असई विकसँगै जवानको पनि हत्या गरेको अभियुक्तको बयान ! हत्यारासम्म पुग्यो प्रहरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ४ गते ८:४७
असई विकसँगै जवानको पनि हत्या गरेको अभियुक्तको बयान ! हत्यारासम्म पुग्यो प्रहरी

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परे पनि प्रहरी जवान साउँदको अवस्था भने अज्ञात छ । अनुसन्धानमा क्रममा प्रहरीले १५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये ६ जना घटनामा संग्लन भएको प्रहरी दाबी छ ।

घटनामा संग्लन रहेका एकजनाले प्रहरीलाई दिएको साविति बयानलाई उद्धृत गर्दै ती अधिकारीले भने,“हामीले नेपालबाट सामान भारत तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरे । अवरोध गरेपछि सुरुमा प्रहरी जवान साउँदमाथी आक्रमण गर्‍यौँ । घेरा हालेर असईमाथि आक्रमण गर्‍यौँ । सुरुमा जवानको हत्या गर्‍यौँ । उनलाई पनि मोहना नदीमा फाल्यौं । त्यसपछि असईको पनि हत्या गरेर मोहनामै फालेका हौं ।”

घटनास्थलमा साउँदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो । विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो  ।   प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।

आइतबारदेखि प्रहरी टोली र स्थानीय साउँदको खोजीमा लागेका छन् । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भने,“हामी अभियुक्तको नजिक पुगिसकेका छौं । केही पक्राउ पनि परेका छन् । सामूहिक रुपमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ । तस्करको काममा अवरोध गर्दा आक्रमण भएको हो । छिट्टै सबै अभियुक्तलाई सार्वजनिक गर्छौँ ।”

केही दिनअघि असई विकको टोलीले सोही नाका भएर अवैध रुपमा नेपाल भित्रिँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । प्रहरीमाथि आक्रमण भएको क्षेत्र आपराधिक गतिविधि हुने क्षेत्र मानिँदै आएको छ । मोहना नदीले नेपाल–भारतको सीमा छुट्याएको छ ।   वितगमा पनि नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपाल पस्ने गरेको पाइएको प्रहरी अधिकारी बताउँछन् ।

सो क्षेत्रबाट तस्करले अवैध सामान मोहना नदी तरेरै नेपाल भित्त्र्याउने गरेका छन् । बाह्रखरी अनलाइन बाट

प्रकाशित : २०७७ कार्तिक ४ गते ८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI