दुस्वप्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ९ गते १९:४६
दुस्वप्न

अविनाश पन्थी –
हैन ! तपाई कस्तो हेलचेक्र्याई गर्नुहुन्च के यस्ता बेलाँनी ? घराँ एक कप च्या खाएसी नि फेरी च्या दोकाना गएर गफ चुट्न पर्नी ? अनि फुर्सद भओ भन्दैमा तासाँनि नारिइ हाल्न पर्च र ? अझ साँझ त पर्नै नहुनि यस्तो झरिमा नि भट्टी छिर्नै पर्नी है ?धेरै करकर नगर । के भओ छ र ? हाम्रा दिन यसरी नै चलेका हुन । अनि हाम्रा काम जे जस्तो भएनि आफै चलाछम् बुजिस् । तो त हो । ऐले कोरोना हो कि के जाती तो कोभिडे भन्न आछ रे के । नेपालाँ ४५३ जति मुन्छे मरे रे अनि सप्पै तिर गरेर त १० लाखै गैसके रे त ? त्यै भर अलि होस गर भनेको हो । हुन त मैले के नै जानेकी छु र ?
रोग लाउँच । मुन्छे मर्चन । स्वस्थ्यमा बजेट छ । औषधी नि हेलपोसमा फिरियाँ पाइन्च । मुन्छे मर्दैमा के हुन्च र ? मुन्छे मरेरै हाम्रो व्यबस्था फेरिएको हो । तेत्रो जनयुद्ध गरियो । कति संरचना भत्के । कति घरबारविहिन भए । त्यो भन्दा पैला नि राणाजी सँग लडियो । जहाज अपहरण गरियो । झापा विद्रोहमा नि मुन्छे मरे/मारियो । पञ्चायतसँग लड्दा नि के के भए । ति सब केका लागि भन्ने जम्मैले बिर्से बाबै । जनताको शासन चलाउन, गरिबका अनुहाराँ हाँसो ल्याउन, राजनीति फेर्न, सामाजिक कुरिति हटाउन, के के हो के के ? हामी नेपालीले तेस्तो हिसाप किताब गर्न हुन्न । १७००० को वलिदानले त ठूलो परिवर्तन आयो नि । सक्रिय राजतन्त्रबाट सुधारिएको राजतन्त्र स्थापित भकै छ । संघीयता भन्चन है ? देखेनौ कतिवटा राजसंस्था छन् ऐले भन त ? अलिअलि त मैले नि बुच्चु के ।
उइले एउटा ठुलो भँइचालो आउँदा नि धेरै मुन्छे मरेका रे । ४५ सालाँ नि आयो केरे । अँ अस्ती ७२ सालाँनि त आथ्यो केरे । कति घर भत्के । कति हजार मुन्छे गए । बिर्सिनु बाहेक के गर्नि र हामी नेपालीले । अजै नि बेला बेला हल्लाइरन्च । सम्झेर नि क्यार्नी ? कति घर बने ? कति बाँकी छन् ? त्यसपछी हाम्रातिर कति पक्की घर बने ? कच्ची घर सकेसम्म बन्दैनन् । नक्सा पास गर्न पर्च भन्नी कानून आओ रे । कानून नमानी कुलो, वन, बाटो मिचेर नि घर बनेका बनै छन् । प्लटिङको मापदण्ड नि बनो रे । त्यसको पालना भएर हो वा तेसै प्लटिङ नि भकै छन् केरे । ऐले ठूलो पानी परो । घर घर डुबे बरै । वर्षेनी बाढी पैरोले कति ज्यान जान्छ ? कतिका घर बग्छन् ? त्यसैलाई सम्जिरने ? देशलाई अगाडी नबडाउनी ?
कानून, नीति, विकास, सिद्धान्त जानेका बढे बढे योजना जानेका मस्तै पढेका हाकिम साबहरु काठमाण्डौको सिंहदरबार जानेका हाकिमसाबहरु हाम्रा नजिक सिंहदरबारमा आउनुहुन्च । हाम्रा लागि । भुउपयोग नीति, नक्सा मापदण्ड, बाटोको अधिकार क्षेत्र, विकासै विकासका बारे भन्नुन्च । गाउँ/नगरसभाबाट राम्रा राम्रा कानून, कार्यक्रम पास गराउनुहुन्च । हामीले चुनका प्रतिनिधीले ताली पड्काएर स्वीकृत गर्नुहुन्च । रोग बिमार जानेका डाक्टर साबहरु हाम्रा नगिचमा हुनुन्च । पहेंला जन्तुले बाटो खनेकै छन् । वनको वैज्ञानिक व्यबस्थापन भएर रुख काटीएकै छन् । सय बर्ष पुराना चौतारा काटेर सय वर्ष पछि तेत्रै पार्ने भनेर रु रोपेकै छम् ।
केलाई चिन्ता मान्छेस् ? संघीयतामा पनि केन्द्रबाट राजनीति बाँडिएकै छ । विकास चुहिएकै छ । स्वास्थ्य र शिक्षाको लगानी बढाईएकै छ । अहिले नि के नै भछ र ? तो कोभिडेले बुढाखाडा जसको अनुभव राज्यले उपयोग गर्न सकेन ? दीर्घरोगी जसलाई वचाउन स्वास्थ्यमा राज्यको गरेको लगानी कामयाव भएन तेस्तैलाई लाने त हो ? सिद्धान्त व्यवहारमा लागू भएन । शिक्षा गोपीकृष्ण कहो शैलीमा चलिराछ । बन्दैगरेका पुल पुलेसामा, बाटोघाटोमा हाम्रा सन्तान दर सन्तान हिड्नै नपर्ने गरी बनेकै छन् । एकदम गुणस्तरीय । औषधी कम्पनी खुलेकै छन् । ट्वाक्क विसेक हुने औषधी बनाउचन् । कृषिका लागी झोलामा भएका संस्थालाई राज्यले लगानी गर्छ । हामी बहुत जिम्मेवार छम् । अरुलाई ठग्ने वहानामा सप्पैले आफैलाई ठगेकै छम् त । यो पनि २/४ दिनमा हामीले विर्सिने हो । फेरी पुरानै तरिकामा दिन ठेल्ने हो । तँ भने बेकारमा करकर गर्चेस । मैले त फेरी नयाँमा गएर पुरानोमा फर्किन भन्दा आफ्नो तरिका किन फेरम भनेर हो नि ? बुज न कुरो । आफ्नो बह कसैलाई नकह ।
टि…रि….ङ । टि…रि…ङ । टि…..रि…ङ । हेत्तेरी कस्तो मिठो सपना देखिराको बेलाँ अलार्म पो बजेच । ए ४ बजिसकेको । लौ उठें । एकछिन योग, ध्यान गर्न परो । सपना त विर्सिन पर्च ।

प्रकाशित : २०७७ असोज ९ गते १९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI