भारतीय सेनाध्यक्ष कार्तिक १९ गते नेपाल आउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ११ गते १९:५६
भारतीय सेनाध्यक्ष कार्तिक १९ गते नेपाल आउने

काठमाडौं। कार्तिकमा हुने तय भएको भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण कार्तिक १९ गतेदेखि तय भएको छ । यसअघी नेपाली सेनाले नरवणेको नेपाल भ्रमणबारे दशैंअघी पहिलोपटक औपचारीक रुपमा जानकारी गराएको थियो। पहिलोपटक सेनाको जनसम्पर्क निर्देशनालयले गते नतोकेपनि कार्तिकमा हुने भनिएको भ्रमणको बारेमा वक्तव्य जारी गरेरै जानकारी गराएको थियो । १९५० देखि शुरू भएको एक पुरानो परम्पराको निरन्तरताका लागि पनि उनी काठमाडौं आउन लागेका हुन् । त्यसबेलादेखि दुई देशका सेनाध्यक्षलाई एक अर्को देशको मानार्थ महारथीको दर्जा दिने परम्परा छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेले मानार्थ महारथी ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

adv
adv

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र  छलफल  गर्नेछन् । कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए । भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पणका साथै जङ्गीअड्डामा सम्मान गारद निरीक्षण गर्नेछन्। जनरल नरवणेको भ्रमण दल चार सदस्यीय हुनेछन्।

adv
adv
adv

नरवणेको नेपाल भ्रमणका बारेमा सेनाले सो जानकारी दिएपनि भारतीय कतिपय सञ्चार माध्यमले भने उनको भ्रमणका बेला हुने छलफलका बिषयमा समाचार प्रकाशित गरेका छन् । भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’ले सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको मिति तय भएको र भ्रमणको क्रममा दुई देशको सीमा विवादबारे समेत छलफल हुने जनाएको छ । ‘दुई देशको सीमामा देखिएको समस्याबारे छलफल हुनेछ’, भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’मा उल्लेख छ ।

adv
adv

‘द प्रिन्ट’का अनुसार नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग १८ सय किलोमिटर लामो सीमाको ब्यवस्थापनका पक्षहरुमा महत्वपूर्ण छलफल गर्ने कार्यसूचि रहेको छ । भारतीय सेनाध्यक्षले कात्तिक १९ देखि २१ गतेसम्म नेपालको भ्रमण गर्ने मिति टुंगो लागेपछि ‘द प्रिन्ट’ले भारतीय सरकारी अधिकारीलाई उल्लेख गर्दे सो समाचार प्रकाशन गरेको हो । गत वर्षको कात्तिकदेखि बिग्रेको नेपाल भारत सम्वन्धलाई पूनः स्थापित गर्ने लक्ष्यसहित उनले नेपाल भ्रमण गर्ने पनि सो सञ्चारमाध्यममा उल्लेख छ ।

भारतीय सञ्चार माध्यमका अनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष राजनीतिक नेता र केही अन्य ब्यक्तिहरुसँग पनि उनको भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको यस अगाडी नै भ्रमण मिति तय भएपनि लकडाउनका कारण स्थगित हुन पुगेको थियो । नेपाल सरकारले पनि उनको भ्रमणको स्विकृती गत बर्ष माघमा नै दिइसकेको थियो।

भारतीय सेनाध्यक्षको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिन थालेको छ । भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्त गोयलसँगको भेटपछि प्रधानमन्त्री ओलीले लगत्तै सेनाध्यक्षसँग भेट हुने कुरालाई राजनीतिक रुपमा पनि हेरिएको हो । नेपालको भूमि समेटेर भारतले नक्सा जारी गर्दा र सडक मार्ग बनाउदा नेपाल सरकारले नेपालकै तर्फबाट नयाँ नक्सा जारी गरेर आपत्ति र विरोध जनाएको थियो । साथै नेपालमा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नयाँ नक्सा कार्यान्वयनमा समेत आइसकेको छ । त्यतिबेला नरवणेले अन्य देशको इशारामा नेपालले नक्सा जारी गरेको भन्दै विरोध जनाएका थिए । त्यसपछि नेपालमा भारतीय सेनाध्यक्षको पनि विरोध भएको थियो । अहिले नरवणेका भ्रमणका एजेण्डाहरु पनि तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिमा आफनो नक्सामा समेटेर सडक मार्ग खोल्नेसम्मको काम गरेपछि नेपालले प्रतिवाद गर्दै आएको थियो । नेपालले पनि अन्तत आफनो राजनीतिक तथा प्रशासनिक नक्सामा ति भूमिलाई समेटेर संविधानमा समेत लिपिवद्ध गरेपछि दुई देशवीच सम्वन्ध चिसिएको थियो । एक वर्षयता नेपाल भारतका अधिकारीहरुवीच औपचारिक रुपमा कुराकानी समेत भएको थिएन । सीमा सुरक्षाको विषयमा सशस्त्र प्रहरीबल र भारतीय सीमा सुरक्षा बलकाबीचमा पोखरामा एउटा बैठक बाहेक अन्य विषयहरुमा दुई देशबीच कुनै पनि छलफल र बैठकहरु बस्न सकेका छैनन । यद्यपी भर्चुअल वैठक भने केहि भएका थिए ।रासस

प्रकाशित : २०७७ कार्तिक ११ गते १९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI