आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा धन्वन्तरी जयन्ती मनाइँदै, यस्तो छ महत्व

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २८ गते ९:३१
आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा धन्वन्तरी जयन्ती मनाइँदै, यस्तो छ महत्व

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस शुक्रबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाउन लागिएको हो ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

यस दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।

विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको क्याम्पस प्रमुख डा शिवमङ्गल प्रसादले जानकारी दिए । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्य दिवसका अवसरमा बिहान भगवान् धन्वन्तरी पूजा आराधना भइरहेको पनि उहाँले बताउनुभयो । दिउँसो भने कोरोना महामारीका कारण वेबिनार आयोजना गरिँदैछ ।

प्रकाशित : २०७७ कार्तिक २८ गते ९:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI