लापरवाहीले ट्रम्पलाई कोरोना

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते ९:३८
लापरवाहीले ट्रम्पलाई कोरोना

एजेन्सी  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ। ट्रम्पले आफू र श्रीमती दुवै जना संक्रमित भएको बारेमा बिहीबार ट्विट गर्दै क्वारेन्टाइनमा रहेको जानकारी दिएका हुन्।

ह्वाइट हाउसका अधिकारीका अनुसार ट्रम्पलाई हल्का लक्षण मात्र देखिएको छ। अमेरिकामा चुनावी चहलपहल धेरै बढेका बेला ट्रम्पलाई संक्रमण देखिएको हो। अब केही समय उनले आफूलाई चुनावी अभियानबाट टाढा राख्नुको विकल्प देखिँदैन।

आगामी चुनावमा प्रतिस्पर्धी रहेका जो बाइडेनले ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जर्मन चान्सलर एन्जेला मर्केल, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायतले पनि ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आफ्नी सल्लाहकार ३१ वर्षीया होप हिक्सलाई कोरोना लागेको पुष्टि भएलगत्तै ट्रम्प दम्पतीले परीक्षण गराएका थिए। साताको सुरुमा ओहायोमा भएको चुनावी बहसमा हिक्स ट्रम्पसँगै एयर फोर्स वन चढेर गएकी थिइन्। ट्रम्प चढेको उक्त विमानबाट मंगलबार ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो।

ट्रम्प बुधबार मिनेसोटा राज्यमा भएको एउटा विशाल र्‍यालीमा सहभागी हुन जाँदा चढेको हेलिकप्टरमा उनी झन् नजिक देखिएकी थिइन्। उनले चार वर्षदेखि विभिन्न भूमिकामा राष्ट्रपति ट्रम्पका निकट सहयोगीका रूपमा काम गर्दै आएकी छन्। ट्रम्पले बिहीबार राति एकछिन पनि आराम नगरी काममा खट्ने हिक्सलाई कोरोना देखिएकाले निकै दुःख लागेको भनी ट्विट गरेका थिए। सोही रात ट्रम्पले फक्स न्युजसँग कुराकानी गर्दै आफू र पत्नीले हिक्ससँग धेरै समय बिताउने गरेको बताएका थिए।

कोरोना महामारीका विषयमा ट्रम्प लापरबाह देखिएका थिए। अमेरिकामा कोरोना व्यवस्थापनमा गरेका प्रयासलाई लिएर उनीे आलोचित भएका छन्। यही महामारीका कारण अमेरिकामा २ लाखभन्दा बढीको मृत्यु भइसकेको छ।

ट्रम्प र उनका सहयोगी अधिकांश कार्यक्रममा बिनामास्क हिँडिरहेका देखिन्थे। उनले बाइडेन र अन्यलाई मास्क लगाएका, दूरी कायम गरेका र अन्य सुरक्षाका उपाय अपनाएका विषयमा होच्याउने गरेका थिए। अमेरिकी कोभिड टास्क फोर्सले मास्क प्रयोगले भाइरस फैलिन रोक्ने बताउँदा पनि उनले यसलाई गम्भीर रूपमा लिएका थिएनन्। त्यसैगरी पछिल्लो समय ट्रम्पले चुनावी र्‍याली र अभियानमा पनि सक्रिय सहभागिता जनाउँदै आएका थिए।

ट्रम्प र उनका सहयोगीहरूको नियमित कोरोना परीक्षण गर्ने गरिएको थियो। यहाँसम्म कि ह्वाइट हाउसमा समाचार सम्प्रेषणका लागि आउने पत्रकारको पनि नियमित कोरोना जाँच गर्ने गरिएको थियो। ७४ वर्षीय ट्रम्पको बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा माथि छ। यस्तो अवस्थालाई मेडिकल भाषामा मोटोपना भनिन्छ।

उनको उमेरका व्यक्तिलाई कुनै पनि संक्रमणले सजिलै समाउन सक्छ। कतिपयलाई अस्पताल नै भर्ना गर्नुपर्छ भने कतिपयको मृत्युसमेत हुन सक्छ। तर, कतिपय व्यक्ति संक्रमणपछि निकोसमेत भएका युनिभर्सिटी अफ एक्सटर मेडिकल स्कुलका डा. भरत पंखानियाले बीबीसीलाई बताएका छन्। केही समयअघि विश्वभरबाट गरिएको १०० वटा घटनाको अध्ययनमा बालबालिका र युवामा संक्रमणको जोखिम कम पाइएको थियो। तर ७५ वर्ष उमेरका व्यक्तिमा २५ जनामध्ये एक जनाको कोरोना संक्रमणपछि मृत्यु भएको पाइयो। ८५ वर्षभन्दा माथिका सात जनामा एकको मृत्यु र ९० वर्षभन्दा माथिकामा चार जनामा एकको मृत्यु भएको पाइयो। पाका व्यक्तिमा मुटु, फोक्सोका रोगका साथै मधुमेहलगायत स्वास्थ्य समस्या हुने हुँदा पनि जोखिम बढी हुने अध्ययनले देखाएको छ।

प्रकाशित : २०७७ असोज १७ गते ९:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI