यसपटकको राष्ट्रिय जनगणनामा करिब ६० हजारले रोजगारी पाउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १७ गते १५:५८
यसपटकको राष्ट्रिय जनगणनामा करिब ६० हजारले रोजगारी पाउने

काठमाडाैं : प्रत्येक दस वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणना कार्यक्रमको तयारी तीव्र रूपमा थालिएको छ । आगामी २०७८ सालमा हुने जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले आन्तरिक तयारी थालेको हो ।

केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ का निर्देशक डुन्डीराज लामिछानेले कोरोना सङ्क्रमणबाट कसरी सुरक्षित रहँदै आगामी राष्ट्रिय जनगणना कार्यलाई अगाडि बढाउनेबारे छलफल तथा परामर्श भइरहेको जानकारी दिए । साथै जनगणनाका लागि आवश्यक पर्ने सामग्रीको टेन्डर प्रक्रियासमेत अघि बढाइएको निर्देशक लामिछानेको भनाइ छ ।

आगामी जनगणनामा कागजी प्रश्नावली, ट्याबलेटको प्रयोग तथा विदेशमा रहेका कूटनीतिक नियोगमा ई–सेन्सस प्रणालीबाट जनगणना गर्ने तयारी छ ।

ट्याबलेट विधि काठमाडौँ उपत्यकाका केही नगरपालिकामा प्रयोग गर्ने र विदेशमा रहेका कूटनीतिक नियोग तथा दूतावासमा रहेका कर्मचारीको इन्टरनेटमार्फत जनगणना गरिने लामिछानेले जानकारी दिए । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत विवरण सङ्कलन गर्ने तयारी गरिएको छ ।

झन्डै ६० हजारलाई अस्थायी रोजगारी

राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको कार्यसम्म झन्डै ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको छ । जनगणनाका लागि फिल्डमा मात्रै करिब ४२ हजार गणक र ९ हजार सुपरिवेक्षक परिचालन गर्ने तयारी गरिएको निर्देशक लामिछानेले जानकारी दिए । यस वर्ष शिक्षकको स्थानमा बेरोजगार युवायुवतीलाई गणकको रूपमा परिचालन गर्ने तयारी थालिएको छ । उनीहरुले १ महिना अस्थायी रोजगारीको अवसर पाउनेछन् ।

प्रकाशित : २०७७ कार्तिक १७ गते १५:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI