कक्षा १२ को प्रश्नपत्र नछाप्दा करिब ५ करोड रुपैयाँ बचत

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते ८:२६
कक्षा १२ को प्रश्नपत्र नछाप्दा करिब ५ करोड रुपैयाँ बचत

कोभिड–१९ त्रासबीच नै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (माध्यमिक शिक्षा परीक्षा) को परीक्षा मंगलबार सम्पन्न गरेको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालयहरूले परीक्षा सञ्चालन गरे र सफल पनि भयो । यस पालिको परीक्षामा प्रश्नपत्र छपाइ, प्याकेजिङ, ढुवानी तथा सुरक्षालगायतमा खर्च नै गर्नु परेन । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार कक्षा १२ सञ्चालन रहेका चार हजार एक सय ५ विद्यालयमध्ये तीन हजार नौ सय ५० विद्यालयको बोर्डले इमेल बनाएर सबै विषयको प्रश्नपत्र पठाएको थियो । साथै सबै विद्यालयको वेबसाइटसँग बेबसाइटमा कनेक्ट गरिएको थियो । परीक्षाको आधा घण्टाअगाडि मात्र विद्यालयमा प्रश्नपत्र इमेल गरिएको थियो । १२ को परीक्षा प्रविधिमैत्री बनेकाले यस पालि बोर्डको ५ करोड बढी रकम बचत भएको छ ।

विद्यालय बिस्तारै प्रविधिमैत्री बन्दै गएको कक्षा १२ को परीक्षाले प्रमाणित गरिदिएको विद्यालयका प्रधानाध्यापकहरूको अनुभव छ ।

‘हाम्रा डेढ सय जति विद्यालय मात्र प्रविधिमैत्री भएनन् । ती विद्यालयमा बोर्डले प्रश्नपत्र छपाएर पठायो,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘माध्यमिक तहको एउटा परीक्षा सञ्चालन गर्न प्रश्नपत्र बनाउनेदेखि सुरक्षा भण्डारणसम्मको कार्य सम्पन्न गर्न करिब ५ करोड रकम खर्च हुने गरेको छ । जुन यसपालि बच्यो । सरकारले अब आउँदो एसइई परीक्षालाई पनि प्रविधिमैत्री बनाउने हो भने अहिलेदेखि नै तयारी गर्नुपर्छ । केन्द्रहरूलाई प्रविधिमैत्री बनाएर जानुपर्छ । प्रश्नपत्र छपाइ, प्याकेजिङ, ढुवानी तथा सुरक्षा भण्डारणको झन्झट हट्छ । एसइई परीक्षामा करिब २ हजार मात्र परीक्षा केन्द्र हुन्छन् ।’ उनका अनुसार प्रविधिमैत्री बनाउन तोकिएका केन्द्रमा नेटको सुविधा, एउटा कम्प्युटर, प्रिन्टर, फोटोकपी, पावर ब्याकअपको व्यवस्था गरे पुग्छ ।

अध्यक्ष पौडेलले बुधबारदेखि नतिजा प्रकाशनको सबै काम थाल्ने बताए । उनले कोभिडका कारण परीक्षा नै ढिला सञ्चालन भएकाले अब विश्वविद्यालय प्रवेशको बाटोमा धेरै ढिला गर्न नहुने जनाए ।

‘बोर्डले पुस १५ गतेभित्र कक्षा १२ को नतिजा प्रकाशनका लागि तय गरिरहेको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘त्यही रफ्तारमा बुधबारदेखि उत्तरपुस्तिका परीक्षण काम सुरु हुँदै छ ।

नतिजा प्रकाशनका सबै काम सोही रफ्तारमा अघि बढिरहेको छ ।’ विद्यालय बिस्तारै प्रविधिमैत्री बन्दै गएको कक्षा १२ को परीक्षाले प्रमाणित गरिदिएको विद्यालयका प्रधानाध्यापकहरूको अनुभव छ । पुलचोकमा रहेको त्रिपद्म माविका सहप्रधानाध्यापक विष्णु घिमिरेका अनुसार यसपालि उनको विद्यालयबाट एक सय ६५ जनाले कक्षा १२ को परीक्षा दिए । परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगावै मात्र इमेलबाट प्रश्नपत्र आएको र प्राप्त प्रश्नपत्रलाई प्रिन्ट गरेर फोटोकपी गरी सबै विद्यार्थीलाई बाँडेको जनाए । ‘यसैगरी एसइईको परीक्षामा पनि प्रश्नपत्र इमेलबाट पठाएर सञ्चालन गर्न सकिन्छ,’ सहप्रधानाध्यापक घिमिरेले नागरिकसँग अनुभव सुनाए, ‘सुरक्षित, व्यवस्थित र मर्यादित परीक्षा प्रविधिमैत्रीबाटै हुँदो रहेछ भन्ने उदाहरण कक्षा १२ को परीक्षा बनेको छ ।’

प्रकाशित : २०७७ मंसिर १७ गते ८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI