हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २५ गते १४:४२
हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस

२५ मंसिर, काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।

उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको छ ।

अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।

समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो । विज्ञहरुको राय, उद्योगी, ट्रेड यूनियनसँगको छलफलका निष्कर्षलाई समेत अध्ययनको विधिमा राखिएको समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास, सन्धी सम्झौता र नीति नियमलाई समेत अध्ययनको आधार मानिएको छ ।

समितिले गरेको अध्ययन अनुसार संसारका ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने गरेको छ । सातामा एक दिन मात्र बिदा दिने मुलुक १२ प्रतिशत रहेको अध्ययनमा देखिएको छ ।

एउटा देशले भने सातामा तीन दिनसम्म बिदा दिने गरेको छ । सबैभन्दा बढी बिदा दिने मुलुक कम्बोडिया र सबैभन्दा कम सार्वजनिक बिदा दिने मुलुक मेक्सिको भएको अध्ययनमा उल्लेख छ ।

परिवारलाई समय दिनुपर्ने तर्क

नेपाली समाज र परिवारमा आएको संरचनात्मक परिवर्तनसँगै संयुक्र परिवारबाट क्रमशः समाज एकात्मक परिवारमा अगाडि बढेको छ । अर्कोतर्फ महिलाहरुसमेत रोजगारी र व्यवसायमा आवद्ध भएका छन् ।

यसले व्यवसायिक र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन नसकेको अवस्था बढ्दो क्रममा रहेको समेत समितिले उल्लेख गरेको छ । बालबच्चाको रेखदेख, स्याहारसुसारमा समेत पर्याप्त समय दिन नपाएको अवस्थालाई सम्बोधन गर्नुपर्ने समितिले उल्लेख गरेको छ ।

सेवाग्राहीका लागि घरपायक स्थानमै सरकारी कार्यालय पुगेका कारण अब दई दिन बिदा दिँदा उपयुक्त हुने निष्कर्षमा समिति पुगेको छ । सातामा ६ दिन घरबाट कार्यालय आउनु पर्ने, ६ पटक घर र्फकनुपर्ने समयलाई उत्पादकत्वसँग दाँजेर यसले खर्च कटौती, सडकमा हुने ट्राफिक चापसमेतलाई आधार बनाई बिदाको सिफारिस गरिएको छ ।

६ दिनको अवधिमा सातामा ४० घण्टा काम गर्नुपर्ने अहिलेको प्रधावानभन्दा ५ दिनको काम गरेर सातामा ४० घण्टा कार्यअवधि पुरा गर्दा कम खर्चिलो हुने तर्कसमेत समितिको रहेको छ ।

यो बाँकी रहेको समय व्यक्तिले परिवार, मनोरन्जन, घुमफिरमा बिताउँदा अर्थतन्त्रका अन्य  समेत चलायमान हुने आंकक्षा गरिएको छ ।

शुक्रबार आधा दिन मात्र काम गर्नुपर्ने प्रावधानका कारण पूर्ण क्षमतामा काम नहुने अवस्थालाई समेत समितिले दुई दिन बिदा आवश्यक रहेको रुपमा राखेको छ ।

प्रकाशित : २०७७ मंसिर २५ गते १४:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI