आइपिएलको पहिलो चरण : २८ खेलमा नौ हजार चार सय ४५ रन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २७ गते २०:०७
आइपिएलको पहिलो चरण : २८ खेलमा नौ हजार चार सय ४५ रन

रोयल्स च्यालेन्जर्स बेंग्लोरले कोलकाता नाइट राइडर्सलाई सोमबार राति ८२ रनको फराकिलो अन्तरले पराजित गरेसँगै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो चरण सकिएको छ । कोरोना भाइरस (कोभिड– १९) का कारण आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आइपिएल युएईको तीन सहरमा गराइरहेको छ । अहिलेसम्म सहभागी आठै टोलीले सात–सात खेल खेलेका छन् । पहिलो चरणसम्म केवल दुई ब्याट्सम्यानले मात्र सतकीय इनिङ्स खेलेका छन् ।

दुबईको दुई रंगशाला तथा शारजहाँ मैदानमा ब्याट्सम्यान र बलरबीच को श्रेष्ठ भन्ने प्रतिस्पर्धा भइरहेको छ । यद्यपि सुरुमा दर्शकरहित आइपिएल हुने भनिए पनि बिसिसिआईले थोरै समर्थकलाई रंगशालाभित्र प्रवेश अनुमति दिएको छ । जारी आइपिएलको २८ खेलमा कुल नौ हजार चार सय ४५ रन भएको छ ।

साबिक विजेता नै शीर्ष स्थानमा
आइपिएलको पहिलो चरणमा साबिक विजेता मुम्बई इन्डियन्स नै १३औँ मा पनि शीर्ष स्थानमा छ । मुम्बईले सातमध्ये पाँच खेलमा जित निकाली अंक–तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । यसपछि दिल्ली क्यापिटल्सले सात खेलमा पाँच जित र दुई हारको सामना गरी १० अंक जोडेको छ । रोयल्स च्यालेन्जर्स बेंग्लोरले पनि १० अंक बटुलेको छ । रनरेटमा दिल्ली दोस्रो र बेंग्लोर तेस्रो स्थानमा छन् । सुरुवाती ब्याटिङमा दमदार प्रदर्शन गरेको किंग्स ११ पञ्जाब तालिकाको पुछारमा छ । पञ्जाबले सात खेलमा एक मात्र जित हात पारेको छ । ६ खेलमा हार व्यहोरेको पञ्जाब २ अंकका साथ पुछार (आठौँ) स्थानमा सीमित छ । कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स तथा साबिक उपविजेता चेन्नई सुपर किंग्स प्ले अफका लागि प्रयासरत देखिन्छन् ।

लोकेश राहुल अगाडि
किंग्स ११ पञ्जाब सहभागी टोलीमध्ये सबैभन्दा कमजोर देखिए पनि कप्तान लोकेश राहुलको ब्याट चलिरहेको छ । सात खेलमा राहुलले तीन सय ८७ रन जोडेका छन् । सर्वाधिक रन बटुलेका कारण लोकेशले ओरेन्ज क्याप हात पारेका छन् । उनले एक सतक तथा तीन अर्धसतकीय इनिङ्स खेलेका छन् । अर्को रमाइलो पक्ष के छ भने किंग्स ११ कै अर्का ओपनर मायांक अग्रवाल व्यक्तिगत रन बटुल्नेको पंक्तिमा दोस्रो स्थानमा छन् । मायांकले सात खेलमा एक सतक तथा दुई अर्धसतकीय इनिङ्सको मद्दतमा तीन सय ३७ रन बनाएका छन् ।
अंक–तालिकाको सातौँ स्थानमा रहेको चेन्नईका फाफ डु प्लेसिसले यसपटक पनि आफ्नो जादुमयी ब्याटिङ प्रभाव राखेका छन् । दुईपटक नटआउट रहेका डु प्लेसिसले तीन सय सात रन जोडेका छन् । उनी तेस्रो स्थानमा छन् । प्लेसिसले तीन अर्धसतकीय इनिङ्स खेल्दा २९ चौका र आठ छक्का लगाएका छन् ।
सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर धेरै रन बनाउने पंक्तिको चौथो स्थानमा रहँदा दुई सय ७५ रन बनाएका छन् । उनले यो सिजनमा दुई अर्धसतक खेले । पाँचौँ स्थानका जोनी वेरिस्टोले तीन अर्धसतकसहित दुई सय ५७ रन बनाए ।

सर्वाधिक विकेट लिनेमा कगिसो रवाडा
यो चरणमा दिल्लीको सफलतामा दक्षिण अफ्रिकी फास्ट बलर रवाडाको प्रदर्शन अहं मान्न सकिन्छ । उनले सातै खेलमा सहभागिता जनाउँदै १७ विकेट लिएका छन् । पहिलो चरणमा उनी धेरै विकेटले बलरको सूचीको शीर्ष स्थानमा छन् । उनले २७.४ ओभर बलिङ गर्दै दुई सय १३ रन खर्चेका छन् । मुम्बई इन्डियन्सका ट्रेन्ट बोल्ट रवाडाभन्दा ६ विकेटले पछि रहँदै दोस्रो स्थानमा छन् । बोल्टले सात खेलमा दुई सय १९ रन खर्चंदै ११ विकेट लिएका छन् । यसैगरी मुम्बईकै जसप्रित बुमराहले पनि ११ विकेट हात पारेका छन् । हैदराबादका अफगानिस्तानका लेग स्पिनर रसिद खानले १० तथा बेंग्लोरका युजवेन्द्र चाहल र किंग्स ११ का मोहम्मद सामीले १०–१० विकेट लिएका छन् ।

पाँच ब्याट्सम्यानले बनाए तीन अर्धसतक
शारजहाँ र दुबईका पिचमा बलरभन्दा ब्याट्सम्यान हाबी भएका देखिन्छन् । पावर प्ले तथा अन्तिम पाँच ओभरमा ब्याट्सम्यानहरूको स्ट्राइक अकासिएको देखिन्छ । अहिलेसम्म पाँच ब्याट्सम्यानले अर्धसतकीय इनिङ्स खेल्न सफल भएका छन् । यी पाँचै ब्याट्सम्यानले सातै खेल खेले । चेन्नईका फाफ डु प्लेसिस, किंग्स ११ का लोकेश राहुल, बेंग्लोरका देवदत्त पडिकल, बेंग्लोरका एबी डी भिलियर्स तथा हैदराबादका जोनी वेरिस्टोले तीन–तीन अर्धसतक जमाएका छन् ।

सात बलरका मेडन ओभर
टी–२० फम्र्याटमा मेडन ओभर खेल दुर्लभ मानिन्छ । यो विधाको क्रिकेटमा ब्याट्सम्यान आकर्षक स्ट्रोक लगाउने गर्छन् । टी–२० खेलमा कुनै बलरले एक मेडन ओभर गर्दा विपक्षी टोलीको रनरेट एकैपटक घट्ने गर्छ । यसैकारण टी–२० मा मेडन ओभर गर्दा ती बलरको तारिफ सर्वत्र हुने गर्छ । यो आइपिएलमा सात बलरले मेडन ओभर फ्याँकेका छन् । किंग्स ११ पञ्जाबका अर्शदीप सिंहले दुई खेलमा एक मेडन ओभर गरे । कोलकाताका शिभम मावीले पाँच खेलमा एकपटक मेडन ओभर गर्न सफल भए । हैदराबादका रसिद खान, किंग्स ११ का सेल्डन कोटरेल, बेंंग्लोरका नवदीप सैनी, हैदराबादका टी नटराज र मुम्बईका टे«न्ट बोल्टले एक–एकपटक मेडन ओभर गरेका छन् ।

डटबल फ्याँक्नेमा जोफ्रा आर्चर शीर्ष स्थानमा
१३औँ आइपिएलमा पाँच बलरले धेरै डटबल फ्याँकेका छन् । यसमा राजस्थान रोयल्सका जोफ्रा आर्चर शीर्ष स्थानमा छन् । उनले अहिलेसम्म २८ ओभरमा ८७ पटक डटबल फयाँके । दिल्लीका एनरिच नोर्टजेका २८ ओभरमा विपक्षी ब्याट्सम्यानले ७७ पटक रन नै बटुल्न सकेनन् । मुम्बईका जसप्रितले २८ ओभरमा ७६ तथा हैदराबादका रसिद खानले २८ ओभरमा ७५ पटक डटबल फ्याँके । किंग्स ११ का बोल्ट २७.२ ओभरमा ७० चोटी डटबल फ्याँक्न सफल भए ।

छक्का र चौकामा को अगाडि ? 
आइपिएलको मजा नै छक्का र चौकाको वर्षा हुनु हो । यसपटक ब्याट्सम्यानहरूले धेरै बाउन्ड्री लगाएका छन् । किंग्स ११ का निकोलास पुरनले सात खेलमा सर्वाधिक १६ छक्का लगाएका छन् । राजस्थानका सन्जु सामसनले १६ छक्का तथा राहुलले १५ छक्का ठोकेका छन् । ब्याट्सम्यानहरूले छक्का लगाएको कुरा गरिरहँदा चौकाको समेत कुरा हुनु नै पर्छ । यसमा किंग्स ११ का कप्तान लोकेश राहुल अगाडि छन् । उनले अहिलेसम्म ३७ चौका हिर्काएका छन् । किंग्स ११ कै मायांक अग्रवालले ३४ तथा मुम्बईका सूर्यकुमार यादवले ३३ चौका प्रहार गरेका छन् ।

महँगा खेलाडीको प्रदर्शन
आइपिएलको अक्सन हुँदा को खेलाडी कतिमा बिक्री भयो भन्ने चासो हुन्छ । खेल जिताउन सक्ने खेलाडीमाथि फ्रेन्चाइज टोलीले बढीभन्दा बढी भाउ राखी भित्र्याउने गर्छ । चालू आइपिएलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनी, बेंग्लोरका कप्तान विराट कोहली तथा कोलकाताका प्याट क्युमिन्स सर्वाधिक महँगा खेलाडीमा पर्छन् । यी तीनमध्ये विराटको ब्याट चलिरहेको छ । विराटले सात खेलमा दुई सय ५६ रन जोडेका छन् । १३औँ आइपिएलका लागि बेंंग्लोरले विराटलाई १७ करोड भारु खर्चेको छ । यसैगरी १५ करोड ५० लाख भारुमा कोलकातामा भित्रिएका क्युमिन्सले सात खेलमा केवल दुई विकेट मात्र लिए । १५ करोड भारुमा चेन्नईले रिटेन गरेका धोनीले सात खेलमा एक सय १२ रन मात्र जोडेका छन् ।

सस्ता खेलाडीको खेल कस्तो ?
बेंग्लोरका देवदत्त, किंग्स ११ का अर्शदीप सिंह तथा दिल्लीका हर्षल पटेल २०–२० लाख भारुमा अनुबन्धित भएका थिए । आइपिएलको अक्सनमा २० लाख भारु न्यूनतम बोली हो । देवदत्तले सात खेलमा दुई सय ४२ रन बनाएका छन् । अर्शदीपले चार खेलमा तीन विकेट लिए । हर्षलले पनि चार खेलमा तीन नै विकेट लिएका छन् ।

–नयाँ पत्रीकाको डिजिटल संस्करणबाट 
प्रकाशित : २०७७ असोज २७ गते २०:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI