त्रिविको परीक्षा पायकपर्ने परीक्षा केन्द्रबाट दिन सकिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २० गते ७:३२
त्रिविको परीक्षा पायकपर्ने परीक्षा केन्द्रबाट दिन सकिने

काठमाडौं, कार्तिक २०। त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।

विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।

त्रिविले यही मङ्सिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ । ‘हामीले परीक्षा केन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘परीक्षा दिनका लागि अब काठमाडौँ आउनुपर्दैन । आफूलाई पायकपर्ने ठाउँबाट परीक्षा दिन पाउने छन् ।’

उनले प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरिएको बताए । कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ ।

रजिष्ट्रार डा दाहालले एक दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताए । त्रिविको वार्षिक परीक्षा पनिका र सेमेष्टर परीक्षा डीन कार्यालयले लिने छन् ।

प्रकाशित : २०७७ कार्तिक २० गते ७:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI