राष्ट्रपतिद्वारा अन्तराष्ट्रिय मानव अधिकार दिवसको शुभकामना

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २५ गते ८:५६
राष्ट्रपतिद्वारा अन्तराष्ट्रिय मानव अधिकार दिवसको शुभकामना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्वारा प्रत्याभूत मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक, आर्थिक व्यवस्था कायम भई ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सकिने बताएकी छिन्।

 

७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मानवाधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन एवम् कार्यान्वयनलाई सुनिश्चिधत गर्न समाजका सबै क्षेत्र, पेशा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेकामा जोड दिइन्

 

राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अङ्गीकार गरेको छ। समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सीमान्तकृत नागरिकलाई राज्यको मूलधारमा समाहित गर्न पनि हाम्रो संविधानले मार्गप्रशस्त गरेको छ। आधारभूत मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि संवैधानिक आयोग तथा विभिन्न निकायहरू क्रियाशील रहेका छन्।”

 

राष्ट्रपति भण्डारीले यस अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै सबै जातजाति, भाषा, संस्कृति तथा सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता सुदृढ बनाउन सम्बद्ध सबै पक्ष र निकायलाई मानव अधिकारको मर्म तथा भावना आत्मसात् प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन्।

प्रकाशित : २०७७ मंसिर २५ गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI