काठमाडौं । रक्तचन्दन र पुरातात्विक मुद्राको बेचविखन गर्न ग्राहक खोज्दै हिँडेका ६ जनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुरका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिबहादुर मोक्तान उर्फ राजकुमार, प्रेमकुमार डंगोल, टिकाराम तामाङ, सोवित आचार्य, शंकर ढाउन्याँ र सुमन बस्नेत छन् ।सिन्धुली घर भएका टिकाराम तामाङ सहितका ४ जनाबाट ३ केजी ६३ ग्राम रक्तचन्दन बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) प्रज्वल महर्जनले रातोपाटीलाई बताए । शंकरा ढाउन्याँ र सुमन बस्नेतको साथबाट प्रहरीले प्राचीन महत्वको सन् १३१८ मोरु–१ लेखिएको पुरानो नेपाली सिक्का बरामद गरेको छ ।रक्तचन्दनको कारोबार गर्नेलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय गोदावरी पठाएको एसपी महर्जनले जानकारी दिए । पुरानो मुद्रा बेचविखन गर्न खोज्नेलाई प्रहरीले प्राचीन स्मारक ऐन अनुसार थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित : २०७७ मंसिर २१ गते २०:४०
Facebook Comment