गैंडा जोगाउनै गाह्रो

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ६ गते १७:५६
गैंडा जोगाउनै गाह्रो

पिठौली (नवलपुर) — एकसिंगे गैंडा, बाघ र गिद्ध संरक्षणका उपलब्धि र चुनौतीबारे गफिन रुचाउने पिठौलीका संरक्षणकर्मी डीबी चौधरी यसपटक निराश भेटिए । निकुञ्ज प्रशासनले वन्यजन्तु संरक्षणमा समुदायलाई अग्रसर गराउन चासो नदिएकामा उनको मुख्य असन्तुष्टि थियो । ‘पहिला युवाहरू गैंडा संरक्षणमा अहोरात्र खटिन्थे,’ चौधरीले सुनाए, ‘अहिले पहिलाको अवस्था छैन, निकुञ्जले जनतालाई हेर्ने दृष्टिकोण बदलिएको छ, सहकार्यको भावना बिस्तारै हराउँदै गएको छ ।’ निकुञ्ज प्रशासन, सेना, समुदाय र युवाको सक्रियताका कारण विगतमा गैंडा, बाघलगायत वन्यजन्तु जोगिएको बुझाइ चौधरीको छ ।

भदौ १६ गते पिठौलीका स्थानीयले पारिपट्टिको निकुञ्जको गोलाघाट क्षेत्र (साबिकको आइल्यान्ड होटल भएको स्थान) मा गोली पड्केको आवाज सुने । ‘दिउँसै लगातार तीनवटा गोली पड्किएको आवाज सुनियो,’ निकुञ्जको लामीचौर मध्यवर्ती उपभोक्ता समिति, नवलपुरका अध्यक्ष वासु पौडेलले भने, ‘गएर हेर्दा गैंडा मरेको देखियो, सिकार कसले गर्‍यो त्यो अहिलेसम्म पत्ता लाग्न सकेको छैन

।’पौडेलका अनुसार यो क्षेत्रमा ११ वर्षपछि गोली हानेर गैंडा मारिएको हो । विद्युतीय तारबार, पानीका घोल र अन्य कारणले एक–दुइटा गैंडा मरे पनि तस्करको निसानामा गैंडा पर्न छाडेका थिए । गोली लागेर रन्थनिएको त्यो गैंडा पानीको घोलमा छिरेपछि तस्करले खाग निकाल्न सकेका थिएनन् । बस्तीनजिक र निकुञ्जको सुरक्षा पोस्टबाट गस्ती टोली आउन सक्ने बुझेर तस्करको समूह ढलेको गैंडालाई यत्तिकै छाडेर भागेको थियो ।

चितवन निकुञ्जमा १२४९ दिनको अन्तरालपछि तस्करले गैंडा मारेका हुन् । यसअघि २०७३ चैत २५ मा तस्करहरूले निकुञ्जअन्तर्गत बेलहट्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा वयष्क गैंडा मारेका थिए ।

लामीचौर मध्यवर्ती उपभोक्ता समितिका सामुदायिक वनमा एकैपटक दर्जनभन्दा बढी गैंडा हेर्न सकिने भएकाले केही वर्षयता पर्यटक भित्रिने क्रम बढेको थियो । तर, कोभिड–१९ का कारण जंगल सफारीका लागि ख्याति कमाएको यस क्षेत्रका सामुदायिक वन यस वर्ष सुनसान छ ।खलबलियो वासस्थान

राष्ट्रिय निकुञ्ज विभागका पूर्वमहानिर्देशक श्याम बजिमयका अनुसार चितवन निकुञ्जमा गैंडाले मन पराउने घाँसे मैदान घटेका छन् भने पानीका घोल, ताल–तलैयाजस्ता आश्रयस्थलको अवस्था खस्कँदो छ ।

‘गैंडाले रुचाउने घाँसको मात्रा घटेको देखिन्छ,’ उनले भने, ‘उसले नखाने माइकेनिया म्याकारान्थाजस्ता मिचाहा प्रजाति बढिरहेको छ, त्यसैले घाँसकै लागि गैंडालाई चुनौती थपिएको छ ।’ नदी तटीय क्षेत्रमा रमाउने गैंडाले बढीजसो काँस रुचाउँछ । ‘पानीका घोल पनि ढाक्दो क्रममा छन्,’ उनले भने, ‘बाढीका कारण विगतका घाँसे मैदान बगरमा परिणत भइरहेका छन् ।’

विगतमा पानीका घोल र घाँस मात्र भएको स्थानमा अहिले खयर र सिसौ प्रजातिका रूख बढिरहेका छन् । बाढी गएको स्थानमा पहिलो चरणमा हुर्कने भनेकै खयर र सिसौ प्रजाति हुन् । त्यो हुनु भनेको गैंडाको बासस्थल खुम्चिन सुरु हुनु हो ।

राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट हरिभद्र आचार्य पनि गैंडाका लागि चितवन निकुञ्जमा चुनौती थपिइरहेको बताउँछन् ।

‘मुख्य चुनौती भनेकै गैंडाले मन पराउने घाँसे मैदान र सिमसारमा विखण्डन आउनु हो’, उनले भने, ‘निकुञ्जभित्र भएर बग्ने नदी र सिमसारहरू बाढी–पहिरोपछि बगेको गेग्रानले पुरिइरहेका छन्, काँस भएका घाँसे मैदान मिचाहा प्रजातिले ढाकेको छ । सँगै वर्षात्को पानीको प्राकृतिक बहावमा पनि फेरबदल आएको छ, त्यसले बासस्थललाई खल्बल्याइरहेको छ ।’

९५२.६३ वर्ग किलोमिटरमा फैलिएको चितवन निकुञ्जमा गैंडाले मन पराउने घाँसे चौरको मात्रा कम छ । ‘गैंडाले कमलो खालको घाँसे मैदानबाट आहार पूर्ति गर्ने हो,’ जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख तथा वन्यजन्तुविद् बाबुराम लामिछाने भन्छन्, ‘चितवनमा घाँसभन्दा झाडी धेरै भयो, त्यही भएर गैंडाले पर्याप्त मात्रामा आहार पाउन सकेका छैनन् ।’

निकुञ्जभित्र १० हजार हेक्टर घाँसे मैदान छ भनिए पनि त्यसको सही ढंगले व्यवस्थापन नहुँदो पोसिलो घाँस अन्य प्रजातिको झाडी र ढड्डीले ढाकेको अवस्था छ । ‘त्यसैले मनसुन सकिएलगत्तै त्यस्तो झाडी काटेर नयाँ घाँस पलाउने वातावरण मिलाउनुपर्छ,’ लामिछानेले भने, ‘गत वर्ष ढिलो गरी घाँसै मैदानको व्यवस्थापन हुँदा गैंडाले रुचाउने कमलो किसिमको घाँस पर्याप्त मात्रामा हुन सकेन ।’

एकसिंगे गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली र नरेश सुवेदी तथा अर्का वन्यजन्तुविद् लामिछानेको अध्ययनअनुसार चितवन निकुञ्जमा बर्सेनि दुई प्रतिशतका दरले गैंडाको आहार– घाँसे मैदान, पानीका घोल र तालतलैया विनाश भइरहेका छन् ।

‘माइकेनिया म्याकारान्था’ नामक मिचाहा वनस्पति फैलादा गैंडाले मन पराउने घाँसे प्रजाति र पानीका घोल छोपिएका छन् । त्यसको प्रत्यक्ष असर गैंडाको विचरणमा परेको उनीहरूको विश्लेषण छ । चितवन निकुञ्जमा सन् १९७० को दशकमा कुल क्षेत्रफलको २० प्रतिशत रहेको घाँसे मैदान सन् २०१५ मा ९.६१ प्रतिशत (कोर एरियामा) र मध्यवर्ती क्षेत्रमा २.०६ प्रतिशतमा खुम्चिएको छ ।विज्ञहरूका अनुसार एउटै क्षेत्रमा गैंडाको संख्या वृद्धि, बासस्थान क्षय र आहार अभावले गैंडाबीच बाँच्नका लागि आन्तरिक प्रतिस्पर्धा बढेको छ । पूर्वमहानिर्देशक बजिमय पनि सौराहाभन्दा पूर्वी भागमा गैंडाको विचरण घटेको बताउँछन् । ‘सौराहाभन्दा पूर्वतिरको बासस्थल सुक्खा देखिन्छ,’ उनी भन्छन्, ‘त्यसैले त्यस क्षेत्रका गैंडा उपयुक्त बासस्थल र घाँसे मैदानको खोजीमा पश्चिमतिर सिफ्ट भएका छन् । यस्तो किन भइरहेको हो भनेर विस्तृत अध्ययन आवश्यक देखिन्छ ।’

निकुञ्जको मुख्यालय, कसराभन्दा पश्चिम क्षेत्रको बासस्थलको तुलनामा पूर्वी क्षेत्रको बासस्थलमा विभिन्न कारणले बढ्ता क्षयीकरण भइरहेकाले पनि घाँसे मैदान र पानीका घोलहरू हराइरहेका छन् ।

‘बर्खाका बेलामा पनि घाँसे मैदानमा पानी भिजिन पाएन, बरु भएकै ह्याबिट्याट पनि कटानले साँघुरिरहेको छ’, बजिमयको विश्लेषण छ, ‘घाँसे मैदान सीमित हुने र वन्यजन्तु बढ्ने हो भने ब्यालेन्स मिल्दैन र आहारका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।’

निकुञ्जले भने केही वर्षयता घाँसे मैदान व्यवस्थापनलाई जोड दिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् । उनले भने, ‘घाँसे मैदान बिस्तार गर्ने र पानीका घोल व्यवस्थापन गर्ने दुवै काम प्राथमिकतामा छन् ।’

जलवायु परिवर्तन नयाँ चुनौती

बाढी–पहिरोसँगै चरम मौसम (एक्स्ट्रिम वेदर) र डढेलोका कारण पनि चितवन निकुञ्जमा असर परिरहेको जानकारहरूको विश्लेषण छ । जलवायु परिवर्तनले एकसिँगे गैंडामा पारेको असरबारे अस्ट्रेलियाको युनिभर्सिटी अफ साउदर्न क्विन्स्ल्यान्डबाट विद्यावारिधि गरिरहेका वन तथा वातावरण मन्त्रालयका उपसचिव गणेश पन्त नेपालका गैंडाहरू जलवायु परिवर्तनको जोखिममा पर्न सक्ने थुप्रै कारणहरू औंल्याउँछन् ।

‘जलवायु परिवर्तनका कारण मिचाहा प्रजातिका वनस्पति बढ्ने सम्भावना अत्यधिक छ’, आफ्नो अध्ययनमा पन्त लेख्छन्, ‘तापक्रममा आउने फेरबदलले पनि गैंडा, अन्य प्रजाति र यसको बासस्थानलाई गम्भीर असर पुर्‍याउने देखिन्छ ।’जलवायुजन्य विपद् बढ्दै जाँदा उत्पन्न हुने बाढीका कारण गैंडालगायतका प्रजातिको संख्यामै फेरबदल ल्याउन र बासस्थानसमेत बिथोल्न मद्दत पुग्ने पन्तको विश्लेषण छ । ‘लामो समयसम्म खडेरी भइरह्यो भने पनि बासस्थानमा समस्या निम्तिन सक्छ’, उनी उल्लेख गर्छन्, ‘सँगै डढेलोले पनि ठूलो प्रकोप निम्त्याउन सक्छ ।’

निकुञ्जभित्र उपयुक्त बासस्थान अभावले राम्रो बासस्थान र आहारको खोजीमा गैंडा मानवबस्तीमा छिर्‍यो भने मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्न सक्ने उनको विश्लेषण छ । जलवायु परिवर्तनका कारण गैंडालगायतका वन्यजन्तुको जीवनचक्र र सन्तान उत्पादनमै पनि असर गर्न सक्ने सम्भावना रहेको उनको चेतावनी छ ।

पछिल्ला केही वर्षयता चितवन निकुञ्जका गैंडा मनसुनका बेला आउने बाढीले बगाएर भारतसम्मै पुर्‍याउने क्रम बढिरहेको छ । २०७४ को मनसुनमा बाढीले चितवनबाट १० वटा गैंडा बगाएर भारतको संरक्षित क्षेत्रमा पुर्‍याएको थियो । यो वर्ष पनि केही गैंडा बाढीले बगाउने क्रममै मृत भेटिएका छन् ।

चितवन निकुञ्जका सूचना अधिकारीसमेत रहेका सहायक संरक्षण अधिकृत अशोककुमार रामका अनुसार चालु आवको साउनदेखि कात्तिक ५ गतेसम्म ९ वटा गैंडा मरेका छन् । साउनमा १, भदौमा २ र असोजमा ६ वटा गैंडा मरेका हुन् । तीमध्ये एउटा तस्करले गोली हानेर मारेका हुन् । निकुञ्जका अनुसार २०५५ सालदेखि २०७७ कात्तिकसम्म प्राकृतिक कारणले ३४९, चोरी सिकारबाट १७४ र अप्र्राकृतिक कारणले १३ वटा गैंडा मरेका छन् ।द्वन्द्वकालमा २०५८ देखि २०६२ सालसम्म सुरक्षा पोस्टहरू संकुचन भएको फाइदा उठाउँदै तस्करहरूले धेरै गैंडा मारेका थिए । एउटै आर्थिक वर्षमा सिकारीले ३७ वटासम्म गैंडा मारेको देखिन्छ । जसका कारण सन् २००५ मा पर्सादेखि शुक्लाफाँटासम्म जम्मा ४०९ मात्र गैंडा भेटिएका थिए, तीमध्ये चितवनमा ३७२ गैंडा थिए ।

सन् २०१५ को गणनाअनुसार पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटामा गरी ६४५ गैंडा छन् । सन् १९५० ताका ८ सयको हाराहारी रहेका गैंडा सन् १९६५–७० मा १ सयमा झरेका थिए । त्यतिबेला नै चितवन निकुञ्ज बनाएर गैंडाको संरक्षण थालिएको थियो ।

गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली भने गैंडाको प्राकृतिक मृत्युलाई मात्रै त्यतिसारो चिन्ता गर्नु नपर्ने बताउँछन् । ‘मुख्य कुरा रोगब्याधि, विषादी र चोरी सिकार हो कि होइन भनेर हेर्नुपर्छ’, उनको तर्क छ, ‘करोडौं वर्षअघि उत्पन्न भएको जीव भएकाले गैंडाले धेरै खालका उतार चढावको सामान गरेको हुन्छ ।’ एउटा गैंडाको विचरण गर्ने क्षेत्र (होमरेन्ज) ३ देखि ५ वर्गकिलोमिटर हो । ५ वर्षअघिको गणनाअनुसार चितवन निकुञ्जमा मात्र ६ सय ५ गैंडा छन् । यो बीचमा दुई पटक चितवनबाट बर्दिया र शुक्लाफाँटा निकुञ्जमा गैंडा स्थानान्तरण गरिएको छ ।

चितवन निकुञ्जले कति गैंडा थेग्न सक्छ (क्यारिङ क्यापासिटी) भनेर अध्ययन भए पनि अहिलेसम्म त्यसको प्रतिवेदन सार्वजनिक भइसकेको छैन । चितवनले थेग्न सक्ने बाघको संख्या भने यकिन भइसकेको छ । गैंडाको क्यारिङ क्यापासिटी अध्ययनमा डब्लूडब्लूएफ नेपालले नेतृत्व गरेको थियो । त्यसको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

गैंडाले रुचाउने निकुञ्जभित्रको नदी तटीय क्षेत्र केही मात्रामा सुरक्षित छ । तर, बाहिरको मध्यवर्ती क्षेत्र र निकुञ्ज आसपास र माथिल्लो तटीय क्षेत्रमा विकास निर्माणका गतिविधि बढ्दा त्यसको असर तल्लो तटीय क्षेत्रसम्मै पर्न गएको जानकारहरू बताउँछन् ।

‘तल्लो तटीय क्षेत्र सुरक्षित भएर मात्र हुँदैन’, ज्ञवालीले भने, ‘निकुञ्जबाहिर पनि संरक्षणसम्बन्धी चेतनाको स्तर बढाउनुपर्‍यो, माथिल्लो तटीय क्षेत्रका विकास निर्माण वातावरणमैत्री बनाउनुपर्छ ।’कार्ययोजना कार्यान्वयन भएन

सरकारले तीन वर्षअघि एकसिंगे गैंडाको प्रभावकारी संरक्षणका लागि झन्डै ५६ करोड खर्चिने गरी पाँचवर्षे कार्ययोजना (सन् २०१७–२०२१) घोषणा गरेको थियो, तर, त्यो कार्ययोजनामा गर्ने भनिएअनुसारको काम हुन सकेको छैन ।

एकसिंगे गैंडा संरक्षणमा देखिएका मुख्य चुनौती सामना गर्ने लक्ष्य समेटेर दोस्रो पटक उक्त कार्ययोजना अघि सारिए पनि त्यसमा गर्ने भनिएका धेरै काम अहिलेसम्म सुरु नभएका हुन् ।

‘घाँसे मैदान र पानीका घोलको निर्माणलाई व्यापक बनाउने भनिएको थियो, त्यो स्तरमा काम भएको देखिन्न’, विभागका पूर्वमहानिर्देशक तथा कर्णाली प्रदेशको वन मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले भने, ‘अब ढिला भइसक्यो ।’

उक्त कार्ययोजनामा गैंडाको बासस्थानका साथै घाँसे मैदान व्यवस्थापन र मिचाहा प्रजातिका बिरुवा व्यवस्थापनमा जोड दिने भनिएको थियो । ‘बासस्थान सुधार गर्न सकिए मात्र गैंडा जोगाउन सकिन्छ भन्ने अध्ययन गरेर नै कार्ययोजना बनाइएको हो’, कार्ययोजना बनाउँदा विभागमा महानिर्देशक रहेका मनबहादुर खड्काले भने, ‘सहयोगी दातृ निकायहरूले जुन हिसाबले आर्थिक सहयोग गर्नुपर्ने हो त्यो हिसाबले काम नभएपछि कार्ययोजना कार्यान्वयन हुन सकेन ।’

सहयोगी संस्थाहरूबाट सहयोग नभएपछि पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म वन्यजन्तुको बासस्थान र घाँसे मैदान सुधार तथा गैंडा गणनाका लागि अर्थ मन्त्रालयबाट रकम निकासा गरे पनि कोभिड–१९ का कारण धेरै काम रोकिएको खड्काले बताए ।

डब्लूडब्लूएफ नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) ले वन्यजन्तु संरक्षणमा सरकारलाई सहयोग गरिरहेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले वन्यजन्तु अनुसन्धानमा सहयोग गरिरहेको छ ।निकुञ्ज विभागका महानिर्देशक प्रेमनारायण कँडेल गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारणबारे अध्ययन भइसकेकाले अब त्यसलाई न्यूनीकरण गर्न चाल्नुपर्ने कदम अघि बढाइएको बताउँछन् । ‘गैंडा बग्नेक्रम पनि बढेको देखियो र बासस्थल नै परिवर्तन गरेको पनि देखियो’, कँडेलले भने, ‘मरेको धेरै दिनपछि गैंडा भेटिन थालेपछि अहिले निकुञ्जको भित्रिभागमा स्विप अपरेसन सुरु गरिएको छ, गस्ती पनि प्रभावकारी पारिएको छ ।’

के छ कार्ययोजनामा ?

कार्ययोजनामा निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रमा सुरक्षित बासस्थान क्षेत्र बढाउने, घाँसे मैदान तयार गर्ने, पानीका घोल तयार गर्ने, घाँसे क्षेत्र डढेलोबाट जोगाउने, मध्यवर्ती क्षेत्रमा अलग्गै चरन क्षेत्र विकास गर्ने, मिचाहा प्रजातिका बिरुवा रोक्ने र अतिक्रमण हटाएर बासस्थान बढाउने र गैंडाको संख्या ८ सय पुर्‍याइनेलगायत कार्यक्रम छन् ।

मिचाहा प्रजातिको बिरुवा (माइकेनिया म्याकारान्था) का कारण चितवन निकुञ्जको घाँसे मैदान र पानीका घोल क्षेत्र घट्दै गएको छ । त्यसको प्रत्यक्ष असर गैंडाको जन्मदरमा परेको विशेषज्ञहरू बताउँछन् । कार्ययोजनामा मानव–गैंडा द्वन्द्व घटाउने कार्यक्रमलाई समेत कार्ययोजनामा समेटिएको छ । जनताको बाली जोगाउन विद्युतीय बार लगाउने, स्थानीयलाई रोजगारीका वैकल्पिक स्रोत पहिचान गरी सहयोग गर्ने, गैंडाबाट बचाउन वैकल्पिक बालीको विकास गर्ने, सरकारबाट दिइने क्षतिपूर्ति र राहतलाई प्रभावकारी बनाउने, स्थानीयलाई वन्यजन्तुको आनीबानीसम्बन्धी चेतना फैलाउनेलगायत कार्यक्रम पनि छन् ।

‘प्राकृतिक स्रोतमा आधारित पर्यटन प्रवर्द्धनमा विशेष जोड दिइनेछ,’ कार्ययोजनामा छ, ‘गैंडाबाट पीडित बनेका परिवारलाई शिक्षा र जीविकोपार्जनका लागि सहयोग गरिनेछ ।’ कार्ययोजनामा समुदायस्तरमा वन्यजन्तुबाट पीडित बनेकालाई सहयोग गर्न अलग्गै कोषको स्थापना गर्नेसमेत छ ।

(यो समाचार अब्दुल्लाह मिया र नारायण शर्माले ईकान्तिपुरमा लेखेका छ्न ।)

प्रकाशित : २०७७ कार्तिक ६ गते १७:५६
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI