मेचीनगरमा भेटियो हरियाे परेवा, नेपालमा पहिलाेपटक भेटिएकाे दाबी

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १४ गते १६:००
मेचीनगरमा भेटियो हरियाे परेवा, नेपालमा पहिलाेपटक भेटिएकाे दाबी

रासस— चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उनकोे दाबी छ ।

चराका बारेमा पुस्तक लेख्दै आएका डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन् । ‘मैले यही मङ्सिर ९ गते बिहान साढे ८ बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ’, मेचीनगर–६ निवासी खरेलले रासससँग भने, ‘फोटो खिचेर पक्षी संरक्षण संघ र डा बराललाई पठाएँ, उहाँले यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।’

चराहरुको खोजी र संरक्षणमा पाँच वर्षदेखि लागिरहेका उनले झापा, इलाम, सुनसरी, चितवनलगायत स्थानमा डुलेर पक्षीको तस्बिर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन् ।

नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्यांक छ । हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले दाबी गरे । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।

हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ । मेचीनगरका मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जंगल क्षेत्रमा ३०० प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उनले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए ।तस्बिर : देवेन्द्र खरेल

 

प्रकाशित : २०७७ मंसिर १४ गते १६:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI