मानव अधिकार आयोगको प्रतिवेदन : महिला र बालबालिकामाथि हुने अपराध घट्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २३ गते १०:३४
मानव अधिकार आयोगको प्रतिवेदन : महिला र बालबालिकामाथि हुने अपराध घट्यो

काठमाडौं। मानव अधिकार वार्षिक प्रतिवेदन अनुसार महिला तथा बालबालिकामाथि हुने अपराधका घटना न्यूनीकरण भएको देखिएको छ।

 

बलात्कार, बलात्कार प्रयास, बहुविवाह, बाल विवाह, घरेलु हिंसा र बोक्सी आरोप जस्ता घटनामा न्यूनीकरण भएको देखिएको हो।

 

महिला तथा बालबालिका बेचविखनका घटना भने शून्य भएको राष्ट्रिय मानव अधिकार आयोगको २०७६/०७७ को वार्षिक प्रतिवेदनमा उल्लेख छ।

 

आयोगका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३०८ र २०७५/०७६ मा २५८ वटा महिला तथा बालबालिका बेचविखनका घटना भएकोमा गत आर्थिक वर्ष २०७६/०७७ मा शून्य भयो।

 

आर्थिक वर्ष २०७४/०७५ मा बलात्कारका एक हजार ४८० हुँदा आर्थिक वर्ष २०७५/०७६ मा बढेर दुई हजार ३३० भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा घटेर दुई हजार १४४ वटा भएको छ।

 

बलात्कार प्रयास पनि आर्थिक वर्ष २०७४/०७५ मा ७२७ वटा हुँदा आर्थिक वर्ष २०७५/०७६ मा बढेर ७८६ भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा घटेर ६८७ वटा घटना भएका छन्।

 

प्रतिवेदन अनुसार सोही अवधिमा घरेलु हिंसाका घटना क्रमशः १२ हजार २२५, १४ हजार ७७४ हुँदै ११ हजार ७३८ भएका छन्।

 

बोक्सी आरोपका घटना पनि सोही अवधिमा क्रमशः ४८, ४६ हुँदै ३४ वटा हुँदा बहुविवाह ६०२, १००१ र ७३४ भएको र बाल विवाहका घटना क्रमशः ५९, ८६ हुँदै ६४ वटा भएका छन्।

 

तर, गर्भपतनका घटना भने सोही अवधिमा बढेको देखिएको छ। उक्त घटना १८, २७ हुँदै बढेर २९ वटा भएका छन्।

 

आयोगले समाजमा अझैसम्म झुमा, देउकी, छाउपडी, दाइजो तथा तिलक प्रथा, बाल विवाह, विना मञ्जुरी विवाह, बोक्सीको आरोपमा महिलाहरू पीडा भोग्न बाध्य रहेको जनाएको छ।

 

परिवारका सदस्यहरूबाटै हिंसा, दाइजो नल्याएको कारण कुटपिट, जलाउने, घर निकाला गर्ने, ज्यान लिनेसम्मका घृणित कार्यहरू कुनै न कुनै स्वरूपमा विद्यमान रहेको प्रतिवेदनमा उल्लेख छ।

 

भिडिओ एक्सरेमार्फत भ्रूणको पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने गलत परिपाटी रहेको जनाइएको छ।

 

यस्तै, कोभिड-१९ बाट समग्र मानव जनजीवन नै प्रभावित बन्न पुग्दा त्यसको असर महिलाहरूमा बढी पर्न गएको देखिएको आयोगको दाबी छ।

 

गत जेठ ९ गते साँझ साढे ५ बजे सङ्खुवासभाको खाँदबारी-६ पाँठाकी ३२ वर्षीया गङ्गा कार्कीलाई सुत्केरी गराउन काठमाडौं ल्याइ पुर्‍याएको भएपनि अस्पतालहरूमा भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गएको दृष्टान्त पेस गर्दै आयोगले लकडाउनको कारण उपत्यकाभित्र तथा उपत्यकाबाहिर गर्भवती तथा सुत्केरीहरू अस्पतालसम्म जान नसक्दा स्वास्थ्यमा गम्भीर असर पुगेको जनाएको छ।

प्रकाशित : २०७७ मंसिर २३ गते १०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI