साथीको हत्याको ११ वर्षपछि दिल्लीमा समाइए मामा- भाञ्जा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १ गते २०:२३
साथीको हत्याको ११ वर्षपछि दिल्लीमा समाइए मामा- भाञ्जा

नेपालगञ्ज । इँटाभट्टामा काम गर्ने आफ्नै साथीको हत्या गरी ११ वर्षदेखि फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुर भीमफेदी नगरपालिक-८ का ५१ वर्षीय भीमसेन गाहामगर र ३० वर्षीय रामकृष्ण चुनी मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। फरार अभियुक्त खोजी सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले दुवैलाई बाँके नेपालगञ्ज उपमहानगरपालिक-(१५ जमुनाबाट पक्राउ गरेको हो।

उनीहरूले २०६६ वैशाख २८ गते ललितपुर गोदावरी नगरपालिका-१३ को आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भीमफेदी ८ का ३६ वर्षीय दिलबहादुर योञ्जनको हत्या गरेका थिए। योञ्जनलाई उनी सुत्ने कोठाबाहिर कोदालीको बिँड प्रहार गरी हत्या गरिएको थियो।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुल थापाका अनुसार घटनापछि दुवै अभियुक्त ललितपुरबाट पैदलै हेटौंडा गई रक्सौल नाका हुँदै नयाँदिल्ली पुगेका थिए। दिल्ली गएर उनीहरूले आफ्नो वास्तविक नाम परिवर्तन गरी भारतीय आधारकार्ड बनाएर बसेका थिए।
दिल्लीमा रामकृष्ण प्लाष्टिक कारखाना र भीमसेन अटो रिक्सा चलाएर बसिरहेका थिए। उनीहरू नातामा मामा-भाञ्जा हुन्।

‘उनीहरूले आफ्ना श्रीमती र छोराछोरीसमेत उतै लगेर राखेका थिए,’ थापाले भने, ‘विशेष सूचनाका आधारमा सम्पर्क, सम्बन्ध र निरन्तरको निगरानीपछि उनीहरूलाई ब्युरोले पक्राउ गर्न सफल भयो।’

उनीहरूको सम्पर्क सूत्र पत्ता लगाउने क्रममा ब्युरोको टोलीले भारतीय प्रहरीसँग सहकार्य गरेको थियो। सो सहकार्यका आधारमा दुवैलाई भारतीय प्रहरीसँगको समन्वयमा बाँकेसम्म ल्याउने व्यवस्था मिलाएको थियो।

दुवैलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त चापागाउँको जिम्मा लगाइएको छ। हत्या भएका व्यक्ति र मामा-भान्जा एउटै ठाउँका हुन्।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार मामा भीमसेनले थर गाहामगर हटाएर थापा बनाएर आधार कार्ड लिएको देखिएको छ भने भाञ्जा रामकृष्णले आफ्नो नाम परिवर्तन गरी श्यामलालको नाममा आधार कार्ड बनाएको देखिएको छ। दुवैले आवेशमा साथीको हत्या गरेको बयान दिएका छन्।

प्रकाशित : २०७७ कार्तिक १ गते २०:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI