फेसबुकबाट टुक्रिँदै इन्स्टाग्राम र ह्वाट्सएप ! के होला फेसबुकको साम्राज्य ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १ गते १४:३७
फेसबुकबाट टुक्रिँदै इन्स्टाग्राम र ह्वाट्सएप ! के होला फेसबुकको साम्राज्य ?

काठमाडौं । अमेरिकाको संघीय वाणिज्य आयोगले फेसबुक कम्पनीको सम्भावित विभाजन हुने प्रमुख कदमका रुपमा औपचारिक रुपमा एक मुद्दा दर्ता गरेको छ ।

विश्वसनीयता उल्लंघनको अभियोगमा दायर उक्त मुद्दामा प्रतिस्पर्धामा आघात पुग्नेगरी फेसबुकले सोसल नेटवर्किङमा आफ्नो एकाधिकारी शक्तिको दुरुपयोग गरेको जिकिर गरिएको छ

त्यस्तै विभिन्न संघीय राज्यका गठबन्धन तथा आयोगले संयुक्त रुपमा फेसबुकमाथि अर्को मुद्दा पनि दायर गर्ने तयारी गरिरहेका छन् । जसमा २०१२ मा ७१ करोड ५० लाख डलरमा गरिएको इन्स्टाग्राम खरीद तथा सन् २०१४ मा २२ अर्ब डलरमा ह्वाट्सएप खरीदका क्रममा भएको सम्झौतालाई मुख्य विषय बनाइएको छ ।

विगतका नियामकहरुलाई प्रभावमा पारेर प्रस्ताव गरिएका उल्लेखित सम्झौताहरुले प्रतिस्पर्धात्मक चुनौतिलाई खतरामा पारेको दाबी आयोगको छ ।

फेसबुकले विगतमा खरीद गरेर आफूमा समायोजन गरेका इन्स्टाग्राम र ह्वाट्सएपलाई आफूबाट अलग्गाएर बेच्नुपर्ने राय आयोगको छ । यदि त्यसो भएमा फेसबुकका सिइओ मार्क जुकरबर्गले खडा गरेको सोसल मिडियाको साम्राज्यमाथि अस्तित्वकै संकट खडा हुनेछ ।

तथ्य के छ भने हाल फेसबुक कम्पनीको आम्दानीको वृद्धिदरमा इन्स्टाग्राम र ह्वाट्सएप अग्रणी रहेका छन् जो फेसबुकको डिजिटल व्यवसायका लागि केन्द्रीय हिस्सा बनिसकेका छन् । यी दुई प्लाटफर्म गुमाउनु भनेको फेसबुकको अधिकांश दीर्घकालीन मूल्यलाई नामेट पार्नु हो ।

फेसबुक कम्पनीविरुद्ध मुद्दा दर्ज गरेको खबर सार्वजनिक भएसँगै बुधबार कम्पनीको शेयर मूल्यमा ४ प्रतिशतले गिरावट आएको छ । जबकि त्यसअघिसम्म यो वर्ष सन् २०२० मा कम्पनीको शेयर मूल्यमा ३५ प्रतिशतको बढोत्तरी भएको थियो ।

विज्ञहरुका अनुसार लगानीकर्ताहरुका लागि कम्पनीको विखण्डन भनेको निकै त्रासदीपूर्ण हुन्छ किनकी यस्तो विभाजनले व्यवसायिक मोडललाई नै तहसनहस बनाउन सक्दछ ।

स्मरण रहोस् फेसबुकले इन्स्टाग्राम खरीद गरेको घटनालाई पछिल्लो १५ वर्षकै सबैभन्दा उत्कृष्ट व्यवसायिक खरीदको रुपमा लिइएको थियो ।

यद्यपि फेसबुक कम्पनी विभाजन भएर ह्वाट्सएप र इन्स्टाग्राम अलग्गिने कुराको सम्भावना अहिलेसम्म निकै न्यून देखिन्छ । किनकी यसका लागि अमेरिकी कंग्रेसले कानून नै परिवर्तन गर्नुपर्ने हुन्छ, जसको सम्भावना खासै देखिँदैन । तथापि यसले मिडियाहरुमा ठूलो चर्चा पाएसँगै लगानीकर्ताहरुलाई निरुत्साहित बनाउँदै कम्पनीको व्यवसायिक विकास र शेयर मूल्यमा नकारात्मक असर पर्नेछ ।

भविष्यमा पारम्परिक सोसल मिडियाको मोडेल परिवर्तन हुने आँकलनकै कारण जुकरबर्गले फेसबुक छँदाछँदै इन्स्टाग्राम र महंगो मूल्यमा ह्वाट्सएप खरीद गरे । ती दुई प्लाटफर्मलाई आजको अवस्थामा ल्याई पेर्याउन उनले निकै ठूलो रकम लगानी समेत गरेका छन् । उक्त लगानीको प्रतिफल समेत इन्स्टाग्राम र ह्वाट्सएपले दिन थालिसकेका छन् ।

बुधबार कम्पनीका कर्मचारीहरुका लागि लेखिएको एक सन्देशयुक्त पोष्टमा जुकरबर्गले भनेका छन्, ‘इन्स्टाग्राम र ह्वाट्सएप हामीले खरीद गरेसँगै ती सर्भिसहरुको नाटकीय सुधार भयो र त्यसैले धेरैभन्दा धेरै मानिसहरुको पहुँच स्थापित हुन सक्यो । हामी कठोर तथा स्वच्छ प्रतिस्पर्धा गर्यौँ । यसका लागि म गौरवान्वित छु ।’

उसो त फेसबुकको अन्तराष्ट्रिय रणनीतिका लागि समेत ह्वाट्सएप र इन्स्टाग्राम अति महत्वपूर्ण छन् । भारत र ब्राजिल जस्ता तीव्र रुपमा विकास गरिरहेका बजारहरुमा फेसबुक कम्पनीको प्रभाव विस्तारका लागि यी दुई प्लाटफर्मले ठूलो योगदान गरिरहेका छन् । भारतमा फेसबुक प्रयोगकर्ताको तुलनामा ह्वाट्सएप प्रयोगकर्ताको संख्या १० करोडले बढी छ । त्यस्तै जापानमा फेसबुकका प्रयोगकर्ता भन्दा इन्स्टाग्रामका प्रयोगकर्ताको संख्या ७० प्रतिशत बढी छ ।

हुनत फेसबुक अहिलेपनि विश्वमा समग्रमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया प्लाटफर्म हो । तथापि फेसबुक कम्पनीलाई अहिलेको अवस्थामा ल्याई पूराउनका लागि इन्स्टाग्राम र ह्वाट्सएपको महत्वपूर्ण योगदान छ । र, यी दुई प्लाटफर्म गुमाउनु भनेको फेसबुकले आफ्ना करोडौँ प्रयोगकर्ता गुमाउनु मात्र होइन ठूलो परिमाणमा आम्दानी गुमाउनु पनि हो । वास्तवमा फेसबुक र यसका संस्थापक मार्क जुकरबर्गले सोसल मिडियाको क्षेत्रमा खडा गरेको साम्राज्य ढल्नु नै हो ।

–एजेन्सीको सहयोगमा

प्रकाशित : २०७७ पुष १ गते १४:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI