अमेरिकी चुनावको नतिजा आउन शुरू : ५० मध्य एक राज्यको नतिजा घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १९ गते ७:५३
अमेरिकी चुनावको नतिजा आउन शुरू : ५० मध्य एक राज्यको नतिजा घोषणा

अमेरिका : मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन् । कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ ।

बहालवाल राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् तर पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ ।

कोभिड-१९ महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो मत खसालेकी थिइन् ।

श्रीमान्‌सँग मत नखसाल्नुको कारणबारे पत्रकारहरूले सोधेपछि उनले भनिन्, ‘आज निर्वाचनको दिन हो । त्यहीँ भएर मत खसाल्न म यहाँ आएकी हुँ ।’ राष्ट्रपति ट्रम्पले एक साताअघि नै आफ्नो मत खसालिसकेका थिए ।

अमेरिकी चुनावले कसरी काम गर्छः
– अमेरिकी राजनीतिक प्रणालीमाथि मात्र दुईवटा पार्टी हावी छन् । अतः राष्ट्रपति कि डेमोक्र्याट (जो बाइडन) हुन्छन् कि रिपब्लिकन (डोनल्ड ट्रम्प) ।
– हरेक चार वर्षमा चुनाव हुन्छ, १८ वर्ष र सोभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन् ।
– दुवै उम्मेदवार इलेक्टोरल कलेजको मत पाउन प्रतिस्पर्धा गर्छन् जुन हरेक राज्यको जनसङ्ख्याको आधारमा निर्धारित हुन्छ । जित्नका लागि उम्मेदवारले कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ ।
– अहिले सारा ध्यान ट्रम्प र बाइडनको निर्वाचनमा छ तर मतदाताले कङ्ग्रेसका लागि नयाँ सदस्य पनि छान्दैछन् ।

कोभिड-१९ सङ्क्रमितले पनि मत खसाल्न पाउने
कोभिड-१९ सङ्क्रमित व्यक्तिहरूले पनि मत खसाल्न पाउने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले जनाएको थियो । मतदान केन्द्रमा पुगेपछि सङ्क्रमित व्यक्तिले त्यहाँ रहेका अधिकारीहरूलाई जानकारी गराउनुपर्छ र उनीहरूले यी कुरा गर्नुपर्छः

– मास्क लगाएको हुनुपर्छ
– अरू व्यक्तिभन्दा छ फिट टाढा बस्नुपर्छ
– मत खसाल्नुअघि र खसालिसकेपछि हात धुनुपर्छ वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ ।

विज्ञापनमा कति खर्च भएको छ ?
अमेरिकी चुनावी अभियानहरूमा विज्ञापन एउटा महत्त्वपूर्ण हिस्सा हुने गरेको छ र यो वर्षको चुनाव पनि अपवाद हुन सकेन । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनको प्रचार अभियान समूहले विज्ञापनहरूमा ६३ करोड ८० लाख डलर खर्च गरेको छ ।

त्यसमध्ये अधिकांश रकम टेलिभिजन विज्ञापनमा खर्च भएको छ । राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले चाहिँ ४७ करोड २० लाख डलर विज्ञापनमा खर्चेको छ । ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीले भन्दा थप चार करोड ३० लाख डलर डिजिटल विज्ञापनमा खर्च गरेको हुन सक्ने जनाइएको छ । यो कन्टार/सीएमएजीले उपलब्ध गराएको आज बिहानसम्मको विज्ञापन खर्च विवरण हो ।

मतदान केन्द्रअगाडि सङ्गीत र नृत्य
फिलाडेल्फियामा मतदाताहरू मतदानका लागि लामबद्ध हुन थालेपछि मतदान केन्द्रअगाडि सङ्गीत र नृत्य कार्यक्रम शुरू भयो । जोय टु द पोल्स नामक एउटा संस्थाले तनाव हटाउन र मतदान केन्द्रसम्म सङ्गीत पुर्‍याउन कार्यक्रम गरेको जनाएको छ ।

पल रुडका कुकिज
गत हप्ता न्यूयोर्कका बासिन्दाहरू मत खसाल्नका लागि लामबद्ध भइरहँदा अभिनेता पल रुड आएर उनीहरूलाई कुकिज बाँड्न थाले । ब्ल्यूबेरी क्रीम भएको कुकिज मानिसहरूले मन पराए र खुशी भए ।

१२ जना बासिन्दा
सबैभन्दा शुरूमा नतिजा घोषणा गर्ने नगरमध्ये डिक्सभिल नोच एउटा हो । त्यहाँ जम्मा १२ जना बासिन्दा छन् । ती सबैले मध्यरातपछि मतपेटिका राखिएको एउटा विशेष कोठामा मतदान गर्छन् । अरू ठाउँका नतिजा सार्वजनिक हुनुभन्दा कैयौँ घण्टा पहिला त्यहाँको नतिजा घोषणा हुन्छ । (बीबीसी)

प्रकाशित : २०७७ कार्तिक १९ गते ७:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI