नारायणघाट बुटवल सडक आयोजनाको पश्चिम खण्डमा कार्यरत मजदुर आन्दोलित

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते १४:३३
नारायणघाट बुटवल सडक आयोजनाको  पश्चिम खण्डमा कार्यरत मजदुर आन्दोलित

जीवन न्यौपाने/नवलपरासी
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्डमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन् । व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले रामग्राम–११ मा रहेको बुटवल–बर्दघाट रोड प्रोजेक्टको साइड क्याम्प (सेक्सन २) मा गएर बुधबार नाराबाजी गरेका हुन् ।

सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलब नदिएको, बिना कारण कामबाट निकालिएको, कामदारको बिमा नगरिएको, काममा आउन जानका लागि व्यवस्थित यातायातका साधनहरु उपलब्ध नगराएको, सुरक्षा सामाग्रीको व्यवस्था नगरिएको , दैनिक ८ घन्टा भन्दा बढी काममा खटाइएको भन्दै आफुहरु आन्दोलित भएको विरोधको नेतृत्व गरेका मजदुर खगेश न्यौपानेले बताए । उनले आफुहरुका सम्पूर्ण मागहरु पुरा गर्न लिखित सम्झौता नगरेसम्म आफुहरु आन्दोलित बन्ने र सम्पूर्ण निर्माणको काम ठप्प पार्ने चेतावनी दिए ।

सडकको पश्चिम खण्डमा कार्यरत १ सय भन्दा बढी मजदुरहरुले काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । मजदुरहरु आन्दोलनमा उत्रिन थालेपछि सडक विस्तारको काम प्रभावित भएको छ ।

४२ महिनामा सक्ने भनेर २०७५ चैत्रमा शिलान्यास भएको यो सडक विस्तारको काम सरकारी निकायहरुबीच समन्वय नहुँदा समयमै सुरु हुन सकेको थिएन ।

नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, वन लगायतका नियकायहरुले समयमै काम नगर्दा रोकिएको सडक विस्तारको काम कोरोना भाइरसको महामारीपछि ठप्प जस्तै भएको थियो । तर, केही महिनाअघिदेखि चिनियाँ प्राविधिक र कामदारहरु कार्यक्षेत्रमा खटिएपछि काम सुरु भएको थियो ।

एकातिर समयमै सडक विस्तारको काम ढिला सुरु हुनु, अर्कोतिर वर्षाले भत्काएको सडक मर्मतको काम नुहँदा नारायणगढ–बुटवल सडकखण्डको यात्रा अहिले कष्टकर बनेको छ भने धुलोका कारण सडक आसपासका बासिन्दा प्रभावित भएका छन् ।
यसैमाथि मजदुरहरुको आन्दोलन समेत थपिन थालेपछि यो सडकखण्डको काम पनि अन्य सडकमा जस्तै ढिलाइ हुने देखिएको छ ।

प्रकाशित : २०७७ मंसिर १७ गते १४:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI