नवलपुरमा शनिबार कोरोना संक्रमणले ५ जनाको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १५ गते २०:४२
नवलपुरमा शनिबार कोरोना संक्रमणले ५ जनाको निधन

रामकुमार श्रेष्ठ/कावासोती

नवलपुरमा पछिल्लो २४ घण्टामा ५ जना कोभिड १९ का संक्रमितहरुले ज्यान गुमाएका छन् । पूर्वी नवलपरासीमा गैडाकोट का २ जना, कावासोतीका २ जना र विनयी त्रिवेणीका १ जनाको निधन भएको हो ।

कावासोती ६ का ६७ बर्षीय पुरुष, कावासोती ११ का ६३ बर्षीय पुरुष, गैंडाकोट नगरपालिका–२ की ७७ वर्षीया महिला, गैडाकोट १३ का ३८ बर्षीय पुरुष र विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासीक ६४ बर्षीया महिलाको निधन भएको हो ।
दुई जनाको होम आइसोलेशनमै र ३ जनाका चितवनमा उपचारको क्रममा निधन भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार विहान ०३ः३० बजेर घरमै निधन भएको हो । कात्तिक १३ गते कोरोना पोजेटिभ देखिएका ति पुरुष घरकै आइसोलशनमा उपचाररत रहेका थिए । उनको कावासोती १३ को नारायणी नदी किनार घोसरघाट देखि केही पर जलाएर शव विसर्जन गरिएको छ ।

त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै अन्तिम संस्कार गरेका छन् ।
उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको आफन्तले दावी गरेका छन् । होम आइसोलेसनमा निधन भएकाहरुको नारायणी नदी किनारका घाटहरुमा जलाएर शवको व्यवस्थापन गरिएको छ भने चितवनमा निधन भएकाहरुको चितवनमै व्यवस्थापन गरिएको छ ।

त्यसैगरी गैडाकोट नगरपालिका १३ का ३८ बर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा निधन भएको गैडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।
त्यसैगरी कावासोती ११ का ६३ बर्षका पुरुषको पनि शनिबार कोरोना संक्रमणबाट निधन भएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा शनिबार विहान ८ बजे निधन भएको कावासोती ११ का वडा अध्यक्ष सारदा प्रसाद अधिकारीले बताए । उनको चितवनमै दाहसंस्कार गरिएको छ ।

सुगर, निमोनिया, दमका समेत रोगी रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कात्तिक ११ गते उपचारका लागि चितवन मेडिक कलेज लगेका थिए । उनको १४ गते अर्थात शुक्रबार पिसिआर रिपोर्ट पोजेटिभ आएको र त्यसको भोलिपल्ट शनिबार विहान ८ बजे निधन भएको वडा अध्यक्ष अधिकारीले बताए ।

त्यसैगरी चितवन मेडिकल कलेजमा शनिबार नवलपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिला छिन् ।

अस्पतालका अनुसार ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) भएर कात्तिक १२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको १३ गते स्वाब परीक्षण गरिएकामा सोही दिनै कोरोना पोजेटिभ पुष्टि भएको थियो
मिर्गौलाकी दीर्घरोगी (क्रोनिक किड्नी डिजिज) समेत भएकी उनको शनिबार बिहान ९ बजेर ३२ मिनेट जाँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए । उनको कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

प्रकाशित : २०७७ कार्तिक १५ गते २०:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI