काठमाडौंलाई मागिखानेको शहर बनाउन खोजियो: मेयर शाक्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १९ गते १३:५७
काठमाडौंलाई मागिखानेको शहर बनाउन खोजियो: मेयर शाक्य

काठमाडौं : विद्यासुन्दर शाक्यले सडकमा खाना खुवाउने कामलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । काठमाडांै महानगरपालिकाका प्रमुख शाक्यले सडकमा खाना खुवाउने कामको विकल्प खोज्नसमेत आग्रह गरेका हुन् ।

बुधबार राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गर्दै उनले कोभिड कहरका बेला सांस्कृतिक शहरका रुपमा परिचित काठमाडौंलाई मागिखानेको शहर बनाउन खोजिएको आरोप लगाए ।

‘सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भयो’ भन्दै काठमाडौं नगरपालिकाले सडकमा खाना खुवाउने काम रोक्न अभियान्तालाई आदेश दिएपछि मेयर शाक्यको आलोचना भएको थियो ।

सोही आलोचनाबारे सफाइ दिँदै मेयर शाक्यले भने, ‘कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकलाई काठमाडौँ महानगरपालिकाले शुरुदेखि नै सहयोग गर्दै आइरहेको छ ।

कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका महानगरवासीले आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेमा भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध छ ।’  लकडाउन अवधिभर काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको मेयर शाक्यले दावी गरे ।

काठमाडौंका खुल्लामञ्च लगायत दर्जन बढि स्थानहरुमा धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्डसमेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भन्दै जनस्तरबाटै गुनासो आएकाले यस्तो निर्णय गरेको उनले प्रष्ट पारे । उनले भने, ‘जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु ।’

त्यस्तै कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सिपको आधारमा रोजगारी दिई महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको उनको दावी छ । उनले भने, ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौँ महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छि बनाउनुहुन्न ।’

प्रकाशित : २०७७ कार्तिक १९ गते १३:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI