प्रधानमन्त्री, सरकार र नेकपाका कारण गणतन्त्र र संविधानविरुध्द आवाज उठ्‍न थाल्यो : कांग्रेस

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २३ गते ८:४६
प्रधानमन्त्री, सरकार र नेकपाका कारण गणतन्त्र र संविधानविरुध्द आवाज उठ्‍न थाल्यो : कांग्रेस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान राज्य र सरकारको नेतृत्वका कारण मुलुकको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुध्दमा आवाज उठ्न थालेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, सरकारका गतिविधी र सत्तासिन नेकपाका आन्तरिक कारणले मुलुकमा यस्तो आवाज गुञ्जिन थालेको कांग्रेसको भनाइ छ ।

प्रधानमन्त्रीले मंगलबार बिहान बोलाएको सर्वदलीय बैठकका एजेण्डा तय गर्न सोमबार दिउँसो बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले सरकार र सत्तासिन नेकपाका कारण व्यवस्थाविरुध्द जनतामा असन्तोष पैदा भएको ठहर गरेको हो । राजावादीहरूले मुलुकभर राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेको बेलामा सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो अवस्था आउनुमा प्रधानमन्त्री र सरकारका क्रियाकलाप कारक रहेको निष्कर्ष निकालेको हो ।

 

 

बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले प्रधानमन्त्री र सरकारका गतिविधिका कारण जनतामा निरासा छाएको निष्कर्षमा आफूहरु पुगेको बताए ।  ‘संविधानको रक्षा र पालना गर्ने दायित्व सरकारको हो । तर, सरकार स्वयं कतिपय सन्दर्भमा संविधानका प्रावधानहरू उल्टाउने, प्रतिकुलतामा हिड्ने, लोकतान्त्रिक मूल्य पध्दतिलाई असहज रूपमा लिने, आफूसँग असहमत हुने सबैलाई सखाप पार्ने सर्वसत्तावादी र निरंकुश शैलीमा हिडिरहेको छ,’ खाणले इकागजसँग भने, ‘मुलुकका विभिन्‍न भूभागहरूमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रबारे प्रश्‍न उठाउने जुन माहोल बनेको छ, त्यसको मुल कारण नेकपा, प्रधानमन्त्री जी र सरकार हो भन्‍ने हाम्रो निष्कर्ष छ ।’

मुलुकको समस्या समाधानका लागि नभई आफू अत्यन्तै अफ्टेरो अवस्थामा रहेकाले त्यसबाट बच्‍ने उपाय निस्कन्छ कि भनेर प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको पनि कांग्रेस नेताहरूको आरोप छ । आम नागरिक, संविधान र राष्ट्रको सुरक्षा गर्न नसक्ने र नेकपाको झगडामा मुलुकको ध्यान र शक्ति लगाउने र जनताको बेहाल बनाउने अवस्था सरकारले निर्माण गरेको कांग्रेसले बताएको छ । यसको जवाफदेहिता प्रधानमन्त्री, सरकार र सत्तासिन पार्टीले लिनुपर्ने कांग्रेसको भनाइ छ ।

त्यस्तै बैठकले सरकारका कमजोरी, बदमासी सुधार्न सरकारको विरुध्दमा जनमत बढाउने काममा कांग्रेस लाग्ने निष्कर्षमा पनि नेताहरू पुगेका छन् । ‘सरकारका कमिकमजोरी, बदमासी, गल्ती सच्याउन र सुधार्न सरकारको विरुध्दमा जनमत बढाउने काममा अब नेपाली कांग्रेस अगाडि बढ्छ,’ खाणले भने । कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक व्यवस्था र संविधानको पालना र रक्षामा दृढ रहेको धारणा सर्वदलीय बैठकमा पेस गर्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।

सिमाका विषयमा पनि सरकार सम्वेदनशील नभएको भन्दै कांग्रेसले आफ्नो मूमिको रक्षाका लागि गम्भीर बन्‍न आग्रह गर्ने भएको छ । ‘सिमा समस्या समाधानका लागि सम्बन्धित प्राज्ञहरुसँग परामर्श लिएर सिमा मिचिएको छ भने, मिच्‍न नदिन र आफ्नो सिमाको रक्षाका लागि संवेदनशील बन्‍नुपर्छ,’ खाणले भने, ‘पूर्व, पश्‍चिम, उत्तर र दक्षिण सबैतिरका सिमाका लागि सरकार संवेदनशील बन्‍नुपर्छ । चीनसँज जोडिएको सिमाका विषयमा सरकारले हल्का हिसावले त्यहाँ समस्या छैन भनेको छ, त्यसरी सरकारले भन्‍न मिल्दैन भन्‍ने हाम्रो निष्कर्ष हो, त्यो भोलिको सर्वदलीय बैठकमा राख्छौ ।’

सरकारले अपनाएको दमनको शैलीबारे पनि बैठकमा कुरा उठाउने भएको छ । ‘जिल्ला जिल्लामा नेकपा कार्यकर्ता त्यसमा पनि प्रधानमन्त्री ओली समूहका कार्यकर्ताले ज्यानै मार्दा पनि कारबाही नहुने, अन्य विद्यार्थीहरूले क्यापस प्रशासनसँग विद्यार्थी हकहितबारेमा कुरा उठाउदा पनि मुद्दा लगाउने र थुन्ने काम भएका छन्,’ उनले भने, ‘सामान्य झगडामा पनि सुरक्षा निकायले सत्तापक्षको संरक्षण गर्ने र उनीहरूसँग असहमत हुनेलाई मुद्दा लगाउने, थुन्‍ने, कैद गर्ने काम गरेको छ । यो विषय पनि उठाउने सहमति बनेको छ ।’

सरकारले विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को व्यवस्थापनमा पनि सरकार पूर्णतया असफल देखिएको ठहरमा आफूहरू पुगेको खाणले बताए ।  संविधानले व्यवस्था गरेको वाक स्वतन्त्रता अनुरुप जनतालाई मनमा लागेका कुरा गर्न पनि सरकारले बन्देज लगाएको आरोप कांग्रेसको छ ।

प्रधानमन्त्री र सरकारको असफलता, सत्तासिन पार्टीको असक्षमता र कमजोरीका कारणले संविधानलाई प्रहार गर्ने र संघीय लोतकान्त्रिक गणतन्त्रमाथि प्रश्‍न उठाउने अवस्था आएकोले त्यसतर्फ सचेत रहन कांग्रेसले बैठकमा प्रधानमन्त्रीलाई आग्रह गर्ने भएको छ ।

बैठकमा उपसभापतिद्वय विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरू डा. रामशरण महत, प्रकाशमान सिंह, गोपालमान श्रेण्ठ, राष्ट्रियसभाका कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारी, खाणलगायतका नेताहरू सहभागी थिए ।

प्रकाशित : २०७७ मंसिर २३ गते ८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI