अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी सिरिज भारतको कब्जामा

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २१ गते १९:२६
अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी सिरिज भारतको कब्जामा

मंसिर २१, एजेन्सी । भारतले घरेलु टिम अष्ट्रेलियाविरुद्धको टी(ट्वान्टी क्रिकेट सिरिज जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको सिरिज आफ्नो बनाएको हो ।

अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि शिखर धवनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हार्दिक पाण्डयले अविजित रहदै ४२ रन जोड्दा श्रेयस एयर १२ रनमा अविजित रहे ।

हारतर्फ अग्रसर रहेको समय पाण्डयले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका हुन् । कप्तान विराट कोहलीले ४० तथा केएल राहुलले ३० रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै स्टिभ स्मिथले ४६ रन जोड्दा मोइसेस हेन्रिक्सले २५ रन बनाएका थिए । जितसँगै अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको सिरिजमा दुई शुन्यको अग्रता समेत बनाएको छ ।

पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६६ रनले हराएको थियो । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ । यस अघि भएको एकदिवसीय सिरिज भने अष्ट्रेलियाले दुइ एकले जितेको थियो ।

प्रकाशित : २०७७ मंसिर २१ गते १९:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI