डी भिल्लीयर्सको विस्फोटक ब्याटिङ : बैंगलोरद्वारा राजस्थान पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १ गते २०:०४
डी भिल्लीयर्सको विस्फोटक ब्याटिङ :  बैंगलोरद्वारा राजस्थान पराजित

आईपीएल २०२० अन्तर्गत शनिवारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै छैठौं जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग गरेको राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले ३ विकेट गुमाएर १९.४ ओभरमा पुरा गय्रो।

बैंगलोरको लागि एबि डी भिल्लीयर्सले विस्फोटक ब्याटिंग गर्दै मात्र २२ बलमा ५५ रन बनाए जुन क्रममा १ चौका र ६ छक्का प्रहार गरे। डी भिल्लीयर्सले लिग इतिहासमा २५ या सो भन्दा कम बलमा अर्धशतक बनाएको यो १२ औं पटक हो। डेभिड वार्नरले पनि समान १२ पटक २५ वा कम बलमा अर्धशतक बनाएका छन्। लिगमा यस अघि डी भिल्लीयर्सले कोलकाता र मुम्बई बिरुद्ध अर्धशतक बनाएका थिए।

बिराट कोहलीले ४३ ( ३२ बलमा १ चौका र २ छक्का ) तथा देभदत्त पडीक्कलले ३५ रन ( ३७ बलमा २ चौका ) बनाए। यस्तै गुरकिरत मानसिंहले अविजित १९ रन बनाए।

कप्तान कोहलीले ४३ रन बनाए

ओपनर आरोन फिन्च १४ रन बनाएर लेग स्पिनर श्रेयस गोपालबाट चौथो ओभरमा क्याच आउट भएपछि अर्का ओपनर पडीक्कलले कोहलीसंग दोश्रो विकेटको लागि ७९ रनको साझेदारी गरे।

१३ औं ओभरमा पडीक्कललाई लेग स्पिनर तेवतियाले स्टोक्समार्फत क्याच आउट गराए। १४ औं ओभरको पहिलो बलमा कार्तिक त्यागिले कोहलीलाई तेवतियामार्फत क्याच आउट गराए। तेवतियाले डिप मिड-विकेट बाउन्ड्रीमा उत्कृस्ट क्याच गरे। कोहली र पडीक्कलको लगातार विकेटपछि राजस्थान खेलमा फर्कियो। डी भिल्लीयर्स र गुरकिरतले चौथो विकेटको लागि साझेदारी गर्दै टिमलाई जिततर्फ अघि बढाए।

अन्तिम २ ओभरमा जितको लागि ३५ रन आवस्यक हुँदा डी भिल्लीयर्सले जयदेव उनदकतको ओभरमा २५ रन बनाए। उनले ओभरको पहिलो ३ बलमा ३ छक्का हिर्काए भने पाँचौ बलमा चौका प्रहार गरे।

अन्तिम ओभरमा जित्न १० रन आवस्यक रहंदा जोफ्रा आर्चरको चौथो बलमा डी भिल्लीयर्सले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। डी भिल्लीयर्स र सिंहले अविजित ७७ रनको साझेदारी गरे।

राजस्थानको बलिंगमा कार्तिक त्यागि ( ४-०-३२-१ ) ,राहुल तेवतिया ( ४-०-३०-१ ) र श्रेयस गोपाल ( ४-०-३२-१ ) ले समान १ विकेट लिए। जोफ्रा आर्चर ( ३.४-०-३८-० ) र जयदेव उनदकत ( ४-०-४६-० ) विकेटविहिन रहे।

राजस्थानको ब्याटिंग 

टस जितेर ब्याटिंग रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १७७ रन बनाएको थियो।

राजस्थानको लागि कप्तान स्टिभ स्मिथले करियरको ११ औं तथा सिजनको तेश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५७ रन बनाए। उनले ३० बलमा अर्धशतक पुरा गरेका उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै ओपनर रोबिन उथप्पाले ४१ रन बनाए जुन क्रममा मात्र २२ बलमा ७ चौका र १ छक्का हिर्काए। जोस बटलरले २४, राहुल तेवतियाले अविजित १९ तथा बेन स्टोक्सले १५ रन बनाए।

राजस्थानले इनिंगको उत्कृस्ट सुरुवात गर्यो। सिजनमा पहिलो पटक आफ्नो पुरानै क्रम ओपनिंगमा आएका रोबिन उथप्पा र बेन स्टोक्सले पहिलो पटक सिजनमा टिमलाई अर्धशतकीय ओपनिंग साझेदारी गराए। स्टोक्सलाई छैठौं ओभरमा क्रिस मोरिसले विकेटकिपर डी भिल्लीयर्सबाट क्याच आउट गराउदै ५० रनको साझेदारी तोडे। पहिलो ६ ओभरमा राजस्थानले १ विकेट गुमाएर ५२ रन बनाएको थियो।

विस्फोटक ब्याटिंग गरेका उथप्पालाई आठौँ ओभरमा लेग स्पिनर युज्भेन्द्र चहलले फिन्चबाट क्याच आउट गराए। सोहि ओभरमा ६ बलमा ९ रन बनाएका सन्जु स्यामसनलाई चहलले क्याच आउट गराउदै दोहोरो सफलता दिलाए।

क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए

६९/३ को अवस्थाबाट कप्तान स्मिथ र जोस बटलरले अर्धशतकीय साझेदारी गरे। ५८ रनको साझेदारीलाई तोड्ने क्रममा १६ औं ओभरमा मोरिसले बटलरलाई सैनीमार्फत क्याच आउट गराए।

पाँचौ विकेटको लागि स्मिथ र तेवतियाले २५ बलमा ४६ रनको साझेदारी गरे। अन्तिम ओभरमा मोरिसले स्मिथलाई क्याच आउट गराए। डेब्यु गरिरहेका शाहबाज एहमदले उत्कृस्ट डाइभिङ क्याच लिए। इनिंगको अन्तिम बलमा मोरिसले जोफ्रा आर्चरको विकेट लिंदै विकेट संख्या ४ पुर्याए।

अन्तिम ५ ओभरमा राजस्थानले ५८ रन बनाउन सक्यो। यस क्रममा चहलले गरेको १८ औं ओभरमा १७ रन खर्चिए। उक्त ओभरमा २ पटक चहलले ओभर स्टेप गर्दा नो बलमा दुवै पटक स्मिथले चौका हिर्काएका थिए। १९ औं ओभरमा उदानाले १६ रन खर्चिए। २० औं ओभरमा मोरिसले मात्र ४ रन खर्चेर २ विकेट लिंदा राजस्थान विशाल योगफल बनाउन चुक्यो।

बैंगलोरको बलिंगमा क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन मात्र खर्चिए। मोरिसले स्टोक्स, स्मिथ, बटलर र आर्चरको विकेट लिए। युजभेन्द्र चहलले २ विकेट ( ४-०-३४-२ ) लिंदा शाहबाज एहमद ( २-०-१८-० ) , नभदिप सैनी ( ४-०-३०-० ) , इसुरु उदाना ( ३-०-४३-० ) र वासिंगटन सुन्दर ( ३-०-२५-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

बैंगलोरले आगामी खेल कोलकाता बिरुद्ध बुधबार तथा राजस्थानले सोमबार चेन्नाई बिरुद्ध खेल्ने तालिका रहेको छ। बैंगलोरले मुम्बई र दिल्लीसंग अंक बराबरी गरेको छ। तिन वटै टिमको समान १२ अंक रहेको छ तर नेट रन रेटमा अघि रहँदै मुम्बई पहिलो, दिल्लो दोश्रो र बैंगलोर तेश्रो स्थानमा रहेको छ। बैंगलोरले ९ खेलमा ६ जित र ३ हार बेहोरेको छ भने दिल्ली र मुम्बईले ८ खेलमा ६ जित र २ हार बेहोरेको छ।

हारपछि राजस्थान सातौँ स्थानमा यथावत रहेको छ। ९ खेलमा ३ जित र ६ हार पछि राजस्थानको ६ अंक रहेको छ। समान ६ अंक रहेता पनि हैदरावाद र चेन्नाई नेट रन रेटमा अघि रहेका छन्।

लिग अन्तर्गत बैंगलोरले आगामी खेल कोलकाता बिरुद्ध बुधबार तथा राजस्थानले सोमबार चेन्नाई बिरुद्ध खेल्नेछ।

प्रकाशित : २०७७ कार्तिक १ गते २०:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI