के.एल राहुलको शतक सँगै पन्जाब द्वारा बैंगलोर ९७ रनले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते २३:४६
के.एल राहुलको शतक सँगै पन्जाब द्वारा बैंगलोर ९७ रनले पराजित

कप्तान केएल राहुलले किर्तिमानी  बनाउदा किंग्स-११ पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ। अघिल्लो खेलमा दिल्ली क्यापिटल्ससंग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा उत्कृस्ट पुनरागमन गरेको हो। पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको बैंगलोरको यो पहिलो हात हो।

युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २०६ रन बनाएको थियो। जवाफमा बैंगलोर कमजोर ब्याटिंग गर्दै १७ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटिन पुग्यो र जारि सीजनकै ठुलो ९७ रनको विशाल हार बेहोर्न पुग्यो।

लिग इतिहासमा यो पन्जाबको तेश्रो ठुलो रन अन्तरको जित हो भने बैंगलोरको चौथो ठुलो हार हो।

बैंगलोरको लज्जास्पद ब्याटिंग

बैंगलोरको ब्याटिंगमा वासिंगटन सुन्दरले ३०, एबि डी भिल्लीयर्सले २८, आरोन फिंचले २० तथा शिभम दुबेले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान कोहली ५ बलमा १ रन बनाएर आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका देभदत्त पडीक्कल १ रन, जोश फिलिपे ० मै आउट भए।

रभी बिन्सोइले ३ विकेट लिए

विशाल योगफल पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गर्ने क्रममा बैंगलोरले पहिलो ३ विकेट तेश्रो ओभरमा ४ रनको योगफलमा गुमाएको थियो। शेल्डन कटरेलले पडीक्कल र कोहलीलाई तथा मोहम्मद शामीले जोश फिलिपेलाई आउट गरे। फिंच र डी भिल्लीयर्सले चौथो विकेटको लागि ४९ रनको साझेदारी गरे। आठौँ ओभरमा फिंचलाई लेग स्पिनर रभी बिस्नोइले बोल्ड गरेपछि बैंगलोरको इनिंग धरासायी बन्यो।

पन्जाबको बलिंगमा लेग स्पिनर रभी बिस्नोइ र मुरुगन आश्विनले समान ३ विकेट लिए। बिस्नोइले ४ ओभरमा ३२ तथा आश्विनले ३ ओभरमा २१ रन खर्चिए। शेल्डन कटरेलले २ ( ३-०-१७-२ ) , मोहम्मद शामी ( ३-०-१४-१ ) र ग्लेन म्याक्सवेल ( २-०-१०-१ ) ले सम्म १/१ विकेट लिए।

राहुलको कीर्तिमानी ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गर्दै पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २०६ रन बनाएको थियो।

पन्जाबको ब्याटिंगमा ओपनिंग ब्याटिंग गरेका कप्तान केएल राहुलले अविजित शतक बनाए। लिगमा दोश्रो शतक बनाउने क्रममा राहुलले मात्र ६९ बलमा १३२ रन बनाए जुन क्रममा १४ चौका र ७ छक्का प्रहार गरे। राहुल ८३ रनमा खेल्दा १७ औं ओभरमा डेल स्टेनको बलमा कप्तान कोहलीले डिप-मिड विकेटमा क्याच छोडेका थिए।

राहुलको १३२ रन आईपीएलमा भारतीय ब्याट्सम्यानको उच्च योगफल हो। लिग इतिहासमा उनको यो दोश्रो शतक हो। यस्तै लिग इतिहासमै कुनै पनि कप्तानले बनाएको यो उच्च स्कोर हो। यस अघि सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरले २०१७ मा १२६ रन बनाएर रेकर्ड बनाएका थिए। २०११ मा दिल्लीका कप्तान विरेन्द्र सेहवागले ११९ रन बनाएका थिए।

पहिलो विकेटको लागि मायाँक अग्रवाल र कप्तान केएल राहुलले ५७ रनको साझेदारी गरेका थिए। अघिल्लो खेलमा दिल्ली बिरुद्ध ८९ रन बनएका अग्रवाललाई सातौँ ओभरमा युजभेन्द्र चाहलले बोल्ड गर्दै साझेदारी तोडे। दोश्रो विकेटको लागि निकोलस पुरनसंग राहुलले ५७ रन जोडे। १४ औं ओभरमा शिभम दुबेले १८ बलमा १७ रन बनाएका पुरनलाई क्याच आउट गराए। दुबेले १६ औं ओभरमा ग्लेन म्याक्सवेललाई ५ रनमा पेभेलियन फर्काए। त्यसपछि राहुलले चौथो विकेटको लागि करुण नायरसंग अविजित २८ बलमा ७८ रनको साझेदारी गरे। नायरले ८ बलमा १५ रन बनाए।

बैंगलोरको बलिंगमा शिभम दुबेले २ विकेट लिए जुन क्रममा ३ ओभरमा ३३ रन खर्चिए। युजभेन्द्र चाहलले १ विकेट ( ४-०-२५-१ ) लिए। उमेश यादव, डेल स्टेन, वासिंगटन सुन्दर र डेल स्टेन विकेटविहिन रहे। स्टेनले ४ ओभरमा ५७ रन खर्चिए। स्टेनले गरेको १९ औं ओभरमा केएल राहुलले ३ छक्का र २ चौका प्रहार गर्दै २६ रन बनाएका थिए।-wicket nepal बाट

प्रकाशित : २०७७ असोज ८ गते २३:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI