थलिएको पर्यटन र आउँदा दिनहरू

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ११ गते ११:५०
थलिएको पर्यटन र आउँदा दिनहरू

चेतनाथ कणेल “हरित”

आज हामी ४१ औं विश्व पर्यटन दिवस मनाइरहेका छौँ।तर विगतमा जस्तो केही चलहलपहल छैन। होस् पनि कसरी?  कोरोनाले गर्दा विश्व नै सुस्ताएको बेला, थलिएको बेला नेपाली पर्यटन पनि विगत ६-७ महिनादेखि थला परेको छ। जमघट र घुमघाम रोकिएको बेला विदेश भनेर घुमघाम गर्ने अवस्था पक्कै छैन। तर दिवसले दिने सन्देशमाथि भने हामीले चिन्तन, विमर्श र बहस गर्नुपर्छ। यसको मर्म आत्मसात गर्नुपर्छ।

यसपटकको नारा “पर्यटनबाट शान्ति र ज्ञानको उत्थान” (टुरिजम: बिल्डिङ पिस, फोस्टरिङ नलेज) रहेको छ। पर्यटनबाट विश्व भाइचारा तथा भगिनित्व बढ्ने र आपसी सूचना आदानप्रदानबाट ज्ञानको उत्थान पनि हुने कुरामा दुईमत छैन। यद्यपि यसको सही उपयोग र कार्यान्वयन भने आफ्नो परिप्रेक्ष्यमा के कति भइरहेको छ भन्ने कुरा सन् २०२० का लागि विश्व पर्यटन संघले तय गरेको नाराले एकपटक सोच्न बाध्य तुल्याउँछ।

पर्यटनले सहरमात्र होइन गाउँ क्षेत्रमा पनि विकासको ढोका उघार्छ। चेतना र ज्ञानको दियो बाल्छ। समृद्धिको बाटोमा स्थानीय जनतालाई विस्तारै डोर्‍याउन थाल्छ। समृद्धि र सुख बढेपछि द्वन्द्व र मनमुटाव घट्छन्, अशान्ती र झैझगडा कम हुन थाल्छन्। गरिबी, अभाव र भोकमरीमा शान्ति र सुख खल्बलिन्छ। त्यस्तोमा पर्यटन विकासले सधैँ सकारात्मक भूमिका खेली गरिवी निवारण र ग्रामीण विकासमा टेवा पुर्‍याउँछ। मानिसलाई वैकल्पिक आयका अनेक आयाम र बाटाहरू उपलब्ध हुन्छन्।

बहुआयामकिता र सर्वव्यापकता

पर्यटन एक बहुआयामिक र चलायमान उद्योग भएकोले जुन देशमा पर्यटन फस्टाइरहेको हुन्छ, त्यस देशमा पर्यटनले केवल सहरी र बजारिया क्षेत्रलाई मात्र ध्यान नदिएर ग्रामीण र दूरदराजमा रहेका ठाउँहरूमा पनि पर्यटनको लाभ पुगेको हुनुपर्छ भन्ने मान्यता राख्दछ। पर्यटन जहाँ पनि सम्भव छ भन्ने कुरा पनि एउटा यथार्थ हो। हिमाल, तालतलैया, डाँडाकाँडा, बेँसीफाँट, सहर, गाउँ, सुगम, दुर्गम, सिमसार, मरुभूमि जहाँ पनि पर्यटन फस्टाउन सक्छ। यो सर्वव्यापकता पनि पर्यटनको अर्को गुण हो। तर विकास सम्भावनाको हद र तह भने ठाउँअनुसार फरक हुनसक्छ।

नेपालमा पनि हिमाल, पहाड, तराई–मधेस आदि सबै ठाउँमा पर्यटनको राम्रो सम्भावना छ। हरेक प्रदेशमा पर्यटन विकासको राम्रो अवसर छ। तर अपेक्षितरूपमा हामीले एकाध ठाउँबाहेक ती क्षेत्रमा सुहाउँदा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नसकेको अवस्था छ।


आजसम्म कम्तीमा एक सय त्यस्ता गाउँठाउँ विकास भइसकेको हुनुपर्ने थियो, तर घोरिएर केलाउँदा पनि नमूनायोग्य बीस ठाउँ छान्न पनि एकछिन समय लाग्छ । यसको मूल कारण हो नेपालमा प्रणालीबद्ध ढंगले ‘पर्यटन र ग्रामीण विकास’ का पहलको तुइनो राम्रोसँग जोडिन नसक्नु । दुबैको एकीकृत र दिगो विकास गर्ने ठोस सोच र योजना कार्यान्वयनमा तदारुकता र तादाम्य नआउनु । स्थानीय ज्ञान, सीप अभिवृद्धि र धारणामा सकारात्मक परिवर्तन ल्याउने खालका विकास तथा पर्यटन कार्यक्रमको संयोजनात्मक खाँचो छ । यी विकास भएमा मात्र शान्ति र समृद्धि विस्तारै भित्रिने हो । 


पर्यटनले ग्रामीण भेगलाई बढी हेरेमा मात्र नेपालको पर्यटन सफल मानिनेछ। पर्यटनबाट ग्रामीण क्षेत्रमा लाभ विस्तार गर्ने कुरा त्यति सहज भने छैन। पर्यटन विकासमा लागेकाहरूका लागि जहिले पनि यो चुनौतीको विषय रहिआएको छ। यो पंक्तिकार सन् २००२ देखि २००७ सम्म संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको संयुक्त तत्वावधानमा नेपालका ६ वटा जिल्लामा चलिरहेको ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टीआरपीएपी) मा आबद्ध रहँदा भोगेका केही प्रत्यक्ष अनुभव र पछि भियतनाम देशमा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित ३ वर्षे दिगो पर्यटन विकास परियोजनामा संलग्न रहँदा सिकेका केही मुख्य पाठहरू म आजको लेखमा प्रतिविम्बन गर्न चाहन्छु।

पर्यटनको आधार: ग्रामीण पूर्वाधार

पर्यटनबाट ग्रामीण क्षेत्रको विकास गर्ने मुख्य दुई तरिका छन्। पहिलो, जुन स्थानमा ग्रामीण पर्यटकीय गन्तव्य विकासको सम्भावना छ, त्यहाँ पर्यटकीय उपज (प्रोडक्ट-डेस्टिनेसन) विकास गरिन्छ र त्यहाँ रहेका हरेक घरधुरीलाई पर्यटनसम्बद्ध क्रियाकलापमा सहभागी गराउने प्रयास गरिन्छ । त्यसो भयो भने स्थानीय पूर्वाधार विकासमा पनि पर्यटनले ठूलो मात्रामा सहयोग गरिरहेको हुन्छ । उदाहरणका लागि रसुवाको गत्लाङ गाउँ तथा तातोपानी क्षेत्रमा टीआरपीएपी सञ्चालन भइरहँदा त्यहाँ बाटो सुधार, शौचालय निर्माण, खानेपानी व्यवस्थापन, नाली सुधार, सूचना प्रणाली विकास, अतिथि गृह निर्माण, सामूहिक भेलास्थल सुधार, आदिजस्ता अनेक पूर्वाधार विकासका अवसर त्यहाँका ग्रामीण बासिन्दाले प्राप्त गरे । अझ हरेक घरमा बौद्ध झण्डा राख्नका लागि रुखबिरुवाका पोल गाड्ने चलनलाई वातावरणमैत्री अभियानअन्तर्गत फलामे पोलबाट प्रतिस्थापन गर्ने कार्य, सुधारिएको चुलो निर्माण, फोहोरमैला व्यवस्थापनका लागि इन्सिनिरेटरको स्थापना आदि पनि पूर्वाधारकै रूपमा स्थापित र विकास भए।

अझ महत्वपूर्ण त पर्यटनमा सरिक हुनेहरूका लागि अनेक खालका साक्षरता तथा सचेतना (ज्ञान) विकास कार्यक्रम, घरेलु सामग्री उत्पादन सीप विकास तालिम, व्यवस्थापकीय सीप अभिवृद्धि कार्यशाला, पर्यटक-केन्द्रित खाना पकाउने तथा सर्भिस गर्ने सीप, अतिथि स्वागत तथा व्यवस्थापन शैली, बुक किपिङ आदिजस्ता दर्जनौँ प्रकारका ज्ञान तथा सीप पनि ती गाउँका बासिन्दाले लिने मौका पाए। यसरी प्रत्यक्षरूपमा ग्रामीण पर्यटकीय गन्तव्य विकास गर्दा त्यस्ता ठाउँमा धेरै नै विकास निर्माण र सुधार भएको हुन्छ।

दोस्रो कुरा, गन्तव्यवरिपरिका जनताको सहभागिता र विकासको कुरा हो। पर्यटन विकास पहलकर्ता वा सहजकर्ताले गन्तव्यमा मात्र नभएर वरिपरि र दूरदराजका क्षेत्रका बासिन्दाका समस्या र अवसरहरू पनि हेरिदिनुपर्ने हुन्छ । दिगो पर्यटन विकास सिद्धान्तको मूल कडी पनि त्यो हो । तत्कालका लागि भौतिक पूर्वाधार ती ठाउँमा पुर्‍याउन नसके पनि चेतना, ज्ञान, सीप विकास गर्ने कार्यमा टेवा पुर्‍याउनुपर्ने हुन्छ। ती ठाउँबाट वस्तु उत्पादन गरी बिक्री हुने प्रवन्ध मिलाइदिनुपर्ने हुन्छ, र, सम्भव भएसम्म विशेष सीप प्रदान गरी रोजगारी अभिवृद्धिमा समेत सघाउ पुर्‍याउनुपर्ने हुन्छ । यस्ता रोगजारीमध्ये भरिया, गाइड, कुक, वेटर, फ्रन्ट अफिस, भाषा प्रशिक्षक आदि विशेष प्रचलनमा रहेका छन् । उदाहरणका लागि सोलुखुम्बूको नाम्चे क्षेत्रमा कुक, वेटर, भरिया, गाइड आदि सेवा दिने धेरै व्यक्तिहरू खुम्बूबाहेकका पनि छन् । तिनमा अधिकांशतः सोलुको दक्षिणी भेगका छन् । नाम्चेमा कमाएको धनले सोलुको तल्लो भेगका धेरै जनताको रोजीरोटी चलेको स्थिति छ । ग्रामीण पर्यटन र रोजगारी अभिवृद्धिको राम्रो नमूना हामीले नाम्चेबाट पाउन सक्छौँ । यद्यपि त्यो यथेष्ट र अपेक्षितमात्रामा भने छैन ।

पर्यटनबाट ग्रामीण विकासको अपार सम्भावना छ । यो कुरामा सायदै शङ्का रहला । नाम्चे, फाप्लु, धुनीवेसी, लाङटाङ, क्यान्जिङ, स्याफ्रुबेँसी, धुन्चे, घलेगाउँ, सिरुबारी, बन्दीपुर, मनकामना, घान्द्रुक, चामे, जोमसोम, सौराहा, मेघौली, ठाकुरद्वारा आदि ठाउँहरूलाई पर्यटनकै कारणबाट नेपालमात्र नभएर विश्वका मानिसले चिन्ने भएका छन् । ती ठाउँमा राम्रो पूर्वाधार विकास भएको छ। बस्ती सुन्दर बनाउने कार्य, वातावरण जोगाउने कार्य, टोल सफाइ कार्य, उद्यमशीलता अभिवृद्धि, चेतना र शिक्षामा पहुँच अभिवृद्धि, आय बढोत्तरी, लघु तथा मध्यमस्तरका पूर्वाधार निर्माणजस्ता कार्यमा ती गाउँहरू अहिले प्रसिद्ध बनेका छन्, समुन्नतिका राम्रा उदाहरण पनि बनेका छन् । आजभन्दा दश-एघार वर्षअघि नै नाम्चे क्षेत्रमा भएको एक अध्ययनले नेपालको समग्र वार्षिक औसत आय करिब ४ सय डलरमात्र हुँदा त्यहाँका बासिन्दाको औसत आय करिब १५ सय डलर रहेको कुरा प्रकाश पारेको थियो । यस्तो अध्ययन अरु गाउँ र जिल्लाको पनि गर्नु जरुरी छ ।

पर्यटन र ग्रामीण विकासको अन्तर्सम्बन्ध केलाउन सहयोगी अर्को उदाहरण हेरौँ। पर्यटकीय चहलपहल बढ्न थालेसँगै लमजुङको घलेगाउँलाई ‘सार्कग्राम’को रूपमा विकास गर्ने सोच त्यहाँ करिब दशकअघि आयो । अहिले होमस्टेको लागि नेपालकै नमूना केन्द्र बनेको छ यो ठाउँ । पर्यटनबाट स्थानीय रोजगारी बढ्छ, विकास निर्माण बढ्छ, र गाउँको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्छ भन्ने कुरा अब नौलो रहेन । तर यो यथार्थ थाहा हुँदाहुँदै पनि हामीले नेपालमा पर्यटन विकास र ग्रामीण विकासबीचको अर्न्तसम्बन्ध केलाउन र अर्न्तक्रिया बढाउन भने ढिला गरेको स्थिति छ ।

अन्त्यमा,

जसरी हुन्छ, नेपालको पर्यटनलाई गाउँगाउँमा पुर्‍याउनुपर्छ । अहिले हरेक देशको प्रयास ग्रामीण क्षेत्रमा पर्यटकीय गन्तव्य विकास गर्ने र गाउँ क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी, सीप तथा आय अभिवृद्धिका क्रियाकलापमा बढीभन्दा बढी जोड्नुपर्ने आवश्यकतामा केन्द्रित हुन थालेका छन् ।

तर समग्र विश्व यतिबेला कोरोना कहर (कोभिड–१९) बाट थलिएकोले सन् २०२० र २०२१ को मध्यसम्मको पर्यटन अनपेक्षित किसिमले खुम्चिने निश्चित छ । नेपालले पर्यटन क्षेत्रमा विगत ६-७ महिनामा करिब ६० अर्बको क्षति व्यहोरिसकेको कुरा पनि सार्वजनिक भइसकेको छ । यो वर्ष ‘नेपाल भ्रमण वर्ष’का साथ २० लाख विदेशी पर्यटक भित्र्याउने हाम्रो चाहना र अभियानमा अकस्मात् तुषारापात भएको छ ।

सन् २००१-२००२ तिर हाम्रो हालत यस्तै थियो। विस्तारै तङ्ग्रिएर उकालो चढ्दै गर्दा सन् २०१५ को भुइँचालोले फेरि खस्कायो। अनि फेरि जाग्दै र उठ्दै गयौँ। सन् २०१९ सम्ममा आइपुग्दा १२ लाख पर्यटक पुर्‍याउँदै थियौँ। यतिबेला भने नेपाली पर्यटनले फेरि करिब दुई दशकपछाडी फर्कनु परेको स्थिति छ। विकासका ढोकाहरूको निकास थुनिएको अवस्था छ।

सन् २०२० मा नेपालमा कुल पर्यटक आगमन मुस्किलले ३ लाख पुग्ला। अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा केही पर्यटक आउँछन् कि भन्ने आशा छ। तर बढ्दो कोरोना संक्रमणका कारण त्यो पनि ढुक्कले भन्न सकिने स्थिति भने छैन। तर परका दिन उज्याला छन्, आगामी दिन आशा लाग्दा छन्। असोज लागेपछि नै अलिअलि सकारात्मक झिल्का र चाँदीका घेरा देखिन थालेका छन्। व्यवसायीहरूमा विस्तारै उत्साह बढ्दै छ। कोरोनाको उतारचढावबीच पनि अब चाहिँ धेरै पछाडि फर्कनु नपर्ला कि भन्ने विश्वास पलाउँदै जान थालेको छ ।

अबको पर्यटन नयाँ सामान्य पर्यटन (न्यु नर्मल टुरिजम), ‘कोरोनापश्चात्को पर्यटन’ (पोस्ट–कोभिड टुरिजम) आदि नामले चिनिने छ । त्यो ‘नयाँ सामान्य’ र ‘पश्चात्’ को अवस्था कुन गतिमा अघि बढ्ला भन्ने कुरा भने स्वयम् विश्व पर्यटन सङ्घले पनि ठोकुवा गरेर भन्न र सुहाउँदो प्रक्षेपण (प्रोजेक्सन) गर्न नसक्ने स्थिति छ । जे–जसरी आर्थिक क्रियाकलाप र पर्यटनको पुनरोत्थान होला, ग्रामीण बासिन्दाका चासो र सरोकार भने सम्बोधन गर्नैपर्ने हुन्छ । गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपालका सन्दर्भमा पर्यटन नाराले अझ धेरै वकालत गरिरहेको छ । ज्ञानको दियो र दिगो शान्तिको पानस बाल्नमा पर्यटनले खेल्ने भूमिकालाई सबैले मनन गरौँ । आजको मूल सन्देश यही हो । जय पर्यटन, जय ग्रामीण विकास!

श्रृङ्गा गुल्मी, हाल शंखमूल काठमाडौँ।

(लेखक पर्यटन विकासका शोधार्थी तथा रणनीतिक योजनाकार हुनुहुन्छ।)

लेखकबाट थप:-

प्रकाशित : २०७७ असोज ११ गते ११:५०
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI