माग कम हुँदा दसैंमा खेर गयो विद्युत

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते २१:२५
माग कम हुँदा दसैंमा खेर गयो विद्युत

काठमाडौं : माग कम भएपछि यस वर्षको दसैंमा विद्युत खेर गएको छ । दसैंको बिदामा कारण विभिन्‍न कलकारखाना, व्यापारीक मल र संस्थाहरु बन्द रहेकाले खपत कम हुँदा विद्युत खेर गइरहेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए ।

कोइरालाले नेपालमा अहिले दसैं बिदा सुरु भएपछि अहिलेसम्म दैनिक करिब २ सय मेगावाटसम्म विद्युत खेर गइरहेको बताए । खेर गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै खपत बढाउने कुनै विकल्प नहरेको भन्दै कोइरालाले दीर्घकालिन रुपमा रणनीति तयार पारेर अगाडि बढ्ने तयारीमा प्राधिकरण रहेको बताए ।

प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने योजना बनाइरहेको जानकारी उनले दिए । तर इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन र विद्युतीय उपकरणमा कर वृद्धि गर्ने निर्णयले आन्तरिक खपत निरुत्साहित भएको छ । त्यस्तै  खेर गइरहेको विद्युतको खपतका लागि सात वटै प्रदेशमा चार्जिङ स्टेसन निर्माण गर्न टेन्टर प्रक्रिया अगाडि बढाएर मुल्यांकनको चरणमा रहेको कोइरालाको भनाइ छ ।

उनले खहिले नेपालमै उत्पादन भएको विद्युतले खपत गर्न पुगिरहेकाले  भारतबाट आयत गर्नुपर्ने अवस्था नरहेको बताए । बिहान र बेलुकाको ‘पिक’ समयमा भने अधिकतम् रुपमा नेपालबाट उत्पादित सबै बिजुली उपयोग हुने गरेको प्राधिकरणले बताएको छ । अहिले वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

प्रकाशित : २०७७ कार्तिक १२ गते २१:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI