कागले २० सम्म सजिलै गणना गर्छ, नयाँ मान्छे आएको संकेत गर्छ

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २८ गते ११:४१
कागले २० सम्म सजिलै गणना गर्छ, नयाँ मान्छे आएको संकेत गर्छ

काठमाडौं । ‘कागसँग मानव सभ्यता जोडिएको छ, पूर्वीय र पश्चिमेली सँस्कृतिमा कागको महिमा उच्च छ’ चराबिज्ञ डा.हेमसागर बराल भन्नुहुन्छ । उहाँले नेपालमा मात्रै नभएर विश्वका धेरै कुरामा कागको संस्कृति जोडिएको बताउनुभयो । मानिसको वरिपरि बस्न रमाउने सबैभन्दा ठूलो आकारको चरा कागमात्रै भएको उहाँले बताउनुभयो ।
तिहारको कुरा गर्नासाथै हाम्रो दिमागमा झिलिमिली बत्तिहरुको प्रकाश, घरआँगनमा फूलेका मखमली र सयपत्री जस्ता रङ्गी बिरङ्गी फूलहरु, देउसीभैलो टोलीको रमाइलो नाचगानको साथै सेलरोटी लगायत विभिन्न मिठाईहरुको स्वाद आइहाल्छ ।
तर त्यो कुरासँगै कागको पूजा गर्ने परम्पराको निक्कै महत्व भएको डा.बरालले भन्नुभयो । तर, तिहारपर्वको साँस्कृतिक महत्वमात्रै होइन धार्मिक महत्वपनि धेरै ठूलो रहेको छ । यमपञ्चक समेत भनिने तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ ।
साँस्कृतिक महत्व
कागलाई यमराजको दूतको रुपमा पूजा गर्ने परम्परा रहेको छ । हिन्दू धर्ममा यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म र मृत्युको विवरण राख्छन् भनेर उसको दुतलाई फकाउन मानिसहरुले काग पूजा गरेको ज्योतिष संघका केन्द्रीय सदस्य ज्योतिष केशव गौतमले बताउनुभयो ।
कार्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ । काग अत्यन्त चतुर चलाख पक्षी भएको उहाँले बताउनुभयो । काग ‘सर्वभक्षी प्राणी हो, यसको पूजा गर्नुका विभिन्न कारण छन्’ ज्योतिष गौतम भन्नुहुन्छ ।
भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिने उहाँले बताउनुभयो । यसै दिन साँझमा घरको मुलद्वारको सामुन्ने यमराजलाई दीपदान गर्नाले मृत्यदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि ‘अपमृत्य’ वा ‘अल्पमृत्य’ हँुदैन भन्ने मान्यता रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ’ उहाँले भन्नुभयो ।
शास्त्रमा काग यमराजको अत्यन्त प्रिय भक्त भएको उल्लेख भएकाले उहाँले बताउनुभयो । हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि विविध शब्द कागसँगै सम्बन्धित रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कागले सामाजिक सुरक्षा प्रदान गर्छ
कागले सजिलेसँग एकदेखि २० सम्मको गणना सजिलै गर्न सक्छ र घरमा नयाँ मान्छे देख्यो भने कराएर तत्कालै जानकारी गराइ हाल्छ चराविज्ञ डा. बराल भन्नुहुन्छ । यसले मान्छेको घरमा नयाँ मान्छे आएको संकेतसँगै सुरक्षा समेत प्रदान गरेको उहाँले बताउनुभयो । काग चराहरुमै अत्याधिक स्मरण शक्ति हुन्छ डा. बराल भन्नुहुन्छ ‘उसले धेरै कुरा नबिर्सने भएकाले खतरा आउनु अघि त्यसको जानकारी गराइहाल्छ ।’
जीव विकासको क्रममा काग पनि मानवसँगै विकास भएकाले यो मानिसकै वरिपरि घुम्न रुचाउने प्राणी हो । धेरै घना जंगलमा काग पाँइदैन । तर केही ठाउँहरुमा वन काग समेत पाइन्छ । तर धेरै घना जंगलमा यस्ता काग नपाइने उहाँले स्पष्ट पार्नुभयो । नेपालमा मात्रै मानिसको नजिकै बस्ने कागका चार प्रजाती रहेको र जंगलमा समेत बन काग पाइन्छ । तर युरोप तथा अमेरिकामा पाइने काग भने राज काग हो । नेपालमा उत्तरी क्षेत्रहरुमा समेत यो प्रजातीको काग पाईन्छ । तर त्यो कागको आकार हामीले सामान्य अवस्थामा पाउने कागको भन्दा दोब्बर हुन्छ ।
कागहरु समुहमै बस्न रुचाउने र आफू र आफ्नो समुहलाई केही समस्या आएमा तत्कालै प्रतिकार गर्ने खालको आक्रमण गरिहाल्ने खालको हुने उहाँले बताउनुभयो । उनीहरुको संचार छिटो हुने भएकाले केही समस्या परेमा तत्कालै समस्याको पहिचान गरेर त्यसबाट जोगिने प्रयास गरेका छन् ।
असाध्यै चलाख
धेरै कथाहरुमा समेत कागको किस्सा सुन्न र पढ्न पाईन्छ । तिर्खाएको कागले घैटोको पिधमा भएको पानीमा साना साना ढुंगा हालेर माथि ल्याएर खाएको कथा समेत सुनिने गरेको छ । तर एक अध्ययनले ताइवानमा कागले ओखर संकलन गरेर त्यो ओखर जेब्रा क्रसिङमा ल्याएर हरियो बत्ती बलेको समयमा गाडीले फुटाएपछि रातो बत्ती बलेको समयमा आएर खाएको प्रमाणित भएको डा.बरालले बताउनुभयो ।
उहाँ आफै पनि एभरेष्ट बेस क्यापमा गएको समयमा बिस्कुट दिएको कागले बिस्कुट लिएर गएर भण्डार गरेको थियो । सजह समयमा पाएको खाद्य बस्तु कागले संचय गरेर राख्ने उहाँले बताउनुभयो । सहरका छतका गमलाहरुमा हाड तथा मासु कागले ल्याएर लुकाएको उदाहरणनै कागले संचित गर्ने गरेको उहाँले बताउनुभयो ।
काग र मानिसको विकासक्रम सँगसँगै भएकाले मानिससँग बस्न काग रुचाउने गरेको उहाँले बताउनुभयो । बन काग बनमै रमाउने भएपनि मानिसहरुको उपस्थिती नदेखिने बनमा काग नपाउने डा. बराल भन्नुहुन्छ । उहाँले मानव र कागको विकास एक आपसमा सहयोगीको रुपमा भएको बताउनुभयो । लण्डनमा टावर अफ लण्डनमा रेबेन काग भएसम्म कसैले पनि हराउन नसक्ने मान्यता रहँदै आएको छ ।
काग बारे अन्य रोचक तथ्य
कागको बारेमा अनेकौ किस्सा रहेका छन् । कागलाई सन्देश बहाकको रुपमा पनि लिइन्छ । काग कराउँदा शुभ अशुभ दुवै हुने बताइन्छ, काग कहाँ कसरी बसेर करायो भन्ने अर्थमा शुभ अशुभ हुने बुढापाका बताउने गर्छन् । काग ४० प्रकारका रहन्छन् । रेवन प्रकारको काग, सामान्य कागको तुलनामा ठूलो हुन्छ । यसको आवाज पनि धेरै कर्कश हुन्छ । एक काग करिब १४ बर्षसम्म बाँच्छ । कागलाई चालु प्रवृत्तिका भनिन्छ । कागमा बदलाको भावना धेरै लामो समयसम्म रहन्छ । जवान कागले, आफ्नो आमाबुबालाई सानो कागको रेखदेखमा सहयोग गर्छ । यो पंक्षीले अन्य जनवार, मानिसको नक्कल गर्न सक्छ ।
काग आफ्नो साधरण आवाज बाहेक पनि एक अलग भाषामा कुरा गर्छ । यो भाषा उनीहरुले अक्सर अन्य कागलाई खतराको संकेत दिन पनि प्रयोग गर्छ । कुनैपनि शिकारीसँग जुध्नका लागि कागहरु एकजुट हुने गर्छ । कागको मस्तिष्क मान्छेको मस्तिष्क जस्तै हुन्छ । यस कारण काग बुद्धिमान हुन्छ । जब एउटा काग मर्छ, तब अन्य कागले त्यहाँ कुनै खतरा छ वा छैन भन्नका खातिर परीक्षण गर्छन् ।

कागले मान्छेको अनुहार पहिचान गर्न सक्छ । कागले आफ्नो पूरा जीवनका लागि केवल एक जीवनसाथी बनाउने गर्छ । जन्मिएको दुई बर्षसम्म कागमा यौन परिपक्कता आएको हुँदैन । स्विडेनमा कागलाई मृत्त व्यक्तिको आत्मा मानिन्छ ।
नेपालमा काग
चराविद्का अनुसार विश्वभर झन्डै पाँच दर्जन प्रजातिका काग पाइन्छ । तीमध्ये नेपालमा छ प्रजातिका काग पाइन्छ । नेपालमा पाइने पहिलो प्रजातिमध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको घर काग हो । घर कागको घाँटी र छातीमा खरानी रङको फुस्रो रौँ र अन्यत्र कालो रङ हुन्छ । घर काग मानव बस्तीभित्रै बस्छ । यसको सङ्ख्या नेपालमा लाखौँको हाराहारीमा रहेको अनुमान छ । तराईदेखि मध्य पहाडसम्म पाइने घर काग मानव जीवनसँगै अनुकूलन हुँदै जिउने गरेको छ।
दोस्रो प्रजातिमा कालो काग पर्छ । कालो काग मानव बस्तीबाट टाढा घना जङ्गलमा बस्छ । घर कागभन्दा केही ठूलो र टाउकोदेखि पुच्छरसम्म निक्खर कालो हुन्छ । यसले घर कागभन्दा कडा आवाज निकाल्छ । यसको उपस्थिति तराईदेखि मध्यपहाडी भेगमा पाइन्छ । तेस्रो प्रजातिमा चार हजार मिटर उचाइमाथि अर्को थरी कालो काग पाइएको छ । यसले हिमाली भेगको रहनसहन बुझेको हुन्छ ।
चौथो प्रजातिमा राजा काग पर्छ । यो अन्य कागभन्दा आकारमा चीलजस्तै ठूलो हुन्छ । राजा कागको स्वर भने अन्य कागको जस्तो तिखो हुन्न । “कराउन त खोज्छ तर यसको आवाज घाँटीबाटै सुकेको जस्तो खर्रर खर्रर आउँछ”, बरालले थप्नुभयो, “राजा काग सामान्य कागजस्तो ठूलो हुलमा रहन्न, तीनदेखि छवटासम्मको समूहमा देखिन्छ । ”
राजा कागको सङ्ख्या विश्वमै कम रहेको छ । यो पृथ्वीको उत्तरी गोलाद्र्धका एसिया, युरोप र अमेरिका महादेशका देशहरूमा पाइन्छ । नेपालमा यसको सङ्ख्या करिब एक हजार आसपास रहेको अनुमान छ ।
पाँचौँ र छैटौँ प्रजातिमा कालो कागझैँ तर केही साना आकारका काग पर्छन् । ठ्याक्कै कागकै जस्तो आकार नभए पनि कागको आनीबानी रहेको बराल सुनाउनुहुन्छ । तीन हजार मिटरमाथिको उचाइका हिमाली क्षेत्रमा पाइने यी कागमध्ये एकलाई टेमु र अर्कोलाई टुङ्गो भनिन्छ । अन्य चरा वातावरण विनाश, प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, मानव अतिक्रमणका कारण सङ्कटमा पर्ने गर्छन् । तर कागले भने मानिसले झैँ आफैँ अनुकूलन हुँदै जीवन अगाडि बढाएको हुनाले यसलाई खासै असर नपरेको बताइन्छ  ।गोरखापत्र

प्रकाशित : २०७७ कार्तिक २८ गते ११:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI