वैकल्पिक सिकाइ सहजीकरणमा शिक्षकको भूमिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १३ गते १०:३०
वैकल्पिक सिकाइ सहजीकरणमा शिक्षकको भूमिका

 

तेजचन्द्र खनाल –

गुरुःब्रहृमा गुरु विष्णु गुरु देवो महेश्वर ।

गुरु साक्षात् परंब्रहृम तस्मै श्री गुरुवे नमः

नेपाली बृहत शब्दकोषमा शिक्षक शब्दको अर्थ यस्तो छ; शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर ।

शाब्दिक रुपबाट हेर्दा शिक्षक शब्दमा प्रयोग भएको अक्षर  `शि´ ले `शिखरमा पुर्याउने व्यक्ति` , `क्ष´ ले `क्षमा गर्न सक्ने व्यक्ति` र `क` ले `कमजोरी हटाउन सक्ने व्यक्ति´ लाई पनि जनाउँन सकिन्छ ।

 

शिक्षक शब्दले गुरु शब्दसँग पनि समान अर्थ राखेको हुन्छ । यहाँ `गुरु´ को `गु´ अक्षरले अंधकार र `रु´ अक्षरले तेज वा प्रकाशलाई जनाउँदछ । त्येसैले ज्ञानरुपि प्रकाश दिएर अंधकारलाई हटाउने ब्यक्ति नै गुरु हुन् । शिक्षक त्यो हो जसले सिकाइका लागि प्रेरणा दिने, बाटो देखाउने निर्देशित गर्ने, हौसला प्रदान गर्ने  र ज्ञानलाई माया गर्ने गर्दछ ।

 

महान दार्शनिक प्लेटोले शिक्षकलाई विद्यार्थीको प्रकृति थाहा पाउने ब्यक्ति भनेका छन् । त्यस्तै वाइल्डले शिक्षक भनेको बच्चालाई खुशी राख्ने ब्यक्ति हो भनेका छन् भने रुसोले शिक्षकलाई विद्यार्थीको पन्ना पन्ना पढ्ने ब्यक्तिको रुपमा हेरेका छन् ।

 

शिक्षा (नवौं संशोधन) ऐन, २०७४ ले `शिक्षक´ भन्नाले विद्यालयको अध्यापक सम्झनु पर्दछ र सो शब्दले प्रधानाध्यापक समेतलाई जनाउँदछ भनि ब्याख्या गरेको छ । शिक्षक भनेको हरेक समाजको पथ प्रदर्शक हो । सकारात्मक समाजको निर्माता पनि हो र समाज परिवर्तनको संवाहकपनि हो । शिक्षकहरुले बालबालिकाहरु लाई उचित शिक्षा दीक्षा दिई अनुशासित, लगनशील, इमान्दार र उत्तरदायी नागरिक बन्न प्रेरित गरिरहेका हुन्छन् । अनि तिनै शिक्षकहरु समाज र राष्ट्रका लागि आवश्यक पर्ने दक्ष जशक्तिहरु जस्तै डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, वैज्ञानिक लगायतका जनशक्तिहरु उत्पादन गर्न सफल हुन्छन् ।

 

माथिका सबै कुराहरुबाट के विश्लेषण गर्न सकिन्छ भने शिक्षक नै त्यस्तो जिम्मेवार व्यक्ति हो जसले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । विद्यार्थीलाई सिकाइमा प्रेरित गर्ने, विद्यार्थीको सिकाइ क्षमता पहिचान गर्ने, विद्यार्थीका असल र खराब आचरणहरु पहिचान गरि सुधार गर्ने, विद्यार्थीलाई प्रत्यक्ष सिकाइमा सहजीकरण गर्ने, समाजमा विभिन्न चेतनामूलक कार्यहरु गर्ने जस्ता कार्यहरुमा शिक्षकको भूमिका उल्लेखनिय हुन्छ । त्यसैले त भनिन्छ शिक्षक समाजका आँखा (ऐना) हुन भनेर ।

 

यतिखेर सारा विश्व कोरोना भाइरसको बढ्दो संक्रमणवाट आक्रान्त छ । एउटा अदृष्य जिवाणुले सिंगो मानव जीवनलाई नै चुनौती दिइरहेको छ । जटिल खोज–अनुसन्धान एवं प्रयोगद्वारा स्थापित गरिएका वैज्ञानिक मान्यताहरु र प्रविधिहरुलाई नै यसले चुनौती दिईरहेको अनुभूत भैरहेको छ । जसले गर्दा आर्थिक रुपले सम्पन्न एंव विकसित र शक्तिशाली कहलिएका राष्ट्रहरु समेत निरीह बनिरहेको वर्तमान सन्दर्भमा नेपाल जस्तो आर्थिक एंव सामाजिक विकासका दृष्टिले पछाडि रहेको मुलुकका निम्ति  सामाजिक विकासको  महत्वपूर्ण अवयवका रुपमा रहेको  शिक्षा क्षेत्रमा पनि यसको गम्भिर असर परेको छ ।

 

यही महामारीको चपेटाले गर्दा हाल स्कूलहरुमा पठन पाठन प्रत्यक्ष रुपबाट हुन सकिरहेको छैन । तैपनि वैकल्पिक शिक्षा र सिकाइ प्रणाली हालको समयमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय र समाजको मूख्य मागको रुपमा आएको हुनाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भर्खरै मात्र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी शिक्षण सिकाइको सम्पूर्ण जिम्मा समेत स्थानीय तहलाई दिइएको छ । जसमा ‘सिकाइ सहजीकरण प्रणाली’ भन्नाले कोभिड–१९ वा यस्तै प्रकारको महामारी वा विपद् जस्ता कारणले नियमित पठनपाठन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना कार्यहरु, स्वःअध्ययन, दुर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्ययम वा पद्धति वा प्रत्यक्ष साक्षात्कार माध्ययमबाट अध्ययन, अध्यापन सुचारु राख्ने विधि र प्रक्रिया सम्झनु पर्दछ भनि व्याख्या गरेको छ ।

 

यिनै कुराहरुलाई आधार मानी हरेक स्थानीय तहमा विभिन्न सिकाइ केन्द्रहरु स्थापना गरी वैकल्पिक तरिकाले सिकाइमा सहजीकरण गर्न थालिएको छ । यही वैकल्पिक सिकाइ सहजी करणमा समाजका अग्रणी व्यक्तित्वको रुपमा रहेका शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने गर्दछ । विद्यार्थी सिकाइमा सहजीकरण गर्नका लागि शिक्षकको भूमिकालाई निम्न बुँदाहरुबाट प्रष्ट पार्न सकिन्छ ।

  • विद्यार्थीहरुलाई जीवन उपयोगी, परम्परागत तथा सामाजिक व्यवहार कौशल सीपहरु सिक्न र सिकाउन उत्प्रेरित गर्ने,
  • आफ्ना विद्यार्थीहरुको अध्ययन, अध्यापनमा निरन्तर सहयोग र सहजीकरण गर्ने,
  • समुदायमा सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न सधैं सक्रियरुप बाट लागि पर्ने,
  • विद्यार्थीहरुको पहिचान तथा वर्गीकरणका गरी स्थानीय तहलाई विद्यार्थी विवरणहरु उपलब्ध गराउने,
  • शिक्षालाई व्यावहारिक, जीवनउपयोगी र संस्कारयुक्त बनाउन विभिन्न चेतनामूलक कार्यक्रमहरु स्थानीय तह र विद्यालयको समन्वयमा सञ्चालन गर्ने,
  • बन्दा बन्दीले शिक्षकहरुलाई राम्रैसँग अपडेट गर्न मौका दिइएको छ त्यसैले यो सुनौलो मौकालाई चिनेर आफूलाई अप टु डेट राख्ने,
  • नयाँ नयाँ अध्ययन, अनुसन्धान, पढाउने र सिकाउने शैलीको विकास गर्नमा यो समय उपयोग गर्ने र आफूमा निखारता ल्याउने,
  • शिक्षकले सिकाईलाई प्रविधिसँग जोड्न सके सिकाइ व्यावहारिक, सरल एवं दिगो समेत हुनेहुदा प्रविधीमैत्री हुने अवसर नचुकाउने,
  • प्रविधिलाई सदुपयोग गर्न सकियो भने यसले जीवनलाई सरल, सभ्य र संस्कारी समेत बनाउदछ भन्ने कुरालाई सधै आत्मसात गर्ने,
  • शिक्षकले आफू बस्ने टोल, गाउँ वा बस्तीमा उपलब्ध विद्यार्थीहरुलाई उनीहरूको घरमा गएर वा आफ्नो घरमा बोलाएर वा सिकाइ केन्द्रमा बोलाएर सिकाइमा सहजीकरण गर्ने गरी जिम्मा लिने,
  • शिक्षकहरूले आफूले पढाउने पाठहरूको नमुना अडियो वा अडियो भिजुअल सामग्री तयार पारी विद्यार्थीलाई उपलब्ध गराउने,
  • शिक्षकहरुले आफूले पढाउने विषयको विभिन्न किसिमका साना परियोजना कार्यहरु तयार गरी विद्यार्थी समक्ष पुर्याउने,
  • विद्यार्थीको सिकाइ अवस्थाका बारेमा जानकारी लिनका लागि अभिभावकसँग निरन्तर सम्पर्कमा रहिरहने,
  • शिक्षकले विद्यार्थी र अभिभावकलाई उपलब्धताको आधारमा बारम्बार झकझक्याइ रहने, आदि ।

अन्त्यमा,

कोभिड १९ को सङ्क्रमणको यो महामारी अवस्था वाध्यात्मक अवस्था भएको हुनाले र यो सधैँ रहिरहने पनि नभएकोले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्ने विषयलाई धेरै दबाब र हाउगुजीको रूपमा लिइनु हुँदैन । त्यस कारण यो अवस्थालाई दबाब वा झन्झटको रूपमा भन्दापनि अवसरको रूपमा लिन जरुरी छ । जति सकिन्छ त्यत्ति नै गर्ने हो नियमित प्रणाली जस्तो यो प्रभावकारी र सहज नहुनपनि सक्छ । बरु यसलाई शिक्षामा प्रविधि र भर्चुअल प्रणालीको उपयोगको Turning Point बनाउने एउटा सुवर्ण अवसरको रूपमा समेत लिन जरुरी छ । त्यसैले जुनसुकै समाजका हरेक बालबालिकाहरुलाई आफ्नो सन्तान तथा परिवारको एक सदस्यका रुपमा हेर्न र स्विकार गर्न सक्नुहोस् र सोही अनुसार उनिहरुको सिकाइमा सहजीकरणका लागि आफ्नो जीउ ज्यान दिएर लागि पर्नुहोस् अनिमात्र तपाई समाजको एक आदरणीय ब्यक्ति बन्न सक्नुहुनेछ ।

 

(लेखक  हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत हुन )

प्रकाशित : २०७७ असोज १३ गते १०:३०
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI