कालिगण्डकी करीडोरमा पहिरोमा पुरिएका ५ जनाको शब निकालियो ( नामवली सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १९ गते २०:१३

होमराज रानाभाट
बुलिगंटार (नवलपरासी ) कात्तिक १९ गते । कालीगण्डकी करीडोर निर्माणको क्रममा बुलिगंटार गाउँपालिका वडा नं ३ सिंगुवाको घुम्तीमा सडक निर्माणको काम गरेका पाँच जनाको पहिरोमा पुरिएर ज्यान गएको छ ।
आज अपरान्ह बुलिगंटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिगंटार गाउँपालिका वडा नं ४ का एकै गाउँ र टोलका पाँच जनाले ज्यान गुमाएका बुलिगंटार गाउँपालिका वडा नं ४ का वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताउनुभयो ।
बुलिगंटार गाउँपालिका वडा नं ४ का बर्ष २८ का तुलबहादुर सारु मगर, बर्ष २० का गोपाल गरँजा मगर, बर्ष ४२ का सुनबहादुर पूलामी मगर, बर्ष २० का ताराबहादुर लुगेंली मगर र बर्ष २० का चेतबहादुर अस्लामी मगरको ज्यान गएको र उनीहरु सबै अर्खला ढुँग्रे गाउँका बासिन्दा रहेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताउनुभयो ।
सदरमुकाम कावासोतीबाट झण्डै ४० किलोमिटर पहाडी उत्तरी क्षेत्रको बुलिगंटार गाउँपालिका वडा नं ३ मा भएको सो घटनामा थप दुई जनालाई भने उद्दार गरि गम्भीर अबस्थामा भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
घटनामा गम्भीर घाईते सोही गाउँका बर्ष २१ का कृष्णा लुगेंली मगर र बर्ष २० का केबल सिहं लुगेंली मगर रहेको प्रहरीले जनाएको छ । घटना पाँच बजे घटे को तर मृतकको शब भने ६.४५ मा मात्र निकाल्न सफल भएको र एक जनाको शब सात बजे साँझ मात्र निकालिएको बुलिगंटार प्रहरी चौकीले जनाएको छ ।
बाटो निर्माणका क्रममा डोजर ले माथि खन्दै गर्दा एक्कासि पहिरो झरे पछि काम गर्दै गरेका उनीहरुले पहिरोले पुरेको प्रहरीले जनाएको छ । कालीगण्डकी करीडोर निर्माणको काम दु्रत गतिमा अघि बढिरहेको बेलामा यो घटना भएको र सो कालीगण्डकी करीडारको ठेक्का भारतीय कम्पनी ईकेके कन्सटक्सनले लिएको हो भने स्थानीय स्तरमा भरतपुरको लोहनी कन्सटक्सनले लिएको छ । मृतकको भोलि पोष्टमार्टम गरी दाहासंस्कार गर्ने जनाईएको छ ।

प्रकाशित : २०७७ कार्तिक १९ गते २०:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI