निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा कारबाहीमा परेका प्रहरी काममा फर्किंदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १३ गते १४:३३
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा कारबाहीमा परेका प्रहरी काममा फर्किंदै

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा कारबाहीमा परेका प्रहरी काममा फर्किंदै छन् ।

८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी आठौँ संशोधित नियमावली २०७७ स्वीकृत गरेसँगै कारबाहीमा परेका प्रहरी काममा फर्किन लागेका हुन् ।

यसअघि १६ साउनमा कञ्चनपुर जिल्ला अदालतले पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीको कुनै कमीकमजोरी नरहेको भन्दै सफाइ दिएको थियो ।

तर, प्रहरी नियमावली २०७१ अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निमम्बनमा रहने व्यवस्थाका कारण उनीहरूलाई जिल्ला अदालतले सफाइ दिँदासमेत काममा फर्किन पाएका थिएनन् ।

सोही विषयलाई ८ गतेको मन्त्रिपरिषद्‌ले नियमावली परिमार्जित गरेपछि उनीहरू काममा फर्किने भएका हुन् । साे प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातना मुद्दामा आठ जना प्रहरी कारबाहीमा परेका थिए ।

कारबाही पर्ने प्रहरी अधिकारीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जीसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्का र जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद थिए ।

एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरेको थियो भने अन्य निलम्बनमा परेका थिए । नियमावली संशोधन भएसँगै विष्ट र भट्टबाहेक अन्यले सोझै हाजिर हुन पाउनेछन् । भट्ट र विष्टको हकमा भने केही समय लाग्नेछ ।

उनीहरूविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र बलात्कार आरोपमा पक्राउ परेका दिलीपसिंह विष्टका दाइ खडकसिंह विष्टले मुद्दा दिएका थिए ।

प्रहरीले दिलीप सिंहलाई निर्मला हत्यामा संलग्न भएको अभियाेगसहित सार्वजनिक गरेको थियो । पछि डीएनए परीक्षण नमिलेपछि उनी छुटेका थिए । हाल डीएनएविज्ञ टोलीले डीएनएमै त्रुटि भएको प्रतिवेदन दिएका छन् । निर्मलाको हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन ।

प्रकाशित : २०७७ असोज १३ गते १४:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI