आईपिएल : दिल्लीको छैठौं जित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २८ गते २३:३६
आईपिएल : दिल्लीको छैठौं जित

आईपीएल २०२० अन्तर्गत ३० औं खेलमा दिल्ली क्यापिटल्सले छैठौं जित दर्ता गर्ने क्रममा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै अंकतालिकामा शिर्ष स्थानमा उक्लेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो।

राजस्थानको लागि ओपनर बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाए जुन क्रममा ३५ बलमा ६ चौका प्रहार गरे। रोबिन उथप्पाले २७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३२ रन बनाए। सन्जु स्यामसनले २५ , जोस बटलरले २२ तथा राहुल तेवतियाले अविजित १४ रन बनाए।

बेन स्टोक्सले सर्वाधिक ४१ रन बनाए

आक्रामक सुरुवात गरेको राजस्थानको लागि स्टोक्स र बटलरले ३ ओभरमा ३७ रनको साझेदारी गरे। तेश्रो ओभरको अन्तिम बलमा बटलरलाई नोर्कियाले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा कप्तान स्टिभ स्मिथलाई रभीचन्द्रन आश्विनले आफै द्वारा क्याच गर्दै पेभेलियन फर्काए।

तेश्रो विकेटको लागि स्टोक्स र स्यामसनले ४६ रन जोडे। ११ औं ओभरमा स्टोक्सलाई डेब्यु गरिरहेका बलर तुषार देशपाण्डेले पहिलो विकेट लिने क्रममा क्याच आउट गराए। लगत्तै ओभरमा स्यामसनलाई अक्सर पटेलले बोल्ड गरे। १४ औं ओभरमा रियान परागलाई अक्षर पटेलले रन आउट गराउदै दिल्लीलाई खेलमा हावी गराए।

१३.२ ओभरमा ११०/५ को अवस्थाबाट उथप्पा र राहुल तेवतियाले टिमलाई अघि बढाए। तर २५ रनको साझेदारी गरेपछि १८ औं ओभरमा नोर्कियाले उथप्पालाई बोल्ड गर्दै दिल्लीलाई खेलमा पुनः फर्काए। उक्त ओभरमा उनले मात्र ४ रन खर्चिए जसपछि अन्तिम २ ओभरमा जितको लागि २५ रन आवस्यक रह्यो।

१९ औं ओभरमा रबाडाले उत्कृस्ट बलिंग गरे जुन क्रममा पहिलो ३ बलमा मात्र १ रन दिए भने चौथो बलमा जोफ्रा आर्चरलाई क्याच आउट गराए। ओभरमा रबाडाले मात्र ३ रन खर्चेर १ विकेट लिए।

अन्तिम ओभरमा जितको लागि २२ रन आवस्यक रह्यो। डेब्यु गरिरहेका बलर देशपाण्डेले अन्तिम ओभर बलिंग गर्ने क्रममा ८ रन मात्र खर्चिए जुन क्रममा अन्तिम बलमा श्रेयस गोपालको विकेट पनि लिए।

दिल्लीको बलिंगमा एनरिक नोर्किया ( ४-०-३३-२ ) र तुषार देशपाण्डे ( ४-०-३७-२ ) ले सर्वाधिक २ विकेट लिए। कागीसो रबाडा ( ४-०-२८-१ ) , रभीचन्द्रन आश्विन ( ४-०-१७-१ ) र अक्षर पटेल ( ४-०-३२-१ ) ले समान १ विकेट लिए।

दिल्लीको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो।

दिल्लीको लागि शिखर धवनले सर्वाधिक ५७ तथा श्रेयस ऐयरले ५३ रन बनाए। धवनले लगातार दोश्रो अर्धशतक बनाउने क्रममा ३३ बलमा ६ चौका र २ छक्का हिर्काए। उनले अघिल्लो खेलमा मुम्बई बिरुद्ध अविजित ६९ रन बनाएका थिए। ऐयरले पनि सिजनको दोश्रो अर्धशतक बनाएका हुन् जुन क्रममा ४३ बलमा ३ चौका र २ छक्का हिर्काए। ऐयरले यस अघि कोलकाता बिरुद्ध अविजित ८८ र बनाएका थिए। मार्कस स्टोइनिसले १८, एलेक्स केरीले १४ तथा अक्षर पटेलले ७ रन बनाए।

दिल्लीको सुरुवात खराब रह्यो। ओपनर पृथ्वी शलाई जोफ्रा आर्चरले पहिलो बलमै बोल्ड गरे। आर्चरले तेश्रो ओभरमा दोश्रो विकेट पनि लिने क्रममा ९ बलमा २ रन बनाएका अजिंक्य रहानेलाई उथप्पाबाट क्याच आउट गराए।

जोफ्रा आर्चरले मात्र १९ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए

१०/२ को अवस्थाबाट ओपनर धवन र कप्तान श्रेयस ऐयरले ८५ रनको साझेदारी गरे। १२ औं ओभरमा धवनलाई श्रेयस गोपालले क्याच आउट गराएर साझेदारी तोडे। त्यसपछि ऐयर र स्टोइनिसले ३७ रनको साझेदारी गरे। १६ औं ओभरमा कार्तिक त्यागिले ऐयरलाई आर्चरबाट क्याच आउट गराए। त्यसपछि १९ औं ओभरमा स्टोइनिसलाई आर्चरले तेश्रो शिकार बनाए। अन्तिम ओभरमा एलेक्स केरी र अक्षर पटेललाई जयदेव उनदकतले क्याच आउट गराए।

राजस्थानको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र २० रन खर्चिए। उनले पृथ्वी श, रहाने र स्टोइनिसको विकेट लिए। जयदेव उनदकतले २ विकेट लिए जुन क्रममा ३ ओभरमा ३२ रन खर्चिए।

कार्तिक त्यागि ( ४-०-३०-१ ) , श्रेयस गोपाल ( ४-०-३१-१ ) ले समान १ विकेट लिए। राहुल तेवतिया ( ३-०-२३-० ) र बेन स्टोक्स ( २-०-२४-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

आठौँ खेलमा ६ जित र २ हार पछि दिल्ली १२ अंक बटुल्दै पुनः लिगको शिर्ष स्थानमा उक्लेको छ। १० अंक रहेको मुम्बई इन्डीएन्स दोश्रो र समान अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै बैंगलोर तेश्रो स्थानमा रहेको छ।

हारपछि राजस्थान सातौँ स्थानमा यथावत रहेको छ। ८ खेलमा राजस्थानले ५ हार बेहोर्द मात्र ३ खेल जित्दै ६ अंक बटुलेको छ।

लिग अन्तर्गत दिल्लीले आगामी खेल चेन्नाई बिरुद्ध शनिवार खेल्नेछ भने राजस्थानले पनि चेन्नाई बिरुद्धनै सोमबार खेल्नेछ। बुधबारको खेल रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स-११ पन्जाब बीच खेलिनेछ।

प्रकाशित : २०७७ असोज २८ गते २३:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI