आकाशदीप दान शुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १६ गते ८:५३
आकाशदीप दान शुरु

काठमाडौँ । प्रत्येक वर्ष झैँ आश्विन शुक्ल पूर्णिमाका दिन देखि कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाराधना र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान विष्णुलाई समर्पण गरी बालिन्छ ।
कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त होइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कार्तिक स्नान गर्नेले आश्विन शुक्ल पूर्णिमा  देखि  कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुग, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिएको छ ।
आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको थियो ।

मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिकस्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाराधना शुरु गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ कार्तिक १६ गते ८:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI