बलात्कारको घटनामा मिलापत्र गराउने वडा अध्यक्ष पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १४ गते १६:५३
बलात्कारको घटनामा मिलापत्र गराउने वडा अध्यक्ष पक्राउ

कैलाली : बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई पक्राउ गरेको हो ।

१८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो । तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो ।

बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गरेर गाउँमै लुकाउने भूमिकामा रहेको भन्दै वडाध्यक्ष साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीले सोही ठाउँका अन्य ३ जनालाई पनि नियन्त्रणमा लिएको छ । घटना मिलापत्रमा संलग्न रहेका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो ।

योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।

यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिइएको थियो ।

उनी दुवैले पीडित किशोरीलाई पीडकले नदिए आफूले १ तोला सुन दिने भन्दै तमसुक बनाएका थिए ।

बलात्कार घटनाका मुख्य आरोपित भनिएका सिगास-३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १४ गते १६:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI