कुरा इतिहासका कालखण्डहरुमा देखिएका विभिन्न महामारीहरु र विभिन्न घटनाहरुले पनि उजागर गरेको पाइन्छ । जस्तो कि रत्नाकर डाँकु थुप्रै वर्ष एकान्तबास बसेर वाल्मिकि भएर निस्किएका थिए, सर आइज्याक न्युटन ले प्लेगको माहामारीका कारण वन्द भएको आफ्नो विश्वविद्यालयको पठनपाठनलाई बेवास्ता गरी दिन रात नभनी विश्वविद्यालयका कोर्स बाहेकका अन्य कुराहरुको खोज अनुसन्धानलाई अगाडि बढाइ महामारी अवधिभित्रै उनले Law of Gravity Theory प्रतिपादन गर्न सफल भए सायद उनले कलेज बन्द छ भनि घरमै बसि फाल्तुको समय बिताएको भए सो सिद्धान्त अरु कसैले प्रतिपादन गर्थ्यो होला । त्यस्तै गरी सिद्धार्थ गौतमपनि आफ्नो घर परिवार र समाज बाट अलग रहेर ज्ञानको खोजी गर्नका लागि जङ्गलमा ध्यान गर्न थाले र अन्ततः बुद्धत्व प्राप्त गरिछाडे र उनको नाम पनि सिद्धार्थ गौतम बुद्ध रहन गयो । त्यस्तै गरी अमेरीकाका प्रथम अश्वेत राष्ट्रपति अब्राहम लिंकनपनि करिब ६ महिना बिस्तारामा परेका थिए तै पनि उनले हार मानेनन् रोगसँग लडिरहे र अन्ततः आफ्नो रोगलाई जितेरै छाडे ।

यि माथिका प्रतिनिधिमूलक घटनाहरुबाट के मात्र भन्न खोजिएको हो भने हामीले पनि शिक्षा क्षेत्रमा सिर्जना भएका विभिन्नखाले जोखिमहरुलाई अवसरका रूपमा उपयोग गर्दै हजारौ शिक्षक, डाक्टर, वैज्ञानिक, पाइलट, वकिल जस्ता व्यक्तिहरु जन्माउने तर्फ सोच्ने बेला आएको छ । तर यसका लागि फेरीपनि लगनशील विद्यार्थी, समर्पित शिक्षक, जिम्मेवार व्यवस्थापन, उत्तरदायीपूर्ण अभिभावक र प्राज्ञिक वातावरणलाई भने कुनै हालतमा पनि नकार्न सकिंदैन ।

 

प्रकाशित : २०७७ असोज ७ गते ११:५२
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI