टेलिभिजन परीक्षण गर्दै टेलिकम

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १८ गते १३:२१
टेलिभिजन परीक्षण गर्दै टेलिकम

काठमाडौं, कार्तिक १८। आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको समेत सुविधा दिने लक्ष्य राखेको नेपाल टेलिकमले अहिले यसको परीक्षणको तयारी गर्दैछ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको हो ।

अहिले कम्पनीकै केही कर्मचारी र सीमित सङ्ख्यामा मात्र यसको परीक्षण भइरहेको छ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने । उनका अनुसार अब परीक्षणको दायरा विस्तार गरेर छिट्टै व्यावसायिक रूपमै टेलिभिजन प्रसारण हुनेछ ।

टेलिभिजन प्रसारणसँगै यसको बिलिङ प्रणाली व्यवस्थापनको काम पनि कम्पनीले गरिरहेको छ । दशैँ अगाडि नै कम्पनीले बिलिङ प्रणालीको पहिलो चरणको परीक्षण पनि गरिसकेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी र्दिए । उक्त परीक्षण पनि सफल भइसकेको छ, उनले भने ।

कम्पनीले हाल उपलब्ध गराइरहेको एफटीटीएच इन्टरनेटमा ग्राहकलाई ल्यान्डलाइन नम्बरसहित राउटरमा टेलिभिजन ‘पोर्ट’ समेत उपलब्ध गराएको छ । कम्पनीले व्यावसायिक रूपमा टेलिभिजन प्रसारण सुरु गरेपछि ग्राहकले सोही पोर्टमा जडान गरेर टेलिभिजन हेर्नसक्ने छन् ।

टेलिकमले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा तुलनात्मक रूपमा गुणस्तरीय मानिएको एफटीटीएच विस्तारलाई समेत कम्पनीले प्राथमिकतामा राखेको अधिकारीले बताए ।

प्रकाशित : २०७७ कार्तिक १८ गते १३:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI