पर्यटन मन्त्री ज्युको अन्तर्वार्ता हेरेपछि!!

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते १३:३५
पर्यटन मन्त्री ज्युको अन्तर्वार्ता हेरेपछि!!

श्रीधर लामिछाने

एकदिन युट्युब हेर्दै जाँदा योगेस भट्टराइ अर्थात् पर्यटन मन्त्रीको अन्तर्वार्ता देखें। धेरै पुरानो पनि हैन रहेछ। भर्खर मात्र आएको रहेछ। अन्तर्वार्ता हेर्दै गएँ। उनी मलाई चिसा व्यक्ति लागे योगेस, उनको पार्टी तातो केहि गर्नेहरुको पार्टी भनिए पनि। ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्री भएपनि उनले जे भने त्यो सुनेर मलाई त साँच्चै भनौँ भने उनी त्यो मन्त्रालय सम्हाल्न योग्य मान्छे चाही हैन रहेछन कि जस्तो लग्यो। किनकी उनी नेकपाका जल्दा बल्दा युवा नेता, अनि धेरै युवाहरुले आशा गरेका व्यक्ति भन्ने गरिन्थ्यो। मलाई थाहा छैन शायद उनले रोजेको शिक्षा मन्त्रालय नै पाएको भए के गर्थे?

तत्काल जिम्मेवारी लिनु पर्यो अनि जिम्मा लिंदा पछुताउनु पर्यो जस्ता कुरा गरेर टार्न खोजे जस्तो लाग्यो। दोष त जसलाई लगाई दिए पनि भयो नि। तर आफु त्यो विषयमा ज्ञाता छैन भन्ने लाग्दालाग्दै किन मौका छोड्ने भनेर मन्त्री पद लिन गएको? अनि त्यो पदमा अर्को सक्षम थियो र उसले मौका पाउथ्यो कि? अथवा विज्ञको नाउमा थुप्रै सल्लाहकार हुन्छन उनका पनि त थिए होलान सल्लाहकार? के ति सबै यस्तै अनुभव र ईच्छाहिन नै छन् त?

उनी फेरी युवा मन्त्री ठहरिएका, मन्त्री हुनु अघि निकै चर्का-चर्का भाषण गर्ने, केहि गरि पो हाल्लान कि भने जस्ता.. भनेर त्यति बेला योगेश जस्ता लाई दिएको भए पो भनेर हल्ला हुने गरेका मन्त्री यी। तर यिनको अन्तर्वार्ता देख्दा यिनी प्रति युवा लगायत नेपाली समाजले गरेको आशा वेकार रहेछ जस्तो लाग्यो। यसो सोचेँ हैन मैले भए के गर्थें त यस्तो कोरोनाको कहरका विच? आफैले आफै लाइ प्रश्न सोधें।

मेरो मनले निकै अग्लो पद सोचेको मन्त्री धेरै अधिकार हुने आर्थिक स्रोत पनि हुनेनै भयो। सवैभन्दा महत्वपूर्ण कुरा के भने अहिले त धेरै नेपाली रोजगारी नभएर छटपटिएको अवस्था हो यो। यहाँ केवल पर्यटन भन्ने बितिक्कै केवल पर्यटकलाई प्लेनमा चढाएर ल्याउने, होटलमा राख्ने देशमा उनीहरूको ईच्छा लागेको ठाउँमा घुमाउने अनि पर्यटन बाट आउने रकम असुल्ने मात्र हैन। मेरो विचारमा त पर्यटक त्यो पनि स्तरीय, सुरक्षित साथ नेपाल हेरेर घुमेर मज्जा लिने वातावरण मिलाउने काम मुख्य हो। एक हप्ता घुमेर फर्कन्छु भन्ने लाइ अर्को १-२ हप्ता थपेर वस्छु भन्ने बनाउने हो। अनि कम्तिमा एक पर्यटकले अरु उसका साथीभाई लाइ नेपालमा पर्यटन गर्नुको मज्जा बताओस ताकी अरु थुप्रै विदेशी, पर्यटन गर्न नेपाल आउन लालायित बनुन। सबै पर्यटकले आफु लाइ पूर्ण सुरक्षित महशुस गरुन, सबैले चाहे जति ठाउँमा निर्धक्क संग घुम्न सकुन, जहाँ जान पनि सहज पहुँच होस्, यातायातका विकल्प हुन सक्ने जति होस्। संसारका सबै खाले खाने परिकार बन्न सकोस। यस्तो भए पर्यटक दिन प्रतिदिन थपिन्थे होलान। अनि नेपाली पनि आफ्नो औकात हेरेर आन्तरिक पर्यटनमा जान्थे होलान्। आन्तरिक पर्यटन गर्ने औकात भएकाहरु देश भित्र नै पनि घुम्थे, किन विदेश मा नै मात्र जान्थे होलान र?

पर्यटन मन्त्रीले अन्तर्वार्ताको क्रममा मलाई पर्यटन  मन्त्रालयको जिम्मा लिन मन थिएन। प्रधानमन्त्रीले भनेको हुनाले लिएको भन्ने मनशाय व्यक्त गरे। मलाई भने अलि खिन्न लाग्यो। नलिनु मन्त्रालयको जिम्मा लिई सकेपछी प्रधानमन्त्रीलाई मलाई ईच्छा नभएको मन्त्रालय दिए भनेर दोष दिएर आफ्नो कमजोरी लुकाउन खोजेर उम्किन मिल्थ्यो र?

हाम्रा शासकहरु संसार घुमेका छन् केवल अलि धेरै भ्रमण भत्ता बटुल्न, अनैतिक ढंगले पैसा थुपार्ने उपाय खोज्न, सुन चाँदी जस्ता महंगा समान बढाउन मात्र जाने हो र? यदि साच्चै देश सुन्दर बनाएर आकर्षक बनाउने हो भने त अहिले भौतिक पूर्वाधार छैन पर्यटनको निमित्त। हाम्रा राम्रा स्थानमा सुरक्षा पनि छैन र सहज पनि छैन।यो कोरोनाको समयमा प्रशस्त रोजगारी सिर्जना गर्ने काम गराउन पाएको भए? उदाहरणको निमित्त रारा, से फोक्सुण्डो, तिलिचो जस्ता ताल तलैयामा पहुँच बढाउने काम गर्न पाएको भए? सुरक्षित वातावरण कसरि वनाउने? त्यता तिर पो सोच्नु पर्ने हैन? कम्तिमा एउटा गन्तव्यमा मात्र भव्य तरिकाले सहज तरिकाले पुग्ने पैदल यात्रा गर्ने बाटो बनाएको भए पनि एउटा गन्तव्यमा थप सुबिधा के-के चाहिन्छ हेरेर सस्तो र सरल ढंगले निर्माण वा सुधार गर्न पाएको भए?

स्विजरर्लैंड को के कुरा गर्नु? इजरायल जुन देश सदा प्यालिस्टिनी संग लडिरहन्छ अनि उसका कम्तिमा ९-१० वटा देश ले त सदा शत्रुको व्यवहार गर्छन र इजरैली सरकार सदा भयभित भै रहन्छ, त्यहाँका ट्याक्सी चालक समेत निर्धक्क भएर भन्छन “हाम्रो देश सुन्दर छ, सफा छ र सुरक्षित छ  तिमीहरु २४ सै घण्टा जहाँ गए पनि हुन्छ,” भन्छन। हुन् पनि हो रहेछ तपाई जहाँ जति बेला घुम्न हिडे पनि निर्धक्क साथ् हिड्न सकिन्छ। यातायातका हेरक प्रकारका सेवा उपयोग गर्न पाइन्छ। जुन सुकै विकल्प अपनाउन पाइन्न्छ।सबै प्रकारका सेवा उपलब्ध छन्। मैले जो-जो सिंगापुरका व्यक्ति लाइ भेटें ति सिंगापुर वासी प्राय सबै पर्यटन प्रबर्धन गर्छन भन्ने देखें। खुसीले पर्यटक लाइ स्वागत गर्छन। मेरो विचारमा त यी ट्याक्सी चालक जस्ता राष्ट्रवादी अरु को हुन् सक्छ र? हामी ले खै त धेरै भन्दा धेरै मानिस लाइ यो विषयमा सचेत वनाएको? न त भौतिक पूर्वाधार न त सामाजिक सचेतना? जे पनि खाली देबताको भर पर्नु पर्ने??

हामी कहाँ कैयन महिला पर्यटक बलात्कृत भएको सुन्न पर्छ। कति लुटिएको खबर सुन्न पर्छ। कति पर्यटकले त ज्यान नै गुमाएको समाचार पढ्नु, सुन्नु र देख्नु पर्छ। यद्यपि हाम्रो मुलुक प्राकृतिक छटाले भरिपूर्ण छ। त्यसैले मान्छे हाम्रो देश नेपाल भ्रमण गर्न चाहन्छन। यस्तै लक्डाउनको यस्तो वेला राम्रोसंग रणनीति बनाएर धेरै भन्दा धेरै मानिसलाई रोजगारी दिने महत्वपूर्ण ठाउँहरु पर्यटन मैत्री बनाउन सकेको भए यो मौकामा धेरै गरिव नेपालीले रोजगारी पाउँथे भने कोरोना को त्रास सकिए पछाडी धेरै पर्यटक घुमफिर गर्थे फलतः हामी विदेशी मुद्रा धेरै आर्जन गर्न सफल हुन्थ्यौं। देश निर्माणको एक खुट्किलो भए पनि बलियो हुने थियो। हो म यो विषयको जिम्मेवार भएको भए त्यसो पनि गर्थे।

माथि उल्लेखित कुरा नितान्त मेरो व्यक्तिगत विचार हो। मलाई लागेको के हो भने, एउटा जिम्मेवार मन्त्रीको पद ओगट्ने व्यक्तिले त्यसरी पंछिन मिल्दैन भन्ने हो। अनि अर्को कुरा के हो भने युवा भए मात्र गर्छन भन्ने कुरा पनि फजुलको विश्वास हो रहेछ किनकि युवा मात्र भएर पुग्दैन बरु अनुभव, क्षमता र दृढ ईच्छाशक्ति चाहिन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण विषय हो। हाम्रो देश अत्यन्त धेरै सम्भावना भएको देश हो। यहाँका हिमाली श्रृंखला, मनमोहक प्राकृतिक दृश्य, प्राकृतिक, संस्कृतिक, जातीय, र भौगोलिक विविधता भएको ठाउँ यहाँ असल शासक भएको भए यो देश साँच्चै विकासले भरिपूर्ण माथि उठेको उच्च शिखर चुम्ने देश हुन्थ्यो। तर विडम्बना शासक नै शोसक र रक्षक नै भक्षक भएर गुज्रिरहेको मुलुक हुँदा मौकापाए केही गरिहाल्छन कि भन्नेहरुले पनि अनेक बहाना बाजी मात्र गर्दछन।  जनता आशे……. मात्र हुन् पुग्दछन।

यति वेला योगेशले त धेरै मान्छे लाई पर्यटन उद्योगलाई प्रबर्धन गर्न ठुलो अभियान चलाउन सक्थे। उनले धेरै मानिसलाई रोजगारी दिन सक्थे। कोरोना भित्रै पनि धेरै राम्रो गन्तव्यहरु पहिचान, निर्माण र प्रबर्धन गर्न सकिन्थ्यो। हाम्रो उपत्यकाहरुका शहरी क्षेत्रमा जलाशय छैनन्, भएको पनि फोहोर अनि देख्दै घिन लाग्दो रोगव्याधिको घर छन्। त्यसैले नेपालका सबै उपत्यकामा जलासयहरुको निर्माण र सुधार गर्नु पर्नेछ जसले शहरको सुन्दरता बढाउछ अनि जलासयका वरिपरि सफा पार्कहरु बनाएर सुन्दरता थप्नु पर्छ। आराम गर्ने घुम्ने खेल्ने ठाउ वनाउनु पर्छ। हरेक पार्कको छेउ छाउमा बालबाटिका वनाउनु जरुरि छ। काठमाडौँ उपत्यका र अन्य सबै उपत्यकामा भएका नदि किनाराहरु साइकल चलाउने ट्रेल बनाइनु पर्छ। त्यस्तो भएको खण्डमा शहर शहर विच पनि मानिस चलायमान हुन्छन भन्नुको मतलब पुंजी चलायमान हुन्छ। अनि रोजगारी सृजना हुन्छ। लिंकरोडहरु बनाउनु आवश्यक छ। एउटा ठाउँबाट अर्को ठाउँ जाने विविध विकल्प भए मानिस गतिशील हुन्छन। पर्यटन बाट अनि पैसा कमिन्छ। हामी कहाँ सेवा नदिएर नै पैसा कमाउन खोजिन्छ जुन एकदम कच्चा सोच हो। हो यी र यस्ता काम गर्न पर्यटन मन्त्रालय मात्र हैन शहरी विकास, भौतिक पूर्वाधार मन्त्रालय, सम्बन्धित नगर पालिका आदि संग समेत संयोजन गर्नुपर्छ। त्यसो गर्न मन्त्री नै भए पछी के गार्हो हुन्थ्यो होला र?

अन्तरवार्ताको मन्त्री ज्युको अभिव्यक्तिहरुमा असाध्यै निरीहता देखें मैले अनि कच्चा पन पनि। यस्तो कच्चा सोचले देश उभो कहिले लाग्ने? मन्त्री जस्ता मान्छे त “मैले रोजेको मन्त्रालय पाइन त्यसैले केहि गर्न सकिन”  भनेर लाज पचाउने काम गर्छन। अब भन्नुहोस यो देश कहिले बनाउने कसले बनाउने? कहिले बनाउने। यति वेला त आफ्नै पार्टीको झन्डै दुइ तिहाइ मत प्राप्त गरेको सरकार छ। यति बेला नगरे कैले गर्ने यिनले (दुइ तिहाइ भोटको धाक भएका) ले नगरे कसले गर्ने यहाँ नगरे कहाँ गर्ने? यस्तो राम्रो मौका गुमाउदै छन् अनि भन्छन मैले सोचे जस्तो मन्त्रालय पाइन्?? कस्तो लाज मर्दो कुरा!!

अरु केहि नभए पनि यस वर्ष थुप्रै शिवपुरी वरिपरी परिक्रमा गर्न मिल्ने हाइकिंग गर्ने बाटो बनाइँ दिएको भए?, सम्भावना त जता सुकै छ। जस्तो शिवपुरी क्षेत्र, फुलचोकी क्षेत्र, नागार्जुन क्षेत्र, चंगुनारायण क्षेत्र, लेले क्षेत्र, नगरकोट क्षेत्र, लामाटार, ककनी, किर्तिपुर, धुलिखेल, सयौंको मात्रामा हामी त्यस्ता सुबिधा युक्त ट्रेलहरू निर्माण गर्न सक्छौं। ट्रेलको दायाँ बायाँ विभिन्न खालका मनमोहक पार्क बनाउन सकिन्थ्यो। राम्रो सजिलो हाइकिंग ट्रेल जहाँ शौचालय सुबिधा होस्, खाजा खानको राम्रो प्रबन्ध होस् शान्ति सुरक्षाको प्रत्याभूति होस्।पानी आइहाले सेडमा पानीबाट जोगिन सक्ने व्यवस्था होस्। ठाउ ठाउँमा सुचनाकेन्द्र होस्। ति हाइकिंग गर्ने ट्रेल संग मोटरको बाटोको लिंक होस्। परि आउँदा जुन सुकै ट्रेल बाट मानिसको उद्धार गर्न सकियोस। त्यस्तो भएमा नेपाली पर्यटन पनि थुप्रै हुन्छन। अहिले सुविधायुक्त गन्तब्य को अभाव छ। त्यसैले पर्यटन प्रर्वद्धनको यति राम्रो मौका हुँदा कोरोनालाइ दोष दिएर बस्ने हो र युवा मन्त्री ज्यु? अहिले राम्रो संग सम्भावना रोप्ने बेला थियो पनि र छ पनि। सरकार आफैले मात्र गर्न सक्दैन भने निजि क्षेत्र संग साझेदारी गरे भै हाल्यो नि!

सिनामंगल काठमाडौँ, हाल अमेरिका।

लेखकबाट थप:-

प्रकाशित : २०७७ असोज ८ गते १३:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI