भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २१ गते ७:०३
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि

काठमाडौं, कार्तिक २१ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सो उपाधि प्रदान गरेकी हुन् । यो उपाधि पाउने रनवणे भारतीय सेनाका १८औं प्रमुख हुन् ।

विगत सात दशकदेखि दुई मुलुकका सेनाबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकामा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

सो समारोहमा नरवणेलाई खड्ग तथा सनदपत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै मुलकका वरिष्ठ अधिकारीहरू सहभागी थिए ।

यो उपाधि पहिलो पटक सन् १९५० मा तत्कालीन भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पालाई प्रदान गरिएको थियो ।

गत वर्ष भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति थापालाई समेत भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए । नयाँ दिल्लीमा आयोजित एक समारोहमा थापालाई सो सम्मान प्रदान गरिएको थियो ।

राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
उपाधि प्रदानपछि नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले आफूलाई दिइएको सम्मानप्रति विशेष आभार प्रकट गर्दै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

सैन्य सहकार्य प्रस्ताव
त्यसअघि नरवणेले नेपाल र भारतको सैन्य सहकार्यबारे समकक्षी थापासँग भेटवार्ता गरेका थिए । बिहीबार बिहान जंगी अड्डामा भएको भेटवार्तामा नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्नेबारे छलफल भएको थियो ।

सो क्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीले भारतीय सेना प्रमुख नरवणेसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए । प्रधानसेनापति थापाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आएका हुन् ।

नरवणेले उपाधि ग्रहणपछि भारतीय दूतावास पुगी राजनीतिक दलका नेता, अन्य उच्च अधिकारी, पूर्व जनरलसँग पनि भेटवार्ता गरेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित : २०७७ कार्तिक २१ गते ७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI