दुर्घटनाको डिलमा नेकपा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २९ गते ८:३८
दुर्घटनाको डिलमा नेकपा

काठमाडौं, २९ कात्तिक । तीन वर्षअघि विपरीत ध्रुवमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनसहित पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो । त्यो सहमतिका मुख्य योजनाकार थिए– केपी शर्मा ओली र पुष्पकमल दाहाल ।

त्यही सहमतिको जगमा ‘कमान्ड’ गरेर उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभामा दुई तिहाइ मतसहित गठबन्धनलाई जिताए र पार्टी एकता पनि गरे । एकताका क्रममा उनीहरूले आफूहरूलाई जेट विमानका दुई क्याप्टेनको संज्ञा दिएका थिए । तर उनीहरूले हाँकेको नेकपाको जेट उनीहरूकै व्यक्तिगत महत्त्वाकांक्षा र कार्यशैलीका कारण ‘पिक अप’ नलिँदै ‘क्रयास’ हुन लागेको छ ।

दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहालका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्ताबेजले नेकपालाई दुर्घटनाको डिलमा पुर्‍याएको छ । यसअघि पोहोर मंसिर, गत वैशाख र असारमा पनि अन्तरसंघर्ष चुलिँदा एकीकृत पार्टीको भविष्यमाथि आशंका नउब्जिएको होइन, तर विगतमा भन्दा पछिल्लो घटनाक्रम भिन्न र दुर्घटनाउन्मुख छ ।

यसअघि मौखिक रूपमा एकअर्काप्रति आरोप–प्रत्यारोप हुने गरेकामा यस पटक लिखित दस्ताबेजकै रूपमा आएको छ । कम्युनिस्ट पार्टीको इतिहासमा जब एकअर्काप्रतिको आक्षेप व्यक्तिगत र तल्लो तहमा झर्न थाल्छ, पार्टी फुटेका उदाहरण छन् । त्यसैले यस पटक ओली र दाहालबीचको अन्तरसंघर्ष कम्युनिस्ट फुटको इतिहास सम्झाउने गरी प्रकट भएका छन् ।

विगतका धेरै चरणका अन्तरसंघर्षलाई व्यवस्थापन गरेको गत भदौ २६ को स्थायी कमिटी बैठकले नेकपालाई गति दिने अपेक्षा थियो । तर त्यही स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने विषयमा अर्को अन्तरसंघर्ष चुलिँदा ओली र दाहाल लिखत रूपमा व्यक्तिगत आक्षेप लगाउने तहमा पुगेका हुन् । सचिवालयका बहुमत सदस्यको बलमा अध्यक्ष दाहालसहितका असन्तुष्ट नेताहरूले बैठक बोलाउन माग गर्दै ओलीमाथि गत साता लिखित पत्र बुझाए ।

त्यही पत्रको जवाफमा ओलीले बिहीबार दाहालले जिम्मेवारीअनुसार काम नगरेको उल्लेख गर्दै नयाँ पुस्तालाई अब नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका थिए । ओलीको पत्रको जवाफमा दाहालले ‘इनफ इज इनफ’ भन्ने शब्द मात्र उल्लेख गरेका छैनन्, यस्तो स्थिति क्षम्य हुन नसक्ने भन्दै चेतावनी दिएका छन् ।

ओलीमाथि दाहालले राजनीतिक कार्यक्रम, घोषणापत्र र पार्टीको मार्गनिर्देशन अबज्ञा गरेको आरोप लगाएका छन् । जुन आरोप लगाउने हैसियत दाहालमा नरहेको ओली निकटहरूको बुझाइ छ । दुर्गा खनालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रकाशित : २०७७ कार्तिक २९ गते ८:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI