स्कारपियो भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २ गते ८:४४
स्कारपियो भीरबाट खस्दा  पाँच जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

उदयपुर, २ कार्तिक । उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भीरबाट स्कारपिओ खस्दा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।

गए राति भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार भैरहवाबाट ओखलढुङ्गा जाँदै गरेको बा २०प ७१७१ नम्बरको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा भीरबाट खसेको हो ।

स्कारपिओ सकडबाट झण्डै एक किलोमिटर तल खसेको डीएसपी गौतमले जानकारी दिएका छन् । मृतकमध्ये ओखलढुङ्गा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको पहिचान खुले पनि अन्यको पहिचान खुलेको छैन । गाडी ब्रेकफेल भएर सडकबाट खसेको आशंका गरिएको छ ।

घाइते हुनेमा ओखलढुङ्गा मानेभञ्याङकै कुमारी सार्की, कल्पना सार्की र चालक पवन खड्का छन् । मृतक र घाइते आफन्त भएको खुलेको छ । उनीहरु दशैं मान्नका लागि घर जान लागेको अवस्थामा दुर्घटना भएको बताइएको छ । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

प्रकाशित : २०७७ कार्तिक २ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI