आईपीएल : मुम्बईको छैठौं जित, कलकत्ता ८ विकेटले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते २३:३६
आईपीएल : मुम्बईको छैठौं जित, कलकत्ता ८ विकेटले पराजित

युएईमा जारि आईपीएल २०२० अन्तर्गत छैठौं जित दर्ता गर्ने क्रममा मुम्बई इन्डीएन्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सहजै पराजित गरेको छ।

शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा कोलकाताले दिएको १४९ रनको लक्ष्य मुम्बईले मात्र २ विकेट गुमाएर १६.५ ओभरमा भेटायो।

मुम्बईको लागि ओपनर क्विन्टन डीककले सिजनको तेश्रो अर्धशतक बनाउने क्रममा अविजित ७८ रन बनाए जुन क्रममा उनले ४४ बलमा ९ चौका र ३ छक्का हिर्काए। डीककको यो लिगमा समग्रमा १३ औं तथा पछिल्लो ४ खेलमा तेश्रो अर्धशतक हो।

कप्तान रोहित शर्माले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए। हार्दिक पान्ड्याले अविजित ११ बलमा २१ रन बनाए जुन क्रममा ३ चौका र १ छक्का हिर्काए। सुर्यकुमार यादबले १० रन बनाए।

डीककले अविजित अर्धशतक बनाए

लक्ष्य पछ्याउने क्रममा डीकक र शर्मा बीच ९४ रनको ओपनिंग साझेदारी भएको थियो। ११ औं ओभरमा रोहितलाई शिभम माभीले क्याच आउट गराए। १४ औं भरमा सुर्यकुमार यादवलाई वरुण चक्रवर्तीले बोल्ड गर्दै दोश्रो विकेट दिलाए। तेश्रो विकेटको लागि डीकक र हार्दिक पान्ड्याले ३८ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।

कोलकाताको बलिंगमा वरुण चक्रवर्ती ( ४-०-२३-१ ) र शिभम माभी ( ३-०-२४-१ ) ले समान १ विकेट लिए। क्रिस ग्रिन ( २.५-०-२४-० ), आन्द्रे रसेल ( २-०-१५-० ) , प्रसिध कृष्ण ( २-०-३०-० ) र प्याट कमिन्स ( ३-०-२८-० ) विकेटविहिन रहे।

कोलकाताको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाएको थियो।

कोलकाताको लागि प्याट कमिन्सले सर्वाधिक ५३ रन बनाए जुन क्रममा ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। आईपीएलमा कमिन्सको यो पहिलो अर्धशतक हो। यस्तै नवनियुक्त कप्तान ओएन मोर्गनले २९ बलमा ३९ रन बनाए जुन क्रममा २ चौका र २ छक्का प्रहार गरे।

प्याट कमिन्सले लिगमा पहिलो अर्धशतक बनाए

कमजोर सुरुवात गरेको कोलकाताले पहिलो ५ विकेट ६१ रनको योगफलमा गुमाउन पुग्यो। शुबमन गिल २१ , राहुल त्रिपाठी ७, नितिश राना ५, दिनेश कार्तिक ४ तथा आन्द्रे रसेल १२ रन बनाएर आउट भए।

छैठौं विकेटको लागि कप्तान ओए मोर्गन र प्याट कमिन्सले उत्कृस्ट साझेदारी गरे जुन क्रममा ५६ बलमा ८७ रन बनाउदै टिमलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। यस क्रममा अन्तिम ५ ओभरमा दुवैले ५३ रन बनाए।

मुम्बईको बलिंगमा लेग स्पिनर राहुल चाहरले सर्वाधिक २ विकेट ( ४-०-१८-२ ) लिए जुन क्रममा शुबमन गिल र दिनेश कार्तिकको विकेट लिए। जस्प्रित बुम्राह ( ४-०-२२-१ ) , ट्रेन्ट बोल्ट ( ४-०-३२-१ ) , नाथन कौल्टर नाइल ( ४-०-५१-१ ) ले समान १ विकेट लिए। क्रुनाल पान्ड्या ( ४-०-२३-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि मुम्बई पुनः अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ। दिल्ली र मुम्बईको समान ८ खेलमा ६ जित र २ हार पछि समान १२ अंक रहेता पनि नेट रन रेटमा मुम्बई अघि रहेको छ। १० अंक सहित बैंगलोर तेश्रो स्थानमा छ।

हारपछि कोलकाता ८ खेलमा ४ जित र ४ हार बेहोर्दै ८ अंकसहित चौथो स्थानमा रहेको छ। समान ६ अंक रहेको हैदरावाद, चेन्नाई र राजस्थान नेट रन रेटको आधारमा क्रमशः पाचौ, छैठौं र सातौँ स्थानमा छ। ४ अंक सहित पन्जाब पुछारमा रहेको छ।

लिग अन्तर्गत मुम्बईले आगामी खेल पन्जाब बिरुद्ध आइतबार खेल्नेछ। यस्तै कोलकाताले पनि आइतबार हैदरावादसंग प्रतिस्पर्धा गर्नेछ।

शनिवार २ खेल हुँदैछन्। ३:४५ बजे बेलुका दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राजस्थान र बैंगलोर तथा ७:४५ बजे राति शारजाहमा चेन्नाई र दिल्लीले प्रतिस्पर्धा गर्नेछन्। दिल्लीले चेन्नाईलाई पराजित गरे पुनः अंकतालिकामा शिर्ष स्थानमा उक्लनेछ। चेन्नाई जितेको खण्डमा चौथो स्थानमा उक्लने सम्भावना रहेको छ।

प्रकाशित : २०७७ असोज ३० गते २३:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI