कोरोनाका कारण सीमित ठाउँमा मूर्ति स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २ गते १७:३२
कोरोनाका कारण सीमित ठाउँमा मूर्ति स्थापना

परासी, २ कात्तिक: बडा दशैँको शुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा दुर्गा भवानीका मूर्ति जथाभावी स्थापना कार्यलाई नियन्त्रण गरिने भएको छ । विगत वर्षमा जस्तो टोलटोलमा नभई सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी पूजाको तयारी गरिएको छ ।

कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले चोक चोकमा मूर्ति स्थापना गरेर भीडभाड गर्न रोक लगाएको छ । नेपाल–भारत सीमा बन्द हुँदा यस पटक भारतबाट मूर्ति आयात गरिएको छैन । जिल्लामा मूर्तिको अभाव देखिएको छ ।

नवलपरासीलगायत तराईका जिल्लामा घटस्थापनादेखि नै विभिन्न चोक र टोलमा अस्थायी रुपमा दुर्गा भवानीका माटोका मूर्ति स्थापना गरेर सामूहिक रुपमा नवरात्रभर पूजाअर्चना गर्ने गरिन्छ । बिहान र साँझ पूजाअर्चना गरिनाका साथै दिनभर भजन बजाउने गरिन्छ । नेपालमा दक्ष कालिगड अभावका कारण बर्षेनी भारतबाट सयौँ मूर्ति आयत गरिँदै आएको छ ।

यस पटक भारतबाट मूर्ति आयात गर्न नपाउँदा नेपालका कालिगडले बनाएका मूर्ति धमाधम बिक्री भइरहेका छन् । कोरोना भाइरसको जोखिमका कारण भारतबाट कालिगड ल्याएर थोरै मात्रामा मूर्ति निर्माण गरिएको पाल्हीनन्दन गाउँपालिका–५ का रामप्यारे मौर्यले बताए । विगत १५ वर्षदेखि मूर्ति बनाउने पेसामा संलग्न मौर्यले दुई वर्षयता भने आफ्नै घरमा कालिगड मगाएर मूर्ति बनाउँदै आएका छन् ।

मूर्ति बेचेरै वार्षिक रु चार लाख बचत हुने गरेको उनले बताए । चार स्थानीय कालिगड राखेर गत जेठदेखि नै मूर्ति बनाउन शुरु गरेको मौर्यको भनाइ छ । उनले भने, “एक सेट मूर्ति रु २० हजारदेखि रु ४० हजारसम्ममा बिक्री हुन्छ ।,” बनाएका मूर्ति सबै बिक्री भएकाले अन्य धेरै ठाउँबाट आएका ग्राहकलाई फर्काउनु परेको उनले बताए ।

यस्तै पाल्हीनन्दन–१ का अनिल कोंहारलाई पनि अहिले मूर्ति बेच्न भ्याइनभ्याई छ । पहिला भारतबाट आयात गरिने सस्तो मूर्तिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेकामा अहिले आफूले बनाएका मूर्ति धमाधम बिक्री भइरहेको उनले बताए ।

“यस वर्ष मैले ३५ मूर्ति बनाएको थिएँ, सबै बिक्री भयो” उनले भने । मूर्ति बेचेर उनले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । चार वर्षदेखि उनले घरमै मूर्ति बनाउँदै आएका छन् ।

यसैगरी मूर्तिको माग बढ्दै गएपछि पाल्हीनन्दन–५ का धर्मेन्द्र हरिजनले गत वर्षदेखि आफै मूर्ति बनाउन थालेका छन् । मूर्ति बनाउन आवश्यक माटो, बाँस तथा सजावटका सामान ल्याइ घरमा एक्लै मूर्ति बनाएर बेच्ने गरेको उनले बताए । गत वर्ष पाँच मूर्ति बनाउँदा सबै बिक्री भएपछि अहिले ११ मूर्ति बनाएको हरिजनले बताए । थोरै लागतमा मनग्य आम्दानी गर्न सकिने उनले बताए । पश्चिम नवलपरासीको हकुई, विष्णुपुरा, गेरमा, महेशपुर बड्की सुनरी, बेलाटारी, गुठिप्रसौनीलगायत स्थानमा व्यावसायिक रुपमा मूर्ति निर्माण गरिँदै आएको छ ।-रासस

प्रकाशित : २०७७ कार्तिक २ गते १७:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI