आईपीएल: चेन्नईको तेस्रो जित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २८ गते ७:३९
आईपीएल: चेन्नईको तेस्रो जित

चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको हैदराबादले ८ विकेटको नोक्सानीमा १ सय ४७ रनमात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको नोक्सानीमा १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट भए । हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २–२ विकेट लिए ।

अंक तालिका 
जितसँगै चेन्नईले हैदराबादविरुद्ध बदला लिएको छ । यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो ।

जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैटौं स्थानमा उक्लिएको छ । हैदराबादको यो पाँचौ हार हो । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान १० अंक छ । कोलकाता नाइट राइडर्सको ८ अंक छ भने राजस्थान रोयल्सको ६ अंक छ । पुछारको किंगस इलाभेन पन्जाबको २ अंक मात्रै छ ।

बुधबारको खेल 
बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्नेछन् । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुकी ७ः४५ बजेदेखि हुनेछ ।

यो खेलमा पनि सन्दीप लामिछाने खेल्ने सम्भावना कम रहेको बुझिन्छ । दिल्लीबाट खेल्दै आएका सन्दीपले अहिलेसम्म एक खेल पनि खेल्न पाएका छैनन् ।

प्रकाशित : २०७७ असोज २८ गते ७:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI