कांग्रेसमा किचलो : विधान उल्लंघन गरेको पौडेल समूहको आरोप

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २३ गते १०:४१
कांग्रेसमा किचलो : विधान उल्लंघन गरेको पौडेल समूहको आरोप
Nepali Congress President Sher Bahadur Deuba and senior leader Ram Chandra Paudel attending a party's meeting in Nayabaneshwor, Kathmandu, on Tuesday, August 23, 2016. Photo: RSS

काठमाडौं । कांग्रेस शीर्ष नेताहरू पार्टीभित्रको असमझदारी हटाउन एक सातादेखि निरन्तर छलफलमा छन्। तर, तीन समूहका करिब दुई दर्जन नेता सहभागी अनौपचारिक बैठकले अझै सहमतिको बाटो पहिल्याउन सकेको छैन। जसले गर्दा महाधिवेशनमा जुट्नुपर्ने बेला कांग्रेस विवादमै रुमल्लिरहेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेतृत्वले विधिरविधानविपरीत पार्टी सञ्चालन गरेको दाबी गर्दै निर्णय सच्याउनुपर्ने मागसहित असोज १२ गते पार्टी कार्यालयमा १६ बुँदे विरोधपत्र बुझाएको थियो। पौडेल समूहका मागमा सोमबारदेखि छलफल हुँदै आए पनि समझदारी जुट्न नसकेको हो। ‘आजका दिनसम्म बैठक तात्विक निष्कर्षमा पुगेको छैन। हामीले हाम्रा कुरा राख्ने र उनीहरू ९संस्थापन पक्ष०ले आफ्नो बचाउ गर्नेबाहेक प्रगति भएको छैन,’ बैठकमा सहभागी पौडेलनिकट केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘विधानविपरीत भएका निर्णय सच्याउनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो।’

पौडेल पक्षले विभाग गठन, क्रियाशील सदस्यता वितरण, पार्टी समायोजन, जनसम्पर्क समिति र भ्रातृसंस्थाबारे नेतृत्वले विधान उल्लंघन गरेको आरोप लगाएको छ। उक्त समूहले आफ्ना माग सम्बोधन नभएसम्म केन्द्रीय कार्यसमिति बैठकको औचित्य नरहेकामा जोड दिँदै आएको छ। उक्त मागमा सहमति नजुटेकै कारण शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक सोमबारसम्मका लागि स्थगन गरिएको छ।

सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य एनपी साउदले सहमतिको प्रयास भइरहेको बताए। ‘छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ’, नेता साउदले भने, ‘हाम्रो अहिलेको प्रमुख उद्देश्य भनेको पार्टीको महाधिवेशन हो। पार्टी एकढिक्का भएर महाधिवेशनमा जुट्नुको विकल्प छैन।’ पौडेल समूहले विभाग गठन र क्रियाशील सदस्यता वितरणमा चर्को असन्तुष्टि जनाएको छ।

विभाग गठन गर्दा विधान उल्लंघन गरिएकाले खारेजी हुनुपर्ने उसको माग छ। त्यस्तै, अन्य पार्टीबाट प्रवेश गरेकालाई समायोजनका नाममा केन्द्रबाट आफूखुसी क्रियाशील सदस्यता वितरण गरेर महाधिवेशनलाई प्रभावित पार्न खोजेको उसको आरोप छ। सभापति देउवाले भने विभाग गठन गरिसकेकाले खारेज गर्न नसकिने अडान सुरुकै बैठकमा राखेका थिए। विभागबाहेक बाँकी विषयमा छलफल गर्न आफू तयार रहेको देउवाको भनाइ थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित : २०७७ कार्तिक २३ गते १०:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI