धानखेतमा करेण्ट लागेर हात्तीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ७ गते १३:२२
धानखेतमा करेण्ट लागेर हात्तीको मृत्यु

 

राजविराज : धान खान गाउँ पसेको एउटा भाले हात्तीको आइतबार सप्तरीमा करेण्ट लागेर मृत्यु भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारास्थित धानखेतमा भाले हात्ती मृत फेला परेको स्थानीय बच्चुलाल चौधरीले बताए । चौधरीका अनुसार उत्तर–दक्षिण गएको ११ केभी (किलो भोल्टेज)को विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको छ र बिजुलीको पोल ढलेको छ ।

कोशी टप्पु वन्य जन्तु आरक्षबाट ३/४ वटाको सङ्ख्यामा आएको हात्तीको समूहले धान खाएर नष्ट पारेको र उनीहरुमध्ये अन्दाजी ७० वर्षको बहिरो हात्तीको बिजुलीको करेण्ट लागेर मृत्यु भएको गाउँलेहरु बताउँछन् । हात्ती मृत फेला परेको विषयमा अनुसन्धान गर्न आरक्षका सहायक वार्डेन सन्तोष भगत नेतृत्वको टोली घटनास्थल पुगेको छ । नजिकै रहेको उक्त क्षेत्रमा लामो समयदेखि आरक्षको हात्तीको बथान आवतजावत गर्ने गर्छन् ।

दुर्घटनावस करेण्ट लागेर हात्तीको मृत्यु भएको देखिएको आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले बताए । कम उचाईबाट बिजुलीको तार लगेको वा हात्तीले पोलमा धक्का दिंदा तार लत्रिएकोबारे अनुसन्धान भइरहेको वार्डेन चौधरीले बताए । हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै वार्डेन चौधरीले मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर घटनास्थलमै गाडिने जनाए ।

प्रकाशित : २०७७ मंसिर ७ गते १३:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI