दिल्लीलाई हराउदै मुम्बई छैठौं पटक आईपीएलको फाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २१ गते ६:५८
दिल्लीलाई हराउदै मुम्बई छैठौं पटक आईपीएलको फाइनलमा

१३ औं आईपीएल अन्तर्गत पहिलो क्वालीफायरमा दिल्लीलाई  ५७ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई  फाइनल प्रवेश गरेको छ।

लिग इतिहासमा मुम्बई फाइनल पुगेको यो छैठौं पटक हो। यस अघि २०१०, २०१३, २०१५, १०१७ र २०१९ मा मुम्बई फाइनल पुगेको थियो जस मध्ये २०१३, १५, १७ र १९ गरि ४ पटक उपाधि जित्न सफल रहेको थियो। मुम्बई भन्दा बढी चेन्नाई सर्वाधिक ७ पटक लिगको फाइनल पुगेको छ भने ३ पटक उपाधि जित्न सकेको छ।

हारपछि पनि दिल्लीले फाइनल पुग्नको लागि दोश्रो अवसर पाउनेछ। शुक्रबार हुने हैदरावाद र बैंगलोर बीचको इलिमीनेटरको विजेतासंग आइतबार दिल्लीले दोश्रो क्वालीफायरमा फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो।

दिल्लीको लज्जास्पद ब्याटिंग 

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गर्दै मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

दिल्लीको लागि मार्कस स्टोइनिसले ४६ बलमा ६५ रन बनाए जुन क्रममा ६ चौका र ३ छक्का प्रहार गरे। अक्षर पटेलले ३३ बलमा २ चौका र ३ छक्का मद्दतले ४२ र बनाए। यस्तै कागीसो रबाडाले अविजित १५, श्रेयस ऐयर ऐयरले १२, रिशभ पन्तले ३ रन बनाए। पृथ्वी श, शिखर धवन, अजिंके रहाने र ड्यानियल स्याम्सले खाता खोल्न सकेनन्।

स्टोइनिसले सर्वाधिक ६५ रन बनाए

२०१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दिल्लीले पहिलो ३ विकेट खाता नखोल्दै गुमाउन पुग्यो। आईपीएल इतिहासमै पहिलो ३ विकेट खाता नखोल्दै गुमेको यो पहिलो पटक हो।

पहिलो ओभरको दोश्रो बलमा पृथ्वी शलाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डीककबाट क्याच आउट गराउदै विकेट पतनको सुरुवात गरेका थिए। सोहि ओभरमा अजिंके रहाने पनि पाँचौ बलमा एलबिडब्लु आउट भए। लगत्तै ओभरमा शिखर धवनलाई जस्प्रित बुम्राहले बोल्ड गर्दा दिल्ली ०/३ को अवस्थामा पुग्यो।

पाँचौ नम्बरमा आएका मार्कस स्टोइनिसले त्यसपछि एक किनार सम्हालेर ब्याटिंग गरेता पनि अर्को किनारमा विकेट गुम्यो। चौथो ओभरमा कप्तान श्रेयस ऐयरलाई बुम्राहले तथा आठौँ ओभरमा रिशभ पन्तलाई क्रुनाल पान्ड्याले क्याच आउट गराए।

४१/५ को अवस्थाबाट स्टोइनिसले अक्षर पटेलसंग ७१ रनको साझेदारी गरे। १६ औं ओभरमा स्टोइनिसलाई बुम्राहले बोल्ड गर्दै मुम्बईलाई खेलमा पूर्णत हावी गराए। सोहि ओभरमा ड्यानियल स्याम्सलाई पनि बुम्राहले बोल्ड गरे। त्यसपछि अक्षर पटेलले अन्तिम ओभरसम्म ब्याटिंग गरेता पनि दिल्ली लक्ष्य भन्दा निकै पछि रह्यो।

बोल्टले पहिलो ओभरमा २ विकेट लिए

मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १४ रन खर्चिए। बुम्राहको स्पेल आईपीएलको क्वालीफायर/सेमीफाइनलमा संयुक्त रुपमा दोश्रो उत्कृस्ट बलिंग स्पेल हो। सबैभन्दा उत्कृस्ट डगी बोलिंगरले २०१० मा चेन्नाईको लागि खेल्दै डेक्कन चार्जर्स बिरुद्ध १३ रन खर्चेर ४ विकेट लिएका थिए। धवल कुल्कर्नीले २०१६ मा गुजरातको लागि खेल्दै बैंगलोर बिरुद्ध १४ रन खर्चेर ४ विकेट लिएका थिए।

ट्रेन्ट बोल्टले २ विकेट ( २-१-९-२ ) लिंदा काइरन पोलार्ड ( ४-०-३६-१ ) र क्रुनाल पान्ड्या ( ४-०-२२-१ ) ले समान १ विकेट लिए।

मुम्बईको इनिंग 

टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो।

मुम्बईको लागि इशान किशनले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सुर्यकुमार यादवले ३८ बलमा ६ चौका र २ छक्का मद्दतले सर्वाधिक ५१ रन बनाए। क्विन्टन डीककले २५ बलमा ५ चौका र १ छक्का मद्दतले ४० रन बनाए। हार्दिक पान्ड्याले १४ बलमा ५ छक्का मद्दतले अविजित ३७ रन बनाए। क्रुनाल पान्ड्याले १३ रन बनाउदा रोहित शर्मा र काइरन पोलार्डले खाता खोल्न सकेनन्।

कप्तान रोहित शर्मा खाता नखोली रभीचन्द्रन आश्विनबाट आउट भएपछि डीकक र यादवले दोश्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। यस क्रममा मुम्बईले पहिलो ६ ओभरमा ६३ रन बनायो जुन यो सिजनमै मुम्बईले पावरप्लेमा बनेको सर्वाधिक रन हो।

आठौँ ओभरमा डीककलाई आश्विनले धवनबाट क्याच आउट गरेपछि भने दिल्लीले राहतको स्वास फेर्यो। १२ औं ओभरमा यादवलाई नोर्कियाले ड्यानिय स्याम्सबाट क्याच आउट गराए। लगत्तै ओभरमा पोलार्डलाई खाता नखोल्दै आश्विनले रबाडाबाट क्याच आउट गराउदा दिल्ली हावी बन्यो। ७८/१ बाट मुम्बई १०१/४ को अवस्थामा पुग्यो।

किशनले अविजित अर्धशतक बनाए

इशान किशन र क्रुनाल पान्ड्याले पाँचौ विकेटको लागि ३९ रन जोडे। किशनले नोर्कियाले गरेको १६ औं ओभरमा १ छक्का र २ चौका प्रहार गर्दा ओभरमा १८ रन बन्द मुम्बईले पुनः लय पायो। १७ औं ओभरमा पान्ड्यालाई स्टोइनिसले क्याच आउट गराए।

किशनले त्यसपछि पनि आक्रामक ब्याटिंग जारि राखे जसलाई हार्दिक पान्ड्याले राम्रो साथ दिए। दुवैले छैठौं विकेटको लागि मात्र २३ बलमा ६० रनको साझेदारी गरे। १९ औं ओभरमा रबाडाले १८ रन तथा २० औं ओभरमा नोर्कियाले २० रन खर्चदा दिल्लीले २०० योगफल बनायो। अन्तिम बलमा छक्का हिर्काउदै किशनले अर्धशतक पुरा गरे।

अन्तिम ५ ओभरमा मुम्बईले मात्र १ विकेट गुमाएर ७८ रन बनायो।

दिल्लीको बलिंगमा रभीचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र २९ रन खर्चिए। एनरिक नोर्किया ( ४-०-५०-१ ) र मार्कस स्टोइनिसले समान १ विकेट ( १-०-५-१ ) लिए। ड्यानियल स्याम्स ( ४-०-४४-० ) र कागीसो रबाडा ( ४-०-४२-० ) विकेटविहिन रहे।

प्रकाशित : २०७७ कार्तिक २१ गते ६:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI