पुसभित्रै सबै परीक्षा सक्ने तयारीमा त्रिवि

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २७ गते ८:३७
पुसभित्रै सबै परीक्षा सक्ने तयारीमा त्रिवि
काठमाडौं, कार्तिक २७ । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ ।

त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र बीएडतर्फका नियमित र आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेसँगै सबै तहको परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

‘विश्वविद्यालयले अन्तिम तहको कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्यसपछि पुसभित्रमा सकिने गरी अन्य तहको परीक्षा सञ्चालन गर्छौं।’ –रजिस्ट्रार प्राडा दाहालले भने । जाडो याममा परीक्षा गर्न असम्भव भएपछि त्रिविले पुसमा सकिने गरी कार्यतालिका तयार गरेको हो । अधिकांश क्याम्पसमा पुस १५ गतेदेखि जाडो बिदा हुने गरेको छ ।

यो वर्ष पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तयारी भइरहेको रजिस्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए । उनका अनुसार मंसिर र पुस महिनाभरि परीक्षा सञ्चालन गर्नेछौं ।

त्रिविले कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न सकेको छैन । रजिस्ट्रार प्राडा दाहालका अनुसार सकभर भौतिकरुपमै उपस्थित भएर परीक्षा दिने व्यवस्था गरिएको छ । ‘कोभिड–१९ संक्रमण बढ्दै गए वैकल्पिक विधि पनि अपनाउन सकिन्छ, अहिले नै यो विषयमा छलफल गरिसकेका छैनौं।’ –उनले भने।

त्रिविले पायक पर्ने स्थानीय निकायको केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । त्रिविले कोभिड–१९ को कारण सबै विद्यार्थी उपत्यका, सदरमुकाम, शहरमा आउन नसक्ने भएपछि घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी अनलाइन फारम भरिसकेको छ ।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मानविकी, व्यवस्थापन, कानुन, शिक्षा र विज्ञान–प्रविधि संकायअन्तर्गत ४ लाख १५ हजार ४ सय ८२ जना विद्यार्थीको परीक्षा स्थगित भएको छ ।नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित : २०७७ कार्तिक २७ गते ८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI