भरतपुरमा सबै अस्पतालका आइसियू भरिए : कोभिड–१९ का गम्भीर बिरामीलाई छैन बेड

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २३ गते ७:४९
भरतपुरमा सबै अस्पतालका आइसियू भरिए : कोभिड–१९ का गम्भीर बिरामीलाई छैन बेड

चितवन भरतपुरस्थित सबै अस्पतालमा कोभिड–१९ का गम्भीर बिरामीका लागि छुट्याइएका आइसियू भरिएका छन् । अस्पताल सञ्चालकहरूले बुधबार साँझ सामाजिक सञ्जालमै सूचना राखेर कोभिड–१९ का नयाँ गम्भीर बिरामीलाई सेवा दिन नसकिने बताएका छन् ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज (नयाँ) र कलेज अफ मेडिकल साइन्सेज (पुरानो) का सबै आइसियू बेड भरिएका छन् । नयाँ मेडिकल कलेजमा ५९, पुरानोमा ५० र भरतपुर अस्पताल १० बेड कोभिड–१९ का गम्भीर बिरामीका लागि छुट्याइएको छ ।

भरतपुर अस्पतालमा एक महिनादेखि नै कोभिड–१९ आइसियू खाली छैन । आइसियू भरिएपछि बिरामीलाई फर्काउन बाध्य हुनुपरेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । यस्तै, चितवन मेडिकल कलेजले कोभिड–१९ का लागि छुट्याएका दुई सय चारवटा बेड भरिएका छन् । अधिकांश नर्स, रेसिडेन्ट चिकित्सक, कन्सल्ट्यान्ट चिकित्सक संक्रमित भई कोही अस्पतालमै र कोही घरमै उपचाररत रहेको अस्पतालले जनाएको छ ।

पुरानो मेडिकल कलेजका जनसम्पर्क विकास प्रमुख दुर्गा शर्माले पनि सबै कोभिड–१९ आइसियू बेड भरिएको जानकारी दिए । उक्त मेडिकल कलेजमा ६५ वटा आइसोलेसन बेड छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवन प्रमुख दीपक तिवारीका अनुसार अस्पतालहरूबाट प्राप्त हुने दैनिक अपडेटले पनि आइसियू खाली नरहेको देखाउँछ । चितवन र आसपासका जिल्लाबाट पनि गम्भीर प्रकृतिका कोरोना संक्रमित आउनाले बिरामीको चाप बढेको तिवारीले बताए । उनले भने, ‘चितवनमा हकमा गम्भीर प्रकृतिका बिरामी धेरै छन्, त्यसैले अन्य बिरामीले पनि सेवा पाउने अवस्था कम देखिन्छ ।’-नयाँ पत्रीकाबाट

प्रकाशित : २०७७ असोज २३ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI